काठमाडौँ । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल)मा आफ्नै सवारी साधनले ट्रायल दिन पाउने व्यवस्था लागू भएको छ । पछिल्लो समय कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले यो व्यवस्था लागू गरेका हुन् ।
राष्ट्रिय सतर्कता केन्द्रले सातै वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र लेख्दै ट्रायल दिने परीक्षार्थीलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन निर्देशन दिएसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशले पनि यो व्यवस्था लागू गरेका हुन् ।
कर्णाली प्रदेशस्थित यातायात व्यवस्था कार्यालय वीरेन्द्रनगर सुर्खेतले सूचना निकालेर सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा स्थलमा चालकलाई आफ्नो सवारी साधन प्रयोग गर्ने वा परीक्षा केन्द्रमै भएको सवारी साधन प्रयोग गर्ने व्यवस्था मिलाउन भनेको छ ।
यसअघि मधेस प्रदेशले यो व्यवस्था लागू गरेको थियो । यातायात व्यवस्था विभागले साउनबाट लागू हुने गरी २०७७ चैत १९ गते जारी गरेको ‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ मा आफ्नो सवारीबाटै प्रयोगात्मक परीक्षा दिन सकिने व्यवस्था सुटुक्क परिवर्तन गरेको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०