काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री मुकुल ढकालले पार्टी उपसभापति स्वर्णिम वाग्लेमाथि गम्भीर आरोप लगाएका छन् । उनले अध्यक्ष रवि लामिछानेलाई सहकारी प्रकरणमा जेल पठाउन वाग्लेको भूमिकासहित ‘ग्राण्डडिजाइन’ गरिएको दाबी गरेका हुन् ।
प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै ढकालले पार्टीभित्रकै षड्यन्त्रका कारण लामिछाने फसेको बताएका हुन् । उनका अनुसार, वाग्लेसहितको समूहले लामिछानेलाई “म सहकारी सदस्य होइन” भन्ने भुलपूर्ण अभिव्यक्ति दिलाएर कानुनी संकटमा पार्ने वातावरण सिर्जना गर्यो ।
“रविको गल्ती त थियो तर त्यसलाई मिलाउन सकिने अवस्था पनि थियो । मैले उहाँलाई ऋणी कायम गरेर रकम फिर्ता गर्नु भनेको थिएँ । तर वाग्लेले उल्टै सहकारी सदस्य नै होइन भन्न लगाएर फसाउने काम गरे,” ढकालले भने । उनका अनुसार, लामिछानेलाई जेल हाल्ने र त्यसकै आधारमा लोकप्रियता कमाउने, भोलि आफू मन्त्री वा प्रधानमन्त्री बन्ने आकांक्षा वाग्लेको रहेको छ ।
ढकालले वाग्लेलाई “विदेशी दलाल” समेत भने । उनले मनरो डक्ट्रिन, नेपाली सेनाको संख्यामा कटौती गर्ने प्रस्ताव र भारतलाई खुसी पार्ने खालका टिप्पणी वाग्लेको राजनीतिक चरित्र रहेको आरोप लगाए ।
यस्तै, उनले वाग्लेको अर्को लक्ष्य पार्टी उपसभापति डोलप्रसाद (डीपी) अर्याल रहेको दाबी पनि गरे । ढकालका अनुसार, वाग्लेसहितको समूहले भिजिट भिसा प्रकरणमार्फत आफूलाई कमजोर बनाउन खोजेझैं अब अर्याललाई समेत प्रहार गर्ने तयारी गरेको छ ।
“रवि छैनन्, म छैनँ, अब डिपी अर्याललाई पनि हानियो भने पार्टी कसको कब्जामा पुग्छ भन्ने स्पष्ट हुन्छ,” ढकालले प्रश्न उठाए ।
प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२