काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा ठूलो हेरफेर हुने भएको छ । जसपा र लोसपाले आफ्ना-आफ्ना मन्त्री फेर्ने निर्णय गरी आधिकारिक रूपमा प्रधानमन्त्रीलाई पत्र बुझाइसकेका छन्।
जसपाले खानेपानी मन्त्री प्रदीप यादव र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह हुडीलाई फिर्ता बोलाउँदै डा. वीरेन्द्र महतो र रञ्जु झालाई मन्त्रीका रूपमा पठाउने निर्णय गरेको छ। जसपा उपाध्यक्ष परशुराम बस्नेतका अनुसार दुवै मन्त्रीले भदौ ११ गतेभित्र राजीनामा दिनेछन् र त्यसपछि नयाँ मन्त्रीहरूले पदभार सम्हाल्नेछन्।
यस्तै, लोसपाले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको स्थानमा वरिष्ठ सहअध्यक्ष शर्वेन्द्रनाथ शुक्लालाई पठाउने निर्णय गरेको छ। शुक्लाले साउन ५ गते नै प्रधानमन्त्रीलाई मन्त्री परिवर्तनको पत्र बुझाइसकेकाले अब प्रधानमन्त्रीले समग्र हेरफेर गर्ने तयारी भइरहेको बताएका छन्।
दुवै दलले मन्त्रीलाई सुरुवाती समझदारीअनुसार एक–एक वर्षका लागि मात्र नियुक्त गर्ने सहमति गरेका थिए। त्यसकै आधारमा अहिले पुराना मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ अनुहारलाई सरकारमा पठाइँदैछ।
प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२