काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी)का महाप्रबन्धक सञ्जीव झामाथि दुर्व्यवहार भएको छ । उनीमाथि कार्यकक्षमै दुर्व्यवहार भएको डीडीसीका नि.उपमहाप्रबन्धक राजेन्द्र प्रसाद अधिकारीले पुष्टि गरे ।
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट सङ्गठनका कार्यकर्ताहरूले महाप्रबन्धक झालाई शुक्रवार बिहान कार्यकक्षमै पुगेर दुर्व्यवहार गर्दै कालो मोसो दलेका हुन् ।
सो क्रममा झाको खुट्टामा चोट लागेको छ । अहिले प्रहरी घटना स्थलमा पुगेको छ । भ्रष्टाचार र अनियमितता गरेकाले कालो मोसो दलिएको सङ्गठनले जनाएको छ ।
यसअघि २९ माघमा पनि सोही पार्टीका कार्यकर्ताहरूले यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि कार्यालय परिसरभित्र दुर्व्यवहार गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०