काठमाडौँ । विश्वको ठूलो सामाजिक सञ्जाल फेसबुक (मेटा) ले नेपालमा औपचारिक रूपमा कन्टेन्ट मनिटाइजेसन सेवा सुरु गरेको छ । यससँगै अब नेपाली कन्टेन्ट क्रियटरले आफ्नो कमाइ सिधै स्थानीय बैंक खातामै पाउने भएका छन् ।
मेटाले नेपाली प्रयोगकर्तालाई इमेलमार्फत जानकारी दिँदै, नेपालमा यस सेवा सुरु भएको पुष्टि गरेको छ । यसअघि केही क्रियटरले विभिन्न वैकल्पिक उपायमार्फत नेपाली बैंक खातामा पैसा भुक्तानी लिँदै आएका थिए, तर अब प्रक्रिया आधिकारिक र सजिलो बनेको छ ।
कसरी पाइन्छ कमाइ ?
मनिटाइजेसनका लागि योग्य भएका क्रियटरले आफ्नो पेआउट अकाउन्ट सेटअप गर्दा देशमा ‘नेपाल’ चयन गरी बैंक विवरण भर्नुपर्नेछ । त्यसपछि प्राप्त आम्दानी सिधै नेपाली बैंक खातामा पठाइनेछ ।
फेसबुकका तीन कार्यक्रम—
इनस्ट्रिम एड्स (लामो भिडियोमा विज्ञापन)
एड्स अन रिल्स (रिल्समा देखिने विज्ञापन)
परफमेन्स बोनस (भिडियो, फोटो वा टेक्स्ट पोस्टका आधारमा बोनस)
३१ अगस्टदेखि मेटाले यी सबै कार्यक्रमलाई हटाएर फेसबुक कन्टेन्ट मनिटाइजेसन अन्तर्गत ल्याएको हो ।
योग्यताको मापदण्ड के–के ?
हाल मेटाले ‘इनभाइट–ओनली’ मोडलमा छनोट गर्दैछ । अर्थात्, कम्पनीले आफैं छनोट गरेका क्रियटरले मात्र मनिटाइजेसन पाउँछन् ।
छनोट भएका क्रियटरले मेटा बिजनेस सुइट वा प्रोफेसनल ड्याशबोर्ड प्रयोग गरेर पेआउट सेटअप गर्न सक्छन् ।
मनिटाइजेसन पेज योग्य छ कि छैन भन्ने थाहा पाउन फेसबुक पेजको प्रोफेसनल ड्याशबोर्ड → मनिटाइजेसन मा हेर्न सकिन्छ ।
कस्तो कन्टेन्टमा कमाइ हुन्छ ?
भिडियो, रिल्स, फोटो, स्टोरी वा टेक्स्ट पोस्टमार्फत आम्दानी सम्भव हुन्छ ।
भिडियो कम्तिमा १५ सेकेन्ड लामो हुनुपर्छ ।
क्रियटरले पार्टनर मनिटाइजेसन पोलिसी र कन्टेन्ट मनिटाइजेसन पोलिसी पालना गर्नैपर्छ ।
कस्तो कन्टेन्टबाट कमाइ हुँदैन ?
यदि अरुको कन्टेन्ट प्रयोग गरिएको छ र तेस्रो पक्षले दाबी गर्छ भने त्यस आम्दानी तेस्रो पक्षलाई नै जानेछ ।
नेपालका क्रियटरलाई नयाँ अवसर
प्रविधि विज्ञ राजेन्द्र अर्यालका अनुसार, “यसअघि अनौपचारिक रूपमा केहीले बैंक खाता लिंक गरेर कमाइ गर्थे । तर अहिले मेटाले आधिकारिक रूपमा सेवा सुरु गरेपछि प्रक्रिया सजिलो भएको छ । अब ढुक्क भएर नेपाली बैंक खातामै रकम लिन सकिन्छ ।”
यससँगै नेपालका कन्टेन्ट क्रियटरका लागि डिजिटल आम्दानीको नयाँ ढोका खुलेको छ । फेसबुकमा मौलिक र गुणस्तरीय कन्टेन्ट बनाउने प्रयोगकर्ताले अब नेपालमै बसेर विश्वव्यापी बजारबाट आम्दानी गर्न सक्नेछन् ।
प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२