–राजेन्द्र राई
कम्युनिष्टहरू फुट्नै हुँदैनथ्यो त्यसैले जुट्नु धेरै खुशीको कुरा हो तर एकताको नाममा गर्न नपर्ने र गर्न नहुने कुरा गर्न बेमनासिब हुन्छ, त्यस्तै बेमनासिब काम जबजमाथि अनावश्यक रूपमा धावा बोलेर भइ रहेको छ ।
जबजका महत्वपूर्ण २ पक्ष छन् । एक, क्रान्ति पूर्वको सन्दर्भमा वा क्रान्तिको बाटोको सन्दर्भमा । दुई, क्रान्तिपछिको सन्दर्भमा वा क्रान्तिपछि कस्तो शासन व्यवस्था, प्रणाली रहने भन्ने सन्दर्भमा ।
क्रान्तिको सन्दर्भमा जबजले मान्यता हो, क्रान्ति शान्तिपूर्ण बाटोबाट पनि सम्भव छ । अथवा शान्तिपूर्ण बाटोको सम्भावना रहेसम्म त्यसै बाटोबाट हिंड्नुपर्छ । अरूको नक्कल गरेर वा रहर गरेर हिंसाको बाटोमा लाग्नु अनुचित हुन्छ ? क्रान्तिपछिको ब्यवस्था, शासन प्रणाली बहुदलीय रहने भन्ने जबजको मान्यता हो । खसोखास भन्ने हो भने जबज भन्ने नामले, शब्दावलीले क्रान्तिपछिकै शासन व्यवस्थालाई इंगित गर्छ ।
हो क्रान्ति सम्पन्न भइसकेको सन्दर्भमा क्रान्तिको बाटो सम्बन्धमा जबजले राखेको मान्यताको सान्दर्भिकता समाप्त भयो भन्न सकिन्छ । तर, क्रान्ति पछिको सन्दर्भमा वा क्रान्तिपछिको शासन व्यवस्था, प्रणालीको सन्दर्भमा जबजको मान्यता यति छिटै, क्रान्ति लगत्तै, क्रान्तिलाई कानूनी रूपमा समेत व्यबस्थित गरी नसक्दै कसरी असान्दर्भिक हुन सक्छ ?
यदि हुन्छ भने के कम्युनिष्टहरूले सकेको दिन एक दलीयता लाद्ने हो ? श्रमजिवी जनताको अधिनायकत्वको नाममा कम्युनिष्ट पार्टीको अधिनायकत्व लाद्ने हो ? विचार र कामको प्रतिस्पर्धामा श्रेष्ठता हासिल गरेर शासन गर्ने बाटो छाडेर बलपूर्बक अरू विचार, पार्टी, शक्तिलाई दबाएर शासन गर्ने बाटोमा जाने हो ?
यसो गर्ने होईन भने अथवा अहिले हामीले एक दलीयता लाद्न नसक्ने भएको कारणले मात्र बहुदलीयता मानेको होइ, वर्गहरू रहेसम्म फरक फरक विचार र पार्टीहरू रहनेछन् । फरक विचार र पार्टीहरूलाई बलपूर्बक दमन गरेर जनताको नाममा शासन गर्ने होइन । विचार र काममा प्रतिस्पर्धामा श्रेष्ठता हासिल गरेर मात्र शासन गर्नुपर्छ, सत्तामा बस्नुपर्छ भन्ने मान्यता राख्ने हो भने जबजको सान्दर्भिकता सकिएको छैन । च्याप्टर क्लोज भएको छैन ।
जबजका थप १२ विशेषताहरू, आवधिक निर्वाचन, बहुमतको शासन अल्पमतको प्रतिपक्ष, कानूनको शासन, संविधानको सर्वोच्चता, शक्ति पृथकीकरणको सिद्धान्त, नेतृत्व र अधिनायकत्व आदिको पनि सान्दर्भिकता सकिने कुरै भएन । यी विशेषताहरू सामान्य लागे पनि विगतमा कतिपय कम्युनिष्ट मुलुकहरूमा तिनीहरूको कार्यान्वयनमा कमजोरी रहन गयो । त्यसैले जवजले विशेष र बेग्ललै ब्याख्या सहित तिनीहरूलाई प्रतिवद्धताको रूपमा महत्वका साथ समावेश गरेकोले विशेष मान्न सकिन्छ । निष्कर्षमा जबजले क्रान्ति अघिको बाटो मात्र होइन क्रान्ति पछिको बाटो पनि देखाएकोले जवजमाथि धावा बोल्नुको साटो त्यसले देखाएको बाटोमा हिंडे नेपालका कम्यूनिस्ट पार्टीहरू नअल्मलिई गन्तव्यमा पुग्न सक्छन् ।
हो समय र परिस्थिति अनुसार जबजलाई पूर्णता दिंदै जान सकिनेछ, पर्नेछ ।
(एमाले केन्द्रीय सदस्य तथा भोजपुरबाट प्रदेशसभामा निर्वाचित सांसद राईले आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेको विचार)
प्रकाशित मिति: शनिबार, पुस २२, २०७४