–डा. दिनेशचन्द्र देवकोटा
ऐतिहासिक कदम
१७ असोज ०७४ मा नेपालमा एउटै कम्युनिस्ट पार्टी निर्माण गर्ने महान् उद्देश्यका साथ आसन्न संघीय र प्रादेशिक निर्वाचनमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति नेपाल पार्टीबीच चुनावी तालमेल गर्ने र चुनावपछि पार्टी एकता गर्नेलगायत ६ बुँदे ऐतिहासिक सहमतिले मुलुक सधैँ अस्थिर राजनीतिको सिकार भइरहने समस्याको अन्त्य हुने निश्चित छ । यति मात्र होइन, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनापछि प्रत्येक नागरिकले अपेक्षा गरेका आर्थिक समृद्धि, दिगो शान्ति, सामाजिक रूपान्तरणका राष्ट्रिय एजेन्डाहरूको शीघ्र कार्यान्वयन गर्न आगामी दिनमा वामपन्थीहरूको नेतृत्वदायी भूमिकाको समेत स्पष्ट संकेत गरेको छ । तसर्थ यस ऐतिहासिक सहमतिलाई विभिन्न तह र तप्कामा संगठित सम्पूर्ण वाम बुद्धिजीवीले आआफ्नो ठाउँबाट वाम तालमेललाई बलशाली बनाउन, विरोधीका भ्रामक प्रचारबाजी चिर्दै वाम तालमेलको पक्षमा जनमत सिर्जना गर्न सिर्जनशील ढंगले अझ बढी सक्रियतापूर्वक लाग्नु आजको प्राथमिक कार्य हो ।
राष्ट्रियता, जनजीविका तथा सामाजिक न्यायसहितको समानतापूर्ण समाज निर्माण गरी समाजवादउन्मुख अर्थतन्त्रको विकासका लागि यो ऐतिहासिक अवसरको सदुपयोग गर्न जरुरी छ । तब मात्र मुलुकमा राजनीतिक स्थिरता प्राप्त हुन सक्छ र त्यसपश्चात् मुलुकलाई समृद्धिको यात्रामा लान वामपन्थी गठबन्धनको नेतृत्व स्थापित हुन सक्छ । तसर्थ नेकपाका संस्थापक महासचिव पुष्पलालले परिकल्पना गरेबमोजिम नेपाली माटो सुहाउँदो वैज्ञानिक कम्युनिस्ट विचारधारालाई आजको एक्काइसौँ शताब्दीको युगमा समयसापेक्ष कार्यान्वयन गर्दै समाजवादको यात्रामा मुलुकलाई अगाडि बढाउन सकिन्छ । यसका लागि अत्यन्त वुद्धिमत्तापूर्ण ढंगले वाम तालमेललाई कार्यान्वयन गरी देशभर रहेका तमाम लोकतान्त्रिक, प्रगतिशील तथा देशभक्त जनसमुदायमा आशाको नयाँ रक्तसञ्चार गराउनु र बढीभन्दा बढी नेपाली नागरिकलाई वाम तालमेलको पक्षमा उतार्न वाम तालमेलको निर्णयलाई ऐतिहासिक कदमका रूपमा स्थापित गर्न जरुरी छ ।
दक्षिणपन्थीहरूको बहाना
समय लिएर पार्टी एकीकरणले आकार ग्रहण गर्छ । त्यसका लागि सघन ढंगले छलफल गर्दै सैद्धान्तिक, राजनीतिक तथा वैचारिक विषयमा साझा निष्कर्षमा पुग्नुपर्छ । त्यसका लागि नेकपा एमाले, माओवादी केन्द्र र अन्य पार्टीसँग चुनावपछि सरकारमा बसेर पनि वाम तालमेलअनुसार काम गर्ने र एकीकरणका हिसाबले आफ्ना दस्ताबेज सुदृढीकरण गर्ने र नयाँ दस्ताबेज तयार गर्नेलगायत विषयमा समझदारी विकास गरी एउटै कम्युनिस्ट पार्टी निर्माण गर्ने लक्ष्य प्राप्त गर्न सकिने स्पष्ट गरेको छ । तर, आजका दिनमा वाम पार्टी एकीकरणको अभियानभन्दा अगाडि चुनावी तालमेल भएर जुन वाममोर्चा बन्यो यो कुनै शक्तिका विरुद्ध नभई देश र जनताको चाहना तथा आगामी दिनको राष्ट्रिय राजनीतिको आवश्यकतासमेतलाई मध्यनजर राखेर निर्माण भएको हो । तर, जहाँसम्म चुनावी घोषणापत्र र तालमेलको विषयमा संविधान प्रदत्त हिसाबले जुन विधिको शासन, बहुलवाद र निश्चित समयमा निर्वाचन गरेर अद्यावधिक गर्ने कुरा स्वीकार्य भएर नेकपा माओवादी केन्द्रसमेत मूल प्रवाहीकरणमा आइसकेपछि शंका गर्नुपर्ने अवस्था छैन । किनकि यो त संविधानभित्रको व्यवस्थाअनुसार गरिएको चुनावी तालमेल हो । आफूले नसोचेको हिसाबले तालमेल भयो भन्ने हिसाबमा कांग्रेसलाई अस्वाभाविक लाग्नु ठीकै हो, तर यो तालमेल कुनै पनि दृष्टिकोणले अलोकतान्त्रिक हुँदै होइन, यो स्वाभाविक छ र मुलुकलाई स्थिर राजनीतिक यात्रामा अघि बढाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकासमा थप योगदान गर्दछ भन्ने कुरा घामजत्तिकै छर्लंग छ ।
तर, दक्षिणपन्थी शक्ति आफ्नो परम्परागत सत्ताको बागडोर गुम्ने निश्चितप्रायः भएपछि वाम तालमेललाई बदनाम गराउन, अनेक खालका लाञ्छना लगाउन र यो अधिनायकवादतर्फको यात्रा हो भन्नसमेत पछि परेका छैनन् । तर, ती पार्टीले नेपाली नागरिकको म्यान्डेटलाई अलोकतान्त्रिक भन्न मिल्छ ? के नागरिकले वाम तालमेललाई दुईतिहाइ बहुमत दिए भने यो अलोकतान्त्रिक हुन्छ ? यो अधिनायकवादको यात्रा हुन्छ ? आफूलाई लोकतन्त्रवादी भन्ने तर व्यवहारमा अलोकतान्त्रिक कुरा गर्दै हिँड्न सुहाउँछ ? संविधानको धारा २७४ को (१) मा संविधान संशोधनबारे नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सर्वभौमसत्ताको प्रतिकूल हुने गरी संविधान संशोधन गर्न सकिनेछैन भन्ने स्पष्ट व्यवस्था गरिएको छ । यो सबै वामपन्थीहरूले समेत दस्तखत गरेको हाम्रो देशको मूल कानुन हो । तसर्थ देशका नागरिकले आर्थिक समृद्धि, सुशासन, दिगो शान्ति र सामाजिक एवं सांस्कृतिक रूपान्तरणमार्फत समतामूलक समाज निर्माण गर्न चाहेका छन् । यो लक्ष्य परिपूर्तिका निम्ति वामहरूको चेतना तथा कार्यान्वयन क्षमतासँग सहज ढंगले प्रतिस्पर्धामा खरो उत्रनुको सट्टा व्यर्थका शंका–उपशंका गरी समय खेर नफाल्न ती पार्टीका लागि उचित होला भन्ने लाग्छ ।
भ्रम चिर्न सक्नुपर्छ
आरोप त जसले जे पनि लगाउन सक्छ । तर, यथार्थ हेर्नुपर्छ । यो तालमेल राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, विकास निर्माण, समावेशी विकास, गरिब, विपन्न तथा महिला, जनजाति, पछाडि पारिएका समुदाय र दलितको पक्षमा छ । हामी स्वाभिमानी अर्थतन्त्र निर्माण गर्न चाहन्छौँ । तीनखम्बे अर्थतन्त्र (सरकारी, निजी र सहकारी) मार्फत समाजवादउन्मुख अर्थतन्त्रको विकास गर्न चाहन्छौँ । विकासको रणनीतिमा समावेशी गर्दै गरिब र विपन्नको पक्षमा समाजवादउन्मुख अर्थतन्त्र, राष्ट्रिय स्वाधीनतामा उठेको अर्थतन्त्र, राष्ट्रिय पुँजी निर्माण र तराईको विकासलाई विशेष प्राथमिकता दिँदै समतामूलक समाज निर्माणको दिशामा अघि बढ्न चाहन्छौँ । यी हाम्रा घोषित मूल्य–मान्यता नेपाली नागरिकले आजका दिनमा जतिसक्दो चाँडो कार्यान्वयनमा आऊन् भनेर संविधानतः प्रतीक्षा भएका विषय हुन् । तसर्थ एजेन्डाहरू देश तथा नागरिकको पक्षमा हुने तर विरोधी शक्तिले भ्रम फैलाउन अनेक आरोप लगाउने जुन कथित परिस्थिति निर्माण गर्न व्यर्थको कसरत भइरहेको छ, यसबारे वाम तालमेलका पक्षधर अझ बढी चनाखो भई दृढतापूर्वक अघि बढ्नुपर्छ र भ्रमका खेती गर्नेका लागि वैचारिक, राजनीतिक तथा सैद्धान्तिक क्षेत्रमा खरो उत्रनुपर्छ अनि मात्र भ्रमका पर्दा च्यातिन्छन् । देश र नागरिकका चाहना पूरा गर्न सकिन्छ ।
अन्त्यमा
आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र समृद्ध नेपाल निर्माणका लागि वाम तालमेलले गरेका संकल्प तथा प्रतिबद्धता पूरा गर्न सक्छौँ । यस सुवर्ण अवसरको जिम्मेवारी हाम्रो पुस्ताको काँधमा आएको छ । बुद्धिजीवीको दायित्व तथा जनसेवा अझ बढेर गएको छ । नेपालमा सबैभन्दा धेरै मतदाता वामपन्थीकै पक्षमा छन् । संविधानसभाको पहिलो र दोस्रो दुवै चुनावमा देखिएकै हो, आपसमा जुधेर लड्दा पनि पहिलोमा ६५ प्रतिशत र दोस्रोमा ५२ प्रतिशत मत वामपन्थीकै पक्षमा आएको थियो । स्थानीय निकायको चुनावमा पनि त्यस्तै देखिन्छ । यदि एमाले र माओवादीको प्राप्त भोट जोड्ने हो भने दुईतिहाइ हुन्छ । यसका लागि अझ बढी सिर्जनशील भई जनसेवामा लाग्न जरुरी छ । यस कार्यमा विज्ञको टिमसहित देशभरि नै वाम तालमेलका लक्ष्य तथा उद्देश्यबारे नागरिकमा अझ बढी जागरुकता ल्याउन वैचारिक बहसलाई तीव्र पार्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा समेत जनमत निर्माणका लागि आआफ्नो ठाउँबाट लागिपर्न र वाम तालमेललाई सफलीभूत बनाउन आफ्ना योग्यता, क्षमताको भरपूर मात्रा लगाई ऐतिहासिक कदमलाई स्थापित गरेर देश र नागरिकको समृद्धिको चाहनालाई पूरा गर्नुपर्छ ।
नयाँ पत्रिका दैनिकबाट ।
(नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष डा. देवकोटा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन्)
प्रकाशित मिति: आइतबार, असोज २९, २०७४