काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २०४६ सालदेखि हालसम्मका सबै उच्च पदस्थ राजनीतिक नेताहरू, सरकारी कर्मचारी तथा उनीहरूका आफन्तहरूको सम्पत्तिको छानबिन गर्न माग गरेको छ।
शुक्रबार दिउँसो राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको टोलीले सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागमा ज्ञापनपत्र बुझाउँदै सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिन सुरु गर्न आग्रह गरेको हो ।
राप्रपाले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत नयाँ–पुराना सबै भ्रष्टाचार काण्डहरूको छानबिनको माग गर्दै ज्ञापनपत्र बुझाएको थियो।
राप्रपाले राज्यको हरेक तहमा भएका भ्रष्टाचारका घटना दबाउन खोजिएको भन्दै विगत ३५ वर्षमा शासनसत्तामा रहेका सबैको सम्पत्तिको स्रोत सार्वजनिक गर्नुपर्ने बताएको छ। पार्टीले निष्पक्ष छानबिनमार्फत देशमा सुशासन र जवाफदेहीता स्थापना गर्न आग्रह गरेको छ।
प्रकाशित मिति: शुक्रबार, साउन ३, २०८२