–माधव तिवारी
यतिखेर सामाजिक सञ्जालमा काठमाडौं महानगरका पूर्व मेयर केशव स्थापितको भिडियो क्लिप भाइरल भएको छ । स्थापितको उक्त भिडयो अन्तरवार्ता किन पनि भाइरल भइराखेको छ भने त्यो सेलिब्रेटी नेता गगन थापाप्रति लक्षित छ । अन्तरवार्तामा स्थापितले सोधेका छन्– ‘बाख्रा खोइ ?’
हो, यही ‘बाख्रा खोइ’ वाक्य हिजोआज असाध्यै चर्चित भैराखेको छ । साथीभाईहरु एकआपसमा जिस्कँदा पनि भन्न थालेका छन्–‘बाख्रा खोई ?’
बाख्रा खोज्नेतिर लाग्नुभन्दा अघि यो घटनाका लागि निकै पुरानो दिनतिर फर्कनुपर्ने हुन्छ । कृषि मन्त्रालय अन्तर्गत व्यवसायीक कृषि आयोजना केन्द्र (प्याक्ट) नाम गरेको एउटा प्रोजेक्ट सञ्चालनमा थियो । त्यसको मुख्य कार्यालय महाराजगञ्जमा थियो । परियोजना प्रमुख थिए योगेन्द्रकुमार कार्की । कार्की अहिले कृषि मन्त्रालयमा सहसचिव छन् । त्यो आयोजनाको काम थियो कृषिलाई व्यवसायीकरण गर्ने । अर्थात परम्परागत रुपमा जिविकाका लागि गरिदै आएको कृषिलाई व्यवसायीक गर्ने ।
प्याक्टले व्यवसायीक कृषि, पशुपालन गर्न किसानलाई ठूलो रकम अनुदान दिन्थ्यो । कोही किसानले व्यवसायीक खेती, पशुपालनको प्रोजेक्ट बनाएर पेश गरेमा चित्तबुझ्दो लागेमा प्याक्टले मन खोलेर लाखौँ रुपैयाँ अनुदान दिन्थ्यो ।
नुवाकोटको सुनखानी गाविसमा गगनले बाख्रा पालन सुरु गरे भन्ने खबर आयो । नुवाकोटबाट प्रकाशित हुने त्रिशूली प्रवाह साप्ताहिकमा समाचार प्रकाशित भयो । ‘गगनले बाख्रा पालन गर्न थाले’ शिर्षकको त्यो समाचारले नुवाकोटमा निकै चर्चा पनि कमायो । चर्चा पाउनु स्वाभाविक पनि थियो । पहिलो कारण त दोस्रो जनआन्दोलन मार्फत निकै चर्चित भएका थिए थापा । दोस्रो चाँही उनी अर्जुननरसिंह केसीका छोरीज्वाई थिए । ससुराली जिल्लामा आएर व्यवसायीक रुपमा बाख्रा पालन सुरु गरेको कुराले असाध्यै चर्चा पायो ।
म त्यतिखेर नुवाकोटमै एउटा संस्थामा काम गर्थे । बेलाबेलामा फिल्डको रुपमा गाउँ जानुपर्थ्यो । त्यसै क्रममा एक वर्षपछि एकपटक सुनखानी जाने मौका जुर्यो । सुनखानी पुगेर गगनको बाख्राफार्म जाने इच्छा बताए । मेरो इच्छा सुनेर तामाङ थरकी फिल्ड कार्यकर्ता मज्जाले हाँसिन् । मैले सोधेँ–‘किन हाँस्नुभयो ? बाख्राको खोरमा जाने कुराले हाँस्नुभएको ?’ उनले भनिन्–‘दाई खोरमा पुगेपछि आफैँ थाहा पाइहाल्नुहुन्छ नि ।’
साना साना फोकटा (बाँझो चौरको बारी) भएको एउटा डाँडो थियो । लाग्थ्यो बर्षौदेखि त्यो जग्गा बाँझो थियो । बाँसले बेरिएका केही खोरहरु थिए त्यहाँ । तर बाख्रा एउटै थिएनन् । बाख्रा नभएपछि कुर्ने मानिस पनि कोही थिएनन् । त्यसो हुँदा बाँसका भाटाहरु समेत निकालेर गाउँलेहरुले लगेका कारण ह्वाङग परेको थियो खोर । लाग्थ्यो एक वर्षदेखि खोरमा बाख्रानै छैनन् । बाख्राका बड्कौला समेत गलेर मल भैसकेका थिए ।

‘देख्नुभयो नि दाई म अघि किन हाँसेको भनेर । यो खोरले बाख्रा नदेखेको डेढ वर्ष भैसक्यो,’ मलाई त्यहाँ पुर्याउने ती बहिनीले भनिन् । म पनि झसँग भए । करिब एक वर्ष खोरमा बाख्रा बसे । जब गगनले काठमाडौंमा मासुपसल खोले त्यसपछि बाख्रा पनि एकपछि अर्को गर्दै खोरबाट हराउन थालेको उनले सुनाइन् ।
गगनले काठमाडौँबाट प्रकाशित हुने मिडियाहरुमा गर्वसाथ भनेका थिए–‘युवाहरुलाई बाख्रापालन गर्न प्रेरणा दिनका लागि मैले केही साथीहरुसँग मिलेर यो फार्म सुरु गरेको हुँ ।’ तर फिल्डमा पुग्दा खोर लथालिङ्ग र बाख्राको बड्कौला समेत भेटिएन ।
केही महिना पछि काठमाडौंबाट प्रकाशित हुने नागरिक दैनिकको कृषि पेजमा गगनको खेती सम्बन्धी अर्को समाचार आयो । ‘व्यवसायीक खेती गर्दै गगन थापा’ शिर्षकमा थियो त्यो समाचार । मिति ठ्याक्कै भुलेँ मैले । तर आइतबारको दिन थियो त्यो । जुन दिन नागरिकको चार आर्थिक पेजमध्ये एउटा कृषिले भरिएको हुन्थ्यो ।
नागरिकको त्यो समाचार अनुसार फर्पिङमा गगनले कुरिलो खेती सुरु गरेका थिए । बडो चाखलाग्दो गरि समाचार प्रस्तुत गरिएको थियो । कुरिलोको काठमाडौंमा बढ्दो माग र त्यसलाई पुरा गर्न कुरिलो खेती गरिएको उल्लेख थियो । समाचारमा गगनको भनाई थियो–‘राजनीति गर्नेहरुसँग आज पद हुन्छ, भोली हुँदैन । राजनीतिमा लाग्दा हुने खर्चलाई पुरा गर्न खेतीमा लागेको हुँ ।’
समाचार प्रकाशित भएको दुई महिना पछि एकजना साथीले बडो रमाइलो किस्सा सुनाए । उनी भन्दैथिए–‘दक्षिणकाली गएको समयमा ताजा कुरिलो किन्न भनेर गगनको फार्ममा गएको थिए । गगनको फार्म होइन भनेर सोधेको त त्यहाँका केटाहरुले झण्डै कुटेका ।’
प्याक्टमा गएर अनुदानका लागि समन्वयकर्ताको भूमिका खेलेका रहेछन् गगनले । समन्वय गरे वापत भनेर गगनले आफूलाई पनि पार्टनर बनाउनुपर्ने प्रस्ताव राखेका रहेछन् । उनीहरुले हुन्छ भनेछन् । तर काम गर्ने कालु, मकै खाने भालु भनेझै गगनले कुरिलो फार्मलाई आफ्नै भनेर प्रचारप्रसार गरेको बुझेपछि त्यहाँका वास्तविक लगानीकर्ताहरु गगनसँग आगो भएका रहेछन् । ‘हामीलाई केटाहरु भनेर गगनले पत्रिकामा अन्तरवार्ता दिएको रहेछ । त्यो समाचार आएपछि हामीले गगनलाई फोन गरेर झपार्यौँ । त्यो बेलादेखि गगन यहाँ आउन सकेका पनि छैनन्,’ ती मित्र सुनाउँदैथिए ।

बाख्रापालन र कुरिलो खेतीपछि सुरु भयो गगनको अर्को स्टन्ट । अर्को स्टन्ट थियो–मासु पसल । काठमाडौंको गल्फुटारमा उनले एचएन्डएच मिट सप नामको पसल खोले । जुन अाज भन्दा २ हजार २ सय ९१ दिन अघि अर्थात २८ साउन २०६८ को शनिबार थियो । अझ गगनले मासु पसल खाेल्दा एक वर्ष भित्र चेनको रूपमा दश पसल स्थापना गर्ने घोषणा समेत गरेका थिए । मासु पसल खोलेको समाचार हरेक सञ्चार माध्यममा छायो । मासुको लागि खसीलाई बध गर्नुभन्दा २४ घण्टा अघिबाट घाँस दाना नदिने र १२ घण्टा अघि पानीमात्र दिने, इलेक्ट्रीक झड्का लगाएर खसी बध गर्ने भनेर निकै प्रचार भयो मासु पसलको ।

गगनको यो मासु पसल पनि लामो समयसम्म चल्न सकेन । चल्न नसकेर होइन, अरु मासु पसलभन्दा सफा भैकन पनि उनले लामो समयसम्म चलाएनन् । यो मासु पसलका लागि पनि प्याक्टबाट अनुदान लिइएको थियो । यतिखेर नत प्याक्टबाट रकम लिएर गगनले सुरु गरेको सुनखानीको बाख्राफार्मनै छ । नत त्यहाँ बाख्रानै छन् । नत फर्पिङको कुरिलोखेतीनै छ । नत गोल्फुटारको मासु पसलनै छ ।

के गगनले चुनाव जित्नकै लागि त्यतिखेर यो स्टन्ट गरेका थिए ? सरकारले ऋण लिएर व्यवसायीक खेती गर्नेका लागि भनेर दिएको त्यो अनुदानलाई झ्वाम पार्नका लागि मात्रै थियो कि के हो त गगनको त्यो प्रोजेक्ट ? यदि यसो होे भने अब केशव स्थापितले मात्र होइन आम नेपालीले प्रश्न गर्नैपर्ने बेला आएको छ–‘खै बाख्रा, खै कुरिलो खेती, खै मासु पसल ?’
हो । स्वरमा स्वर मिलाएर गगन थापासँग हिसाब मागौँ–खै बाख्रा, खै कुरिलो खेती, खै मासु पसल ?
फेसबुकमा भाइरल भएको भिडियोको एउटा क्लिप्स
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०७४