काठमाडौँ । जिल्ला अदालत, काठमाडौँ परिसरबाट भागेका थुनुवालाई सहयोग गरेको आरोपमा ३ जनाविरुद्ध कारबाही प्रक्रिया अघि बढेको छ ।
अदालतबाट १८ पुसमा हत्कडीसहित भागेका ठगी मुद्दाका थुनुवा कमल खड्कालाई भाग्न र लुक्न सहयोग गरेको आरोपमा प्रहरीले मोहन तामाङ, रोनिष तामाङ र पारस तामाङलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार, पक्राउ परेकामध्ये मोहन, रोनिष र पारसले खड्काको हत्कडी खोल्न र लुकाउन सहयोग गरेका थिए ।
ठगी मुद्दामा ८ नम्बर इजलासको अगाडि कुर्सीमा बसेर प्रहरी मुद्दाको कागज लिन गएका बेला कमल फरार भएका थिए । उनले प्रहरीसँगको बयानमा ‘भोलि फेरि उपस्थित हुनुपर्ने थाहा पाउँदा लामो समय थुनामा बस्नुपर्ने भयो भन्ने लागेर’ भागेको भनेका छन् ।
त्यसपछि त्यहीँ भेट भएका रिल्दु तामाङसँग कोठामा बसेको उनले भनेका छन् । पछि प्रहरी आउनसक्छन् भन्ने भएपछि होटेलमा बस्नु भन्ने सुझाव अनुसार जडीबुटीस्थित दोलखाली होटेलमा बसेको उनले बताएका छन् । त्यहीँबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
प्रकाशित मिति: सोमबार, माघ १५, २०८०