कैलाली । कैलालीको जानकी गाउँपालिकामा रहेको अरुणोदय माध्यामिक विद्यालयले अवकाश प्राप्त शिक्षकको भव्य बिदाई समारोह गरेको छ । निमावि तहमा ३१ बर्स सेवा गरि अवकाश भएका सामाजिक बिषयका शिक्षक रणबहादुर बिष्टको उत्सवमय बिदाई समारोह गरिएको हो । पञ्चेबाजा सहितको बिदाई रयाली जानकी गाउँपालिकाको वाड नम्बर ९ का बिभिन्न क्षेत्रमा परिक्रमा गराइएको थियो । शिक्षकको बिदाइमा यसप्रकारको सम्मान समारोह गरिएको यो पहिलो घटना भएको स्थानीय अगुवाहरूले बताएका छन् । पञ्चेबाजा सहितको रयाली पछि आयोजित समारोहमा बिभिन्न व्यक्तिले विद्यालयको यो कार्यको प्रसंसा गरेका छन् ।
जानकी गाउँपालिका वाड नम्बर ९ का वाडा अध्यक्ष खगेन्द्र भण्डारीले शिक्षकको सम्मान गर्ने विद्यालय परिवारको यो कार्य प्रशंसायोग्य रहेको बताएका छन् । यस्तै त्यस क्षेत्रका अगुवा तथा नेपाल प्रहरीका पूर्व नायब उपरीक्षक सुरतबहादुर शाहले विद्यार्थीहरू अनुशासित भएर अघि बढ्नुपर्ने बताएका छन् । कार्यक्रममा समाजसेवी रतिराम भट्ट, रुपा रेग्मी खत्री लगायतले विद्यालयको यो उदाहरणीय कार्यको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
बिदाई समारोहमा अवकासप्राप्त शिक्षक रणबहादुर बिष्टले आफू अवकाश प्राप्त भएपनि विद्यालयको हितमा सँधै लागिरहने बिचार व्यक्त गरे । यस्तै विद्यार्थीहरूलाई असल मान्छे बन्न शुभकामना पनि बिष्टले दिएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली करिडोर बन उपभोक्ता समितिका अध्यक्ष गोविन्द बिष्टले शिक्षकलाई सम्मान गर्ने विद्यालय परिवारको कार्य निकै उदाहरणीय भएकाले विद्यालयसँग आफूहरू सहकार्य गर्न सँधै इच्छुक रहेको बताएका छन् ।
यस्तै बिधालय व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार बिष्टले बिधालय स्वर्ण इतिहाँस बोकेको बिद्यालयले आगामी दिनमा निरन्तर उदाहरणीय काम गर्दै जाने बताए । बिदाई समारोहमा विद्यालयका प्रधानाध्यापक कपिलराज भाटले शिक्षकले जीवनमा सम्मान बाहेक अरु केही नपाउने भएकाले शिक्षकको सम्मानजनक बिदाइको सुरुवात गरेको बताएका छन् । शिक्षकलाई सम्मान गर्ने वातावरणको विकास गर्न यस्तो भव्य बिदाई गरिएको र यो परम्परालाई निरन्तरता दिने प्रधानाध्यापक भाटको भनाई थियो । विद्यालयले यसैवर्ष आफ्नो स्वर्ण जयन्ती मनाउने तयारी गरिरहेको र त्यसलाई सफल बनाउन पनि सबै स्थानीयलाई प्रधानाध्यापक भाटले अनुरोध गरेका छन् ।
प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९