काठमाडौँ । अमेरिका र बेलायतले अफ्रिकी देश बुर्किनाफासोमा सरकारी सेनाले गरेको नागरिक नरसंहारको निन्दा गरेका छन् । ह्युमन राइट्स बाचकको प्रतिवेदन अनुसार बुर्किनाफासोको याटेंगा प्रान्तको नोन्डिन र सोरो गाउँमा ५६ बालबालिकासहित कम्तिमा २२३ जनाको सेनाले हत्या गरेको उल्लेख छ ।
उक्त प्रतिवेदनप्रति चिन्ता व्यक्त गर्दै अमेरिका र बेलायतले घटनाको सत्य तथ्य जाँच गरेर घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न पनि माग गरेको छ । बुर्किनाफासोमा पछिल्लो समय चलेको द्वन्द्वका कारण झण्डै २० लाख मानिस विस्थापित भएका छन् ।
सन् २०२२ मा भएको सैनिक विद्रोहपछि देशको अवस्था नाजुक बन्दै गएको हो । बुर्किनाफासोमा अल–कायदा र आईएसआईएस आतङ्ककारी संगठनहरू सक्रिय छन। सेना र यी संगठनहरूबीचको द्वन्द्वमा प्रायः सर्वसाधारणको ज्यान जाने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सन् २०१५ देखि अवस्था बिग्रँदै गएको थियो भने २०२२ मा देशको कार्यवाहक राष्ट्रपतिबाट सैन्य नेता पाउल–हेनरी सान्डाओगो दामिबालाई हटाएपछि अवस्था झन् नराम्ररी बिग्रिएको छ ।
बुर्किना फासोले विद्रोही विरुद्धको लडाइँमा सेनाले सर्वसाधारण मारेको आरोप लगाएको रिपोर्ट प्रसारण गरेपछि बीबीसी र भ्वाइस अफ अमेरिका रेडियो नेटवर्क जस्ता अन्तर्राष्ट्रिय मिडियालाई प्रतिबन्ध पनि लगाएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१