काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि उम्मेदवार बन्न आवेदन दिने नौ जना आकांक्षीको नाम सार्वजनिक गरेको छ।
साउन ७ देखि २१ गतेसम्मको निर्धारित समयमा १० जनाले आवेदन दिएकोमा ९ जनाको मात्रै निवेदन स्वीकृत गरिएको हो।
पार्टीका सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपीन आचार्यले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारको नामावली सार्वजनिक गरेका हुन्।
उम्मेदवारी स्वीकृत भएका नामहरू:
कुसुम महर्जन — रास्वपा केन्द्रीय सदस्य
मधु अर्याल — पार्टीका रुपन्देही-३ अध्यक्ष
जेबी गुप्ता (शेखर) — प्रदेश सदस्य तथा पूर्व उम्मेदवार
डा. लेखजंग थापा — भैरहवा निवासी
ज्ञानु पौडेल — महिला नेतृ
शुलभ खरेल — सेमलार, बुटवल
रचना क्षेत्री — जिल्ला कोषाध्यक्ष
पुनम अग्रवाल — महिला उद्यमी
पार्थीवेन्द्र उपाध्याय — भैरहवा
पार्टी स्रोतका अनुसार एउटा आवेदन रीतपूर्वक नपुगेको कारण अस्वीकृत गरिएको हो। यसैबीच, प्रदेश सदस्य प्रकाश ज्ञवालीले उम्मेदवारी दिएको दाबी गरेका थिए, तर वास्तविक रुपमा निवेदन नपरेको पुष्टि भएको छ। उनले झूटो दाबी गरेको कुरा आफैं स्वीकारेका छन्।
अन्तिम उम्मेदवार छनोट तालिका यस प्रकार छ:
साउन २३–२४: दाबी तथा विरोध दर्ज गर्ने समय
साउन २५: अन्तिम उम्मेदवार नामावली सार्वजनिक
भदौ ११: उम्मेदवारहरूका लागि प्रशिक्षण
भदौ १२–१३: पार्टी भित्र आन्तरिक मतदान
भदौ १५: अन्तिम उम्मेदवार घोषणा
सहमहामन्त्री आचार्यका अनुसार रास्वपा भित्रको निर्णय प्रक्रिया पारदर्शी र प्रतिस्पर्धात्मक हुने छ। सबै आकांक्षीहरू रुपन्देही-३ क्षेत्रकै स्थानीय भएकाले प्रतिनिधित्वको विषयमा बलियो सन्देश जाने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: बिहीबार, साउन २३, २०८२