डा युवराज खतिवडा
१. एकतन्त्रीय, राजतन्त्रात्मक र सामन्तवादी राजनैतिक व्यवस्थाको अन्त्यदेखि नेपाली नागरिकको सार्वभौेमसत्तामा निहित गणतन्त्रको स्थापना र लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवाद उन्मूख अर्थतन्त्र निमार्ण गर्ने संविधान जारी गर्न सवैभन्दा वढी क्रान्तिकारी भूमिका कसले निर्वाह गर्यो ? सवैभन्दा लामो यातनापूर्ण जेल जीवन कसले भोग्यो ? सवैभन्दा वढी शहादत कसको भयो ? सवैभन्दा अविचलित र त्यागपूर्ण संघर्ष कसले गर्नुपर्यो ?
२. सवै खाले सामाजिक भेदभावको अन्त्य गर्दै सामाजिक न्यायपूर्ण समाज निर्माण गर्न सामाजिक शोषण, कुरिति, भेदभाव र अन्यायका विरुद्ध सवैभन्दा धेरै विद्रोह, आन्दोलन र सामाजिक सुधारका कार्य कसले गर्यो ? सामन्तवादको अन्त्यगर्न सवैभन्दा वढी संघर्ष कस्ले गर्यो ? क्षेत्रीय पहिचानका मुद्दा भित्र लुकेको सामन्तवाद, अन्धविश्वास, कुरिती तथा जातीय शोषणको विरुद्ध सवैभन्दा दरिलो रुपमा को उभिएको छ ? जातीयताको नाममा विखण्डनको तानावुना वुन्ने विरुद्ध को सतिसाल झैं उभिएको छ ? राष्ट्रिय एकता, स्वाधीनता एवं नेपालीको आत्मसम्मानका लागि कसले ठूला शक्तिहरु संग शीर निहुँराएको छैन ? विदेशी संग आत्मसमर्पण गर्ने विरुद्ध को दरिलोसंग उभिन सकेको छ ?
३. २०४७ सालको संविधानले परिकल्पना गरेको विकासको संभावनालाई गलत ढंगको निरपेक्ष उदारीकरण र निजीकरणको नीतिका माध्यमवाट तुहाउने नेपाली कांग्रेसको नीति विरुद्ध को सडकमा उत्रियोे ? कांग्रेसकै कारण पराधीन हुन थालेको अर्थव्यवस्था र कष्टकर हुनथालेको आम नेपालीको जनजीवन लाई वचाउँदै जनमूखी आर्थिक कार्यक्रमको शुरुवात कसले गर्यो ? विकासको सोच, रणनीति, र दिशा परिवर्तन गर्न, समावेशी र समन्यायिकतामा आधारित उच्च आर्थिक वृद्धि गर्न तथा कृषि, उद्योग र सेवा क्षेत्रको संतुलित विकास मार्फत संपूर्ण नेपालीलाई विकासको प्रतिफल प्राप्त गर्न सक्ने तुल्याउन कसले काम गर्यो ?
४. मुलुकका प्राकृतिक साधन स्रोत, नदी, पानीको राष्ट्रहितमा प्रयोग गर्नका लागि दवाव दिने र विगतमा भएका गल्ति कमजोरी सच्याउन कसले पहल गर्यो ? महाकाली, कर्णाली, अरुण लगायतका पानी तथा उर्जा संझौतामा भएका त्रुटी सच्याएर राष्ट्रहित अनुकुल वनाउन कसले काम गर्यो ? जलस्रोतको एकिकृत विकास, स्थानीय तहमा सिंचाई विस्तार तथा गोवरग्यास देखि सौर्य एवं वायु उर्जा सम्मका वैकल्पिक उर्जा मार्फत ग्रामीण क्षेत्रमा आधुनिक उर्जाको विस्तारको प्रयास कसले धेरै गर्यो ?
५. संविधानमा उल्लेखित भएका मौेलिक हकका रुपमा नागरिकहरुले प्राप्त गरेको अधिकारलाई व्यवहारमै उतार्न खाद्य सुरक्षा देखि रोजगारीको ग्यारेन्टी र सामाजिक सुरक्षासम्मका कार्यक्रमको विस्तार कसले गर्यो ? सामन्तवाद, जातीय विभेद र अन्धविश्वासका विरुद्ध कसले धेरै काम गर्यो ? आर्थिक सामाजिक समानताका लागि कुन पार्टीले लामो समयदेखि संघर्ष गर्यो ?
६. स्थानीय निकायलाई साधन सम्पन्न तुल्याउन तत्कालीन गा.वि.स, नगरपालिका र जिविसलाई अत्यन्त धेरै वजेट विनियोजन गरेर विकासको नयाँ लहर कसले ल्यायो ? स्थानीय निकायमा जाने अनुदान रकम दशौं गुणा वढेर रु ५० अर्व कसका कारण पुग्यो ? १० वर्षमा पनि प्रप्त नभएको वजेट एकैपटक पाएपछि कसरी गाउँमा विकासको लहर नै आयो ? आज गाउँमा देखिएको सडक विस्तार देखि अन्य पूर्वाधार सम्मको विकास कसका कारण संभव भयो ? हिजोसम्म तत्कालीन गाविसको वजेट विकासमा जनताको सहभागिता र अपनत्व स्थापित गर्न कस्ले सक्यो ?
७. तराई मधेशका जिल्लाहरुको सडक, सिंचाई, नदी नियंत्रण, पिउने पानी, शहरी विकास, रेल्वे, हुलाकी सडक, दक्षिणी सीमाक्षेत्रका गाउँहरुको विकासका लागि सवैभन्दा वढी वजेट कुन सरकारले विनियोयन गरेको थियो ? तराई मधेशको विकासको स्पष्ट खाका कोसंग छ ? तराई मधेशमा भईरहेको शोषण, दमन, र अन्याय विरुद्ध कसले निरन्तर काम गरिरहेको छ ?
८. अन्यायपूर्ण श्रम सम्वन्धको अन्त्य गर्न र श्रमको सम्मान गर्ने समाज निर्माण गर्न र श्रमिकलाई गोलवन्द गर्नै मर्यादित कामको वातावरण वनाउनमा सवैभन्दा वढी कस्ले संघर्ष गर्यो ? मर्यादित काम र रोजगारीका अवसरहरु वढाउँदै वैदेशिक रोजगारीमा जानु पर्ने अवस्थाको अन्त्य गर्ने योजना कोसंग छ ? २५ वर्षमा मुलुकलाई समुन्नत राष्ट्र वनाउने योजना र रणनीति कोसंग छ ?
९. महिला, वाल वालिका, वृद्ध वृद्धा, र शारिरिक अपांगता भएका सवै उमेरका नागरिकहरुको संवर्धन र रक्षा गर्नु राज्यको कर्तव्य हो भन्ने मान्यता कसले स्थापित गर्यो ? वृद्ध भत्ताको शुरुवातका कारण नै रु ३० करोडको वजेट वाट शुरु भएको सामाजिक सुरक्षा भत्ता आज रु ४० अर्व पुग्न सकेको र १२ लाख भन्दा वढी वृद्ध वृद्धाले राज्यवाट अनुदान पाएका कसका कारण हो ?
१०. वालवालिका लाई राज्यले संरक्षण गर्नुपर्छ र स्वस्थ्य, शिक्षित नागरिक निर्माण मार्फत राष्ट्र निर्माण गर्नु पर्छ भन्ने मान्यता अघि सारेर आज ६ लाख भन्दा वढी संख्यामा दलित परिवारका, कर्णालीका, र मानव विकासमा अत्यन्तै पछि परेका वाल वालिकाले मासिक रु ४०० का दरले भत्ता पाउन सक्ने व्यवस्था कस्ले गर्यो ? वाल संरक्षण अनुदानवाट तीन वर्ष भित्र सवै वाल वालिका लाभान्वित हुनेगरी कार्यक्रम कसले ल्याएको छ ?
११. सामाजिक सुरक्षालाई सुदृढ गर्दै सवै नागरिकहरु कुनै न कुनै सामाजिक सुरक्षको दायरामा आउने व्यवस्था गर्न स्वास्थ्य वीमालाई मुलुक व्यापी वनाउने योजना कस्ले अघि सार्यो र तीन वर्ष भित्र सवै नागरिक स्वास्थ्य वीमावाट लाभान्वित हुनेगरी कार्यक्रम कस्ले ल्याएको छ ? सामाजिक सुरक्षालाई लोककल्याणकारी राज्यको स्थापना, सामाजिक न्याय र आयका पुर्निर्वतरणको माध्यमको रुपमा कस्ले स्थापित गरेको छ ?
१२. महिलाको राजनैतिक, आर्थिक, सामाजिक अधिकारका लागि सवैभन्दा वढी नीति तथा कार्यक्रम कसले ल्यायो ? संपत्तिमा महिलाको स्वामीत्व वढाउन घरजग्गा रजिष्ट्रेशनमा कर छूटको व्यवस्था कसले शुरु गर्यो ? ७ प्रतिशत भन्दा कम महिलाको नाममा घरजग्गा रजिष्ट्रेशन रहेको अवस्थावाट शहरमा २६ प्रतिशत र औसतमा पनि २० प्रतिशत भन्दा वढी महिलाको नाममा घरजग्गा रजिष्ट्रेशन हुन सक्ने अवस्था कसका कारण आउन सक्यो ?
१३. सुरक्षित आवास सवै नागरिकको अधिकार हो र त्यसमा पनि अत्यन्त अमानवीय अवस्थामा वसोवास गरिरहेका गरिव, दलित परिवार र कर्णाली क्षेत्रका वासिन्दाहरुलाई मानवोचित आवासको तत्काल व्यवस्था गर्नु राज्यको दायित्व हो भन्ने अनुभुति कसले गरेको हो ? अहिले १० हजार भन्दा वढी गरिव, दलित र कर्णाली क्षेत्रका परिवारहरुलाई मानवोचित आवासको व्यवस्था कसका कारण संभव भएको हो ? १ लाख यस्ता घरहरु तत्काल निमार्ण गर्ने योजना कसले ल्याएको छ ?
१४. शहरी क्षेत्रमा घरजग्गा कारोवारमा आएको विकृति कसले रोक्न सक्यो ? कृषियोग्य जमीनको नोक्सानी, उत्पादन क्षेत्रमा जाने सम्पूर्ण पूँजी जमीनको मुनाफाखोरीमा केन्द्रित हुने र संपूर्ण अर्थतन्त्र नै संकटमा पर्न लागेको अवस्थावाट मुलुकलाई कस्ले वचायो ? जमीनको आकाशिदैं गरेको मूल्यलाई नियंत्रण गर्देै जमीनमा आधारित व्यवसाय समाप्त हुन सकने अवस्थावाट मुलुकलाइ कसले वचायो ? जमनिको दुरुपयोग हुन नदिन भूउपयोग नीति वनाउने पहल कसले गर्यो ? जमीनको प्रयोगका आधारमा नयाँ वर्गिकरण गर्ने पहल कसले गर्यो ?
१५. अत्यन्त विकृत र आम रुपमा उपभोक्ता ठगिने युनिटी लगायतका नेटवर्किंग व्यवसायलाई वन्द गराई ठूलो ठगीको धन्दावाट आम जनतालाई कसले वचायो ? राजनैतिक रुपमा समेत जरा गाडेको र सरकारका धेरै संयन्त्रमा समेत प्रभाव पार्न सफल यस्तो आम ठगीको व्यवसाय रोक्न अरु कसैको हिम्मत थियो ? यस्तै प्रकारका आमरुपमा सर्वसाधारण ठगिने अरु नेटवर्किंगको विरुद्ध कसले कदम चाल्यो ?
१६. वैकिंङ क्षेत्रमा मौलाएको विकृति रोक्न र सम्पूर्ण वित्तीय प्रणालीमा स्थायित्व ल्याउन कसले सक्यो ? वित्तीय अपराधीलाई कानूनको दायरामा ल्याउन कसले सक्यो ? आज वित्तीय प्रणाली प्रति जुन विश्वास कायम हुन सकेको छ्, त्यो कसका कारण हुन सकेको हो ? राजनैतिक कार्यकर्ता भर्ती गरेर टाट पल्टाउन लागिएको ग्रामीण विकास वैंकलाई व्यवसायिक रुपमा चल्न सक्ने कसले तुल्यायो ? आफ्नो निहित स्वार्थका लागि वैंक लाईसेन्स वाँड्ने कार्यको अन्त्य कसले गर्यो ? कृषि र ऊर्जा क्षेत्रमा वैंकको लगानी ३ प्रतिशत पनि नरहेको अवस्थावाट १२ प्रतिशत पुर्याउन कसको नीति वाट संभव भयो ? शोषणमूलक वैकिंग सेवालाई ग्राहक मैत्री कसले वनायो ? सम्पूर्ण वित्तीय प्रणालीलाई समन्वय गर्दै ग्रामीण क्षेत्रमा समेत वित्तीय सेवा विस्तारको कार्य कसले गर्यो ? सवै नेपालीको वैंक खाता हुनसक्ने गरी सरकारले प्रति खाता रु १०० सरकारले नै जम्मा गरिदिने योजना वजेट मार्फत कसले घोषणा गरेको थियो ?
१७.सहकारी क्षेत्रलाई आर्थिक सामाजिक रुपान्तरण र समृद्धिको आधारको रुपमा कसले स्थापित गर्यो ? सरकार, सहकारी र निजी क्षेत्रलाई विकासको परिपूरक भूमिकामा परिचालन गर्ने रणनीति र कार्यक्रम कसले अघि सारेको छ ? दुई चार शहरी सहकारी संस्थाको समस्यालाई देखाएर संपूर्ण सहकारी क्षेत्र विरुद्ध भईरहेको हमला रोक्न को उभिएको छ ? वन, जल तथा तथा अन्य प्राकृतिक साधन स्रोत स्थानीय समुदायको नेतृत्वमा उपभोक्ता समिति मार्फत परिचालन हुने कार्यमा कसले सवैभन्दा वढी गरेको छ ?
१८. विकासको दीर्घकालीन स्पष्ट मार्गचित्र कसले कोरेको छ ? आधुनिक नेपालको सडक, रेल, शहरी विकास, नवीकरणीय ऊर्जा एवं छिमेकी मुलुक संगको यातायात र संचार पूर्वाधारको स्पष्ट खाका कोसँग छ ? सन्तुलित आर्थिक कुटनीतिका माध्यमवाट छिमेकी मुलुकहरुको विकास र समृद्धिको लाभ लिने रणनीति कोसँग छ ? तराई र मध्य पहाडमा सवैभन्दा ठूला सडक आयोजनाको कार्यक्रम कसले ल्याएको छ ? शहरी विकासको स्पष्ट नीति र कार्यक्रम कसले पेश गरेको छ ?
१९. प्रसुती कार्यलाई सुरक्षित एवं सहज तुल्याउन पूर्व प्रसूती स्वास्थ्य परीक्षण, स्वास्थ्य संस्थामा प्रसुती गराउँदा नगद रकम दिने, स्वास्थ्य स्वयंसेविकाहरुलाई सुविधा दिने र आधारभूत स्वास्थ्यसेवाको विस्तारमा कसले प्राथमिकता दिएको छ ? महिलालाई स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी हुन कसले खर्च दिन थाल्यो ? पिउने पानीको क्षेत्रमा कसको सरकार हुँँदा अधिकतम वजेट विनियोजन भएको छ ?
२०. युवाहरुलाई राज्य संचालनको मूल धारमा ल्याई क्रमसः राजनेैतिक परिचालन, आर्थिक विकास र सामाजिक रुपान्तरणको नेतृत्वमा स्थापित गर्दै लैजाने कार्य कस्ले शुरु गर्यो ? राष्ट्यि युवा नीति कसका पालामा वन्यो ? युवालक्ष्यित रोजगारी कार्यक्रमका लागि ‘युवा स्वरोजगार कोष’ को स्थापना कसले गर्यो ? युवाहरुलाई निव्र्याजी तथा सरल व्याजमा ऋण दिने व्यवस्था कसले गर्यो ?
२१. महिला सशक्तिकरणका लागि कसले सवैभन्दा वढी काम गर्यो ? संविधानमा नै संसद तथा प्रदेश र स्थानीय तहमा महिलाका लागि सिट सुरक्षित गराउन सवैभन्दा वढी प्रयास कसको रह्यो ? त्यसका लागि सार्वजनिक महत्वको प्रस्ताव कसको पहलमा पास भयो ? कसका कारणले १५ वर्ष अघि सम्म ८ प्रतिशत महिलाको नाममा पनि घरजग्गा नभएकोमा आज कमसेकम २८ प्रतिशत महिलाको नाममा घरजग्गा छ ? महिला हिंसा विरुद्धको नीति तथा कानून कसका पालामा आयो ?
२२. स्थानीय जनताकै नेतृत्व र सहभागितामा स्थानीय विकासका लागि स्थानीय तहको निर्वाचनका पक्षमा कसले सवैभन्दा वढी दवाव सिर्जना गर्यो ? संघ र प्रदेशको निर्वाचन गराई सार्वभौम नेपालीले मताधिकार प्रयोग गर्न पाउने अवस्था सिर्जना कसले गर्यो ? कसका कारण आज नेपाली मतदाताले संविधानले तोकेकै अवधि भित्र आफ्नो मताधिकार प्रयोग गर्ने अवसर प्राप्त भएको छ ?
२३. २०७४ सालको शुरुमा भएको स्थानीय तहको निर्वाचनमा कसलाई नेपाली जनताले वढी रुचाए ? नेपाली कांग्रेस र तथाकथित लोकतान्त्रिक भनिएका पार्टीहरुका परम्परागत मतदाताहरुलाई के कारण मतदाताहरुले किन यो विगतकै कुरा गर्ने हो भने पनि २०५४ पछि निर्वाचित नेकपा एमाले लगायतका वामगठवन्धनका जनप्रतिनिधिहरुले कस्तो काम गरेर देखाए ? अहिले विकास भएको देखिएका नमुना शहरहरु, ग्रामीण पूर्वाधारहरु र जनसहभागितामा भएका विकासका नमुना कार्यहरु कसको नेतृत्वमा भएका थिए ?
२४. अन्त्यमा, मुलुकको सार्वभौमिकता, स्वाधीनता, राष्ट्रियता, र स्वभिमान वढाउने तथा संतुलित परराष्ट्र सम्वन्ध र अन्तराष्ट्रिय जगतमा राष्ट्रको प्रतिष्ठा उच्च पार्ने नीति र कार्यक्रम कोसंग छ ? मुलुकको विकासको स्पष्ट खाका कोसंग छ ? राजनैतिक स्थायित्व दिने क्षमता कोसंग छ ? कानूनी राज्य, सुशासन, दीगो विकास र समृद्धिका लागि सरकारको नेतृत्व दिने क्षमता कोसंग छ ?
यी माथिका सवै प्रश्नहरुको एउटै उत्तर नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको वाम गठवन्धन हो । नेकपा एमाले र नेकपा माओवादी केन्द्र नै सरकारमा भएको वेला यी कार्यहरु गरेको हो । सरकारमा रहेको वेला होस्, वा वाहिर रहेकै वेला किन नहोस्, विकासका मुद्दामा सधैं अग्रपंक्तिमा रहेको पार्टी एमाले नेतृत्वको वाम गठवन्धन हो । त्यसैले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा सर्वाधिक मत पाउन योग्य र उपयुक्त उम्मेदवारहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा वाम गठवन्धनका उम्मेदवारहरु नै हुन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०७४