पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले लिपुलेक नेपालकै भूमि भएको दोहोर्याउँदै यस विषयमा नेपाल सरकार कतैबाट पनि पछि नहटेको स्पष्ट पारेका छन् ।
पोखरामा प्रेस चौतारी कास्कीले गरेको पत्रकार सम्मेलनमा बोल्दै गुरुङले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै स्वामित्वमा रहेको तथ्य प्रमाण भएको बताए । भारतले लामो समयदेखि नेपाली भूभाग उपयोग गर्दै आएको उल्लेख गर्दै उनले यसलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने सरकारको धारणा सुनाए ।
‘दुई देशबीच व्यापारका नाममा करिडोर वा सडक बनाउन पाइँदैन,’ उनले भने, ‘यो विषय डिप्लोमेटिक तहमा पुगेको छ, समाधान पनि डिप्लोमेटिक संवादबाटै हुन्छ । लडाइँ गरेर भूमि फिर्ता ल्याउने कुरा हाम्रो सोचमै छैन ।’
भारत–चीनले लिपुलेकमार्ग हुँदै व्यापार पुनः सुरु गर्ने सहमति गरेपछि पुनः विवाद सतहमा आएको स्मरण गर्दै प्रवक्ता गुरुङले आवश्यक परे परराष्ट्र मन्त्रालयले कूटनीतिक नोटमार्फत औपचारिक चासो जनाउनु पर्ने धारणा राखे ।
नेपालको निषेधित क्षेत्रभित्र करिडोरमार्ग खोल्ने कुरा गम्भीर चासोको विषय भएको उनको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२