काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीको नेकपा (एमाले) सदस्यता नवीकरण भइसकेको चर्चा भइरहँदा पनि पार्टीभित्र यसबारे नयाँ विवाद उत्पन्न भएको छ। हालै सम्पन्न एमाले पोलिटब्युरो बैठकमा भण्डारीको सदस्यता नवीकरण प्रक्रिया पुनः समीक्षा गर्ने निर्णयसँगै यो विषय फेरि एकपटक विवादको घेरामा आएको हो।
पार्टी विधानको धारा ८ र ९ लाई औंल्याउँदै एमालेले भण्डारीको सदस्यता सम्बन्धी मुद्दालाई गम्भीरतापूर्वक लिएको छ। प्रचार विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमका अनुसार, भण्डारीले राष्ट्रपति पदका लागि पार्टी सदस्यता परित्याग गरी स्वतन्त्र हैसियतबाट अगाडि बढेकी थिइन्, जसले गर्दा उनीमाथि धारा ८ को सन्दर्भ लागू हुने देखिएको हो।
‘विधानको धारा ८ अनुसार स्वेच्छाले पार्टी त्याग गरेका व्यक्तिको सदस्यता स्वतः अन्त्य हुने व्यवस्था छ,’ गौतमले भने, ‘यसका साथै धारा ९ ले त्यस्ता व्यक्तिहरूको पुन: सदस्यता प्राप्त गर्ने प्रक्रियाबारे स्पष्ट पारेको छ। यसैले सदस्यता नवीकरण स्वाभाविक रुपमा हुने कि नयाँ प्रक्रिया अपनाउनु पर्ने भन्नेबारे गम्भीर छलफल भएको हो।’
गौतमका अनुसार, बैठकमा सदस्यता नवीकरणको वैधता, प्रक्रिया र त्यसको राजनैतिक सन्देशबारे गहिरो विमर्श भयो। पार्टीमा यस विषयमा पूर्ण सहमति नजुटेकाले तत्काल कुनै निर्णय नगरी छलफललाई अझै थप परिपक्व बनाउने रणनीति लिएको छ।
केही नेताहरूको भनाइमा, भण्डारीले सक्रिय राजनीतिबाट अवकाश लिएर राष्ट्रपतिको भूमिकामा पुगेकी भए पनि पछिल्लो समय उनको सार्वजनिक गतिविधि र नेताहरूसँगको निकटता पुनः पार्टी राजनीतिमा सक्रिय हुन खोजेको संकेत मानिएको छ।
यद्यपि, एमालेले हालसम्म विद्या भण्डारीको औपचारिक पुनर्प्रवेशलाई स्वीकार्ने या अस्वीकार गर्ने निर्णय गरेको छैन। तर, नवीकरण भइसकेको सदस्यता फेरी विवादमा ल्याइनु पार्टीभित्र आन्तरिक मतभेद र शक्ति सन्तुलनको सङ्केतका रूपमा हेरिएको छ।
अब भण्डारीको एमालेमा औपचारिक भूमिका पुनः स्थापित हुने वा नयाँ बाटो अवलम्बन गर्ने भन्ने निर्णय पार्टी नेतृत्वको भावी रणनीतिमा निर्भर हुनेछ।
प्रकाशित मिति: शनिबार, साउन ४, २०८२