डा. उत्तम खनाल
चुम्से स्याल र रतुवा नामको ब्वाँसो आफूलाई निकै शक्तिशाली ठान्थे । एक दिन दुबैमा को शक्तिशाली भन्ने विषयमा विवाद पर्यो । उनीहरुको मुद्दा टुंगो लगाउन आपसी सल्लाहअनुसार उम्लान गाँउको क्षितिजतिर बरालिए । स्याल आफूलाई होसियार र बुद्धिमानी ठान्ने स्वभावले गर्दा अलि बढी आक्रामक झैं देखिन्थ्यो । तर स्यालको तुलनामा बाहिरबाट हेर्दा ब्वाँसो अत्यन्तै सरल देखिन्थ्यो । झट्ट हेर्दा कतिले त उसलाई डरवान पनि भन्थे । तर दुवैले आफ्नो परीक्षा दिन गाँउ नगई नहुने थियो । गाउँको अलि पर पुगेपछि स्याल बाख्राको बथानमा पस्यो । दायाँ बायाँ नजर लगाउदै सबै भन्दा सानो पाठोलाई ताकेर झम्टियो । विचरा पाठो फुत्किने दाउ गर्दागर्दै कालको मुखबाट मर्यो । संयोगले गर्दा कसोकसो गोठालाहरुले स्याललाई छेकाटो हाली घेरामा पारे अनि अगाडिको खुट्टा काटिदिए । स्याल दगुर्न सकेन र लडीबुडी गरेर रुन थाल्यो ।
केहि समयपछि ब्वाँसो त्यही स्यालको समिप हुँदै बाख्रा भएको ठाउँतिर गयो । जाँदाजाँदै स्यालले मारेको पाठो पनि भेटायो । तर उसले मरेको पाठोलाई बोकेर बाख्राको बथान भएको ठाउँमा राखिदियो । त्यसपछि आँखाबाट बलिन्द्र आँसुका धारा बगाउँदै मरेको पाठालाई सुम्सुम्याउन थाल्यो । गोठालाहरुले ब्वाँसोको चर्तिकला देखेर लखेट्न त गए तर उ नभागी त्यहि कृयाकलाप गरिरह्यो । उसको त्यो हृदयस्पर्शी भावमा गोठालाहरु पनि लिप्त भएकाले उसप्रति जाई लागेनन् । उसले दिनभरी मरेको पाठोलाई कुरेर बस्यो अनि ठाउँ सारेर बोकिरह्यो । यस्तो अचम्मको स्वभाव देखे पछि गोठालाहरुको मन पनि पग्लियो । जतिजति बाख्रा चर्दै गोठालाहरु भएतिर पुग्थे त्यति नै मरेको पाठोलाई काँधमा च्यापेर त्यो ब्वाँसो अघि अघि सर्ने गर्थ्याे ।
भोलिपल्ट सदा झै त्यही ठाँउमा चरनको लागि बाख्राहरु पुगे । बाख्राको गोठालोको रुपमा ब्वाँसोले पनि मानिसलाई सहयोग गर्यो । उसदेखि गोठालाहरु दंग परे पनि । त्यहि कारण अबका हरेक दिन मनिसको साथ रहने मौका पायो उसले । एक दिन गोठालाहरु गाई चराउन गए । डाँठ, झिंगा, तथा भुसुनाले सताएकाले गाईहरु चर्न मानेनन् र भागादौड सुरु गरे । गाईको व्यवहारबाट आजित भएका गोठालाहरु ज्यादै रुष्ट देखिन्थे । त्यहि मौकामा ब्वाँसोले गाईलाई मुसारी मुसारी कन्याउन थाल्यो । ब्वाँसोको सुम्सुम्याईबाट गाई भाग्न छोड्यो र ओकार्न थाल्यो । आफूले तह लगाउन नसकेको गाई उसले सजिलै बहसमा लिएको देखेर उसप्रति गोठालाहरु आभारी भए । त्यस दिन देखि जब गाई एवं बाख्रामा कुनै समस्या आउँथ्यो तब गोठालाहरुले ब्वाँसोको खोजीमा हिड्ने गर्थे । यहि क्रममा एक महिना बित्न नपाउँदै उम्लान गाउँमा रतुवा नामको ब्वाँसोले सजिलै सबैको मन जितेर सबै तिर आफ्नो राज फैलायो ।
उसको माग हरेक गाँउ गाँउसम्म पुग्न थाल्यो । कारण यदि कुनै गोठमा कुनै दिन रतुवा पुग्न बिर्सियो भने त्यस दिन ती गोठका चौपायाहरुले घाँसपानी समेत खान छोडिदिन्थे । गोठमा पालेका चौपाया पशुको आँखाको आँसुले जो कोहि मानिसको मन रुन्थ्यो । प्रत्येक घरका चौपायाले रतुवाको नजरबाट प्यारमा मुछिएको अनुभूति देखाउँदै खुसी भएको देखिन्थ्यो । फलस्वरुप हरेक मानिसले कोही गोठालाका लागि, कोहि घर रेखदेखका लागि त कसैले गाई गोठमा पालो बस्नका लागि रतुवालाई खोज्न थाले । त्यसपछि गाउँमा स्याल र गिद्धको आक्रमण घटेर शून्य जस्तै भयो । त्यो अदभूत रतुवा नामको ब्वाँसोको प्रवेशबाट केहि समयका लागि गाउँ पुरै शान्त र सौम्य भयो । यात्रामा सँगै गएका स्याल र रतुवाको चर्तिकला देखेर यमराज छक्क परे । उनलाई लागेको थियो रतुवाले गाउँ सखाप पारेर चौपाया मारिदिन्छ । अनि मरेका चौपायाले सजिलै यमलोकमा नाम लेखाउनेछन् । तर उनको अनुमान फेल खायो । उनको दिमागले काम गरेन । त्यसपछि उनी रिसले चूर हुँदै ब्रम्हलोक पुगेर बिन्ति गरे, ‘प्रभु यो के हो ? हिंस्रक ब्वाँसो कसरी आम मानिसको लोकप्रिय भयो र चौपाया गोठालो पनि । के त्यो ब्वाँसो शाकाहारी भएको हो ?’ यमराजका कुरामा ब्रम्हाजीले केवल मौनता मात्र प्रकट गरे । आफ्नो अपमान गरेको गरेको ठानी त्यसको बदला लिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकमा ब्रम्हाजीको सृष्टि उल्टा भयो । रतुवालाई पक्रनु भन्दै यमराजको संदेश फैलियो । उनले यो पनि हुकुम दिए कि– ‘जसले रतुवा पक्रेर हाजिरी गराउला, उसका लागि म स्वयम चित्रपट प्रदान गर्नेछु र ऊ त्यहाँको राजा हुनेछ ।’
यो आवाज देवेन्द्रले सर्वप्रथम नेपाल मण्डलमा पु¥याउँदा उचित छ भन्ने विचारले वायुलाई डाकी हुकुम दिए । उनको हुकुम मुताविक मत्र्यमण्डलको नेपाल खण्डमा रतुवा नामको ब्वाँसो खोज्ने चक्करमा सारा मानिसहरु आन्दोलनमा लागे । रतुवा कसरी चिन्न सकिन्छ आन्दोलनकारी कसैलाई थाहा थिएन । बरु सबैको ध्येय थियो कि अर्कोले चिन्यो भने बित्यास पो हुन्छ । कारण सबैले पहिलोपटक आफै रतुवा चिनेर समाउन चाहेका थिए । तर त्यो रतुवा कस्तो थियो उनीहरुले कदापी आँखाले देखेका थिएनन् । आन्दोलनकारीको एकजना कमाण्डरले अरुलाई जोक्कर बनाउने विचारले भनिदियो, त्यो रतुवाले गाई बाख्रा खादैन रे, जान्नु भो ! उसको कुरा सुन्नासाथ सबैले आ–आफ्ना भएका सारा चौपाया दाम्लो काट्दै छोडेर वनमा लखेटे । घर घरमा आगो लगाइयो । दुला दुलामा छापा मारियो । जसले सक्छ उसले काटमार मच्चाए, जाई लाग्न नसक्नेहरु शोकाकूलमा डुबे । यस्तै परिघटनाले शान्त भूमि कोलाहलमय बन्यो । यहाँका मानिसलाई विश्वास थियो कि रतुवा भेटियो भने मेरो राज चल्छ । म राजा हुन्छु र अरु सबैलाई शासन गर्छु । तर त्यो सपना साकार भैरहेको थिएन ।
घना जंगलको बिचमा पुगेका घरपालुवा चौपाया मानिसलाई नदेखेपछि डराउँदै जंगली जनावरको आक्रमणबाट मृत्युवरण गरे । केहि मानिसले आफ्ना चौपायाहरु ब्वाँसोको आहार बनेकोे कुरा अरुलाई सुनाए । तर ब्वाँसोले चौपाया खाएको उसको कुरामा कसैले स्वीकार गरेनन् । बरु उसलाई दिमागी हालत ठिक नभएकाले उपचार गरिदिने आश्वासन व्यक्त गरे । उन्माद आन्दोलनमा हौसिएका मानिसहरुको मृत्युको खबरले यमलोकमा उमंग छायो । यमराज कालपास लिएर रमाउँदै रक्तबीजको होलीमा सामेल भए । यता शान्त शहरमा कोलाहल मच्चिरह्यो । कोही मानिसले आफ्ना चौपाया फिर्ता नआएको झोकमा यसको हल्कारा कसले गरेको हो त्यसलाई पाता कसेर सुलीमा चढाउने उद्घोष गरे । भीडमा सबैले सबैलाई खोजी गरे तर को थियो चिनेनन् । उन्माद शहरको हुल बढेर गाउँ गाउँमा पस्यो र जे भेट्यो त्यसैलाई सखाप बनायो । हराएको भीडमा भरिएको नेपालमण्डलको प्रचण्ड तापिलो क्रियाकलाप देवेन्द्रका लागि अति रोचक र रहस्यमय बन्दै गयो । प्रकारान्तः रक्तबीजको होलीमा रमाउने यमराजलाई यो ठाउँ छोड्न मन लागेन । उनी पनि त्यो मानिसको खोजीमा रहे जसबाट उनले नगराएको काम सम्पन्न भयो ।
यहि चक्करमा समय बितेको पत्तो भएन । उन्माद आन्दोलनको भेल रोकिने अवस्थामा पनि रहेन । निर्दोष प्राणीको पोलेको आत्माले स्वयम सृष्टिकर्ता ब्रम्हाजीको उपस्थिति आवश्यक देखियो । ब्रम्हाजीको भेषमा आउँदा समस्या होला भन्ने ठानेर उनले रतुवा ब्वाँसोको स्वरुपमा भेष धारण गरी स्वयम यमराजको नजिकै आएर हाजिर भए । उनलाई विश्वास थियो, यस पटक यमराजले पक्का चिन्नेछन् । तर यमराजले ती भेषधारी ब्रम्हाजीलाई चिन्नै सकेनन् । त्यस पछि आन्दोलनको कुनै कमाण्डरले सायद समात्ला भन्ने डर उनमा थियो । तर कमाण्डर उनकै समिप आयो र ठम्याउन सकेन । त्यसले रतुवा नामको ब्वाँसो समातेन । बरु अलि पर पुगे पछि भन्यो, ‘समात् रतुवा यतै कहिँ छ ।’
हो, नेपालमा अहिले संघियताले ल्याएका समस्याहरु रतुवा नामको ब्वाँसो झै हुँदै गएको छ । आन्दोलनको कमाण्डरमा व्यवस्थापन गर्ने ढंग नपुग्दा जनताका लागि यस्तै काँडेबार बन्दैछ भन्ने गुनासोे छ । ती नेपाली जसले आफ्नै सन्तानको आहुति दिए । रगतमा होली खेले । घर उजाडियो । दाजुभाई गुमाए अनि उनका लागि दिइने उपहार भनेको उधारो फोस्रा नाराका विकास र ढाड सेकिने गरी करै करले भरिएको भारी ! के यहि हो जनताले खोजेको परिवर्तन ? के अबको शासन भनेको जनतालाई माछाको सुकुटी बनाउने र त्यसैको परिकारमा रम्ने जमातको विकास त हैन ? यदि हैन भने पक्कै सच्याउने समय छ ।
राजनीतिमा उन्माद र उमंगले हैन, संयमताका साथ बुद्धिको प्रयोगले काम गरौं । करै करको भारले जनता थिचिएर विश्वमा कतैपनि कुनै वादले निरन्तरता पाएको देखिदैन । जनताको रगत पसिना बगाएर सिञ्चित गरेको करबाट उठेको आयमा पालिने अनावश्यक पदहरुको खारेजी नैं आजको आवश्यकता हो । हिजो इतिहास कालखण्डमा रहेको बाईसे र चौविसे राज्यभन्दा के कति कारणले फरक छ त अहिलेको प्रदेश सरकारको ढाँचा ? यसले खास रुपमा के दिन्छ त नेपाली जनतालाई सुविधा ? हो, यो व्यवस्थाले मेरो जनमत छ भनेर किमार्थ सत्ता टिकिरहन्न । अतः राज्यले पहिला जनतालाई विकास देओस् अनि त्यसको केहि हिस्सालाई करको रुपमा हाँसेर जनताले तिर्ने वातावरण बनाओस् । नत्र स्याल र रतुवा नामक ब्वाँसोको कथा जस्तो नबनोस् अहिलेको संघियताले ल्याएका वा जनतामा लादिएका भनिएका तर जनविकासका लागि ब्रम्हास्त्रको रुपमा हेरिने गरिएको समाजवादी विकास हुँदै साम्यवादको मिश्रित ढाँचामा अड्किएको कम्युनिष्ट शासनपद्धति ।
[email protected]
प्रकाशित मिति: सोमबार, भदौ ११, २०७५