काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) सँग हाल कुनै पनि खालको पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पारेका छन्। उनले एमालेभित्रको आन्तरिक अवस्था र त्यस दलबाट आइरहेका अभिव्यक्तिहरू हेर्दा आफूहरूबीच सहकार्यको बाटो बन्द भइसकेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा पार्टी प्रवेश गरेका पूर्वउपप्रधानमन्त्री बामदेव गौतमलाई स्वागत गर्दै अध्यक्ष नेपालले भने, “अहिलेको बिन्दुमा उभिएर भन्ने हो भने नेकपा एमालेसँग एकताको कुनै सम्भावना छैन। त्यहाँभित्रको अवस्था हामीले देखिरहेका छौं। त्यसप्रति लसपस कसैको छ भने मेरो भन्नु केही पनि छैन।”
उनले एमालेका नेताहरूबाट आउने अभिव्यक्तिले एकीकृत समाजवादीमाथि हमला गर्ने, पार्टी सक्काउने प्रयास भइरहेको दाबी गरे। “त्यहाँका नेताहरूको भाषाबाटै थाहा हुन्छ—उनीहरूको उद्देश्य हाम्रो पार्टीलाई कमजोर पार्ने हो,” उनले भने।

अध्यक्ष नेपालले विचार र सिद्धान्त मिलेमा अन्य वाम समूहसँग सहकार्य गर्न सकिने तर अहिलेको प्राथमिकता आफ्नै पार्टीलाई मजबुत बनाउने रहेको बताए। “पहिलो महत्व आफ्नै पार्टी एक बनाउन लाग्छौं। पार्टी बलियो भयो भने मात्रै अरुसँगको एकता सार्थक हुन्छ,” उनले भने।
उनले विगतमा राजतन्त्रविरुद्धको आन्दोलन स्मरण गर्दै पार्टी कार्यकर्तालाई निराश नहुन र दृढताका साथ अघि बढ्न आग्रह गरे। “चैत १५ गते राजतन्त्रविरुद्ध जनताको चेतना जगाउने ठूलो सभा गर्यौं। त्यो कार्यक्रममा जनसागर उम्लिएको थियो,” उनले भने, “त्यसैगरी आजको ऊर्जा र विश्वासले हाम्रो शक्ति थप वृद्धि हुन्छ।”
अध्यक्ष नेपालले बामदेव गौतमको पुनः आगमनले पार्टीमा नयाँ उत्साह र सामूहिकताको भावना थपिने विश्वास व्यक्त गरे। “बामदेव कमरेड पनि एकताबद्ध भएपछि यो शक्ति ठूलो हुन्छ, वृद्धि हुन्छ। नयाँ ऊर्जा बढाउनुपर्छ,” उनले जोड दिए।
प्रकाशित मिति: शुक्रबार, साउन ३, २०८२