काठमाडौं । भारत र चीनबीच लिपुलेक नाका प्रयोग गरी सीमा व्यापारका विषयमा भएको सहमतिपछि नेपालले आधिकारिक प्रतिक्रिया जनाएको छ। परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको पुनः स्पष्ट पारेको छ।
मन्त्रालयले संविधानमै समावेश आधिकारिक नक्सा, ऐतिहासिक तथ्य र प्रमाणलाई आधार मानेर नेपाल सरकारको अडान अडिग रहेको बताएको छ। विज्ञप्तिमा भनिएको छ–‘महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको विषयमा नेपाल सरकार स्पष्ट छ।’
नेपालले भारत सरकारलाई विगतदेखि नै ती क्षेत्रमा सडक निर्माण, विस्तार तथा सीमा व्यापारजस्ता गतिविधि नगर्न आग्रह गर्दै आएको परराष्ट्र मन्त्रालयले दोहोर्याएको छ। साथै मित्रराष्ट्र चीनलाई समेत यो विषयमा अवगत गराइसकेको उल्लेख गरिएको छ।
कूटनीतिक माध्यमबाट विवाद समाधान गर्न नेपाल तयार रहेको बताउँदै परराष्ट्रले भनेको छ–
‘नेपाल–भारतबीचको घनिष्ठ सम्बन्धलाई मध्यनजर गर्दै ऐतिहासिक सन्धि, सम्झौता, तथ्य र नक्साका आधारमा सीमा समस्या समाधान गर्न नेपाल प्रतिबद्ध छ।’
यसअघि, चीनका विदेशमन्त्री वाङ यी भारत भ्रमणका क्रममा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँगको छलफलपछि लिपुलेकमार्ग प्रयोगबारे दुई देशबीच सहमति भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका थिए।
प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२