काठमाडौँ । निष्ठापूर्ण राजनीतिका अथक योद्धा : दयानिधि शर्मा स्मृति ग्रन्थको शनिवार राजधानीमा लोकार्पण गरिएको छ । डा. शास्त्रदत्त पन्त र ग्रन्थ नायक दयानिधि शर्माको नाति पुस्ताले स्मृति ग्रन्थ लोकार्पण गरेका हुन । स्मृति ग्रन्थ लोकार्पण कार्यक्रममा निष्ठावान् राजनीतिज्ञ दयानिधि शर्माको व्यक्तित्वमाथि बिभिन्न व्यक्तिहरूले प्रकाश पारेका थिए ।

ग्रन्थ लोकार्पण कार्यक्रमका प्रमुख अतिथि डा शास्त्रदत्त पन्तले दयानिधि शर्माको निष्ठा सँधै जीवन्त रहने बताउँदै उहाँबाट सिक्न आजको राजनीतिक पुस्तालाई आग्रह गर्नुभयो । दयानिधि शर्माको समयकालमा राजनीतिक देश र जनताका लागि गरिने भएपनि आजका राजनीतिज्ञहरू आफू र आफ्ना परिवारका लागि गरिरहेको तितो यथार्थ प्रस्तुत गर्नुभयो । दयानिधि जस्तै राजनीतिकर्मीको अभावका कारण देशको दुर्गति भएको उल्लेख गर्दै पन्तले भने : दयानिधि शर्माजस्तो राजनीतिज्ञहरू हामीले लामो समय पाएको भए आज देश अरुको भर पर्नुपर्ने थिएन । आजको भौतिकवादी समयमा पनि शर्मा जस्ता निष्ठावान् व्यक्तिको व्यक्तित्वबारे किताब लेखिएकोमा प्रशंसा गर्दे पन्तले भने सम्पती र भौतिक बस्तुको पछि दौडिरहेको आजको पुस्ताले निष्ठा त्याग र नैतिकता उहाँबाट सक्नुपर्नेछ । उहाँले शर्माका छोराछोरीले पिताको योगदान र निष्ठालाई रेकर्ड गरि जीवन्त राख्ने काम गरेको समेत प्रशंसा गरेका थिए ।

कार्यक्रममा पूर्व सांसद तथा प्रशासक सूर्यबहादुर सेन वलीले दयानिधि शर्माले गुल्मी र आसपासको जिल्ला विकासमा गरेको योगदानको चर्चा गरे । आजको गुल्मी दयानिधि शर्माकै नेतृत्वबाट सम्भव भएको बताउँदै वलीले भने गुल्मीको अस्तित्व र गुल्मीलाई मोटरबाटोसँग जोड्ने कामको नेतृत्व शर्माले गरेका हुन । दयानिधि शर्माले गुल्मीको मात्रै नभई बाग्लुङ, अर्घाखाँची लगायतका जिल्लाको विकासमा पनि भूमिका खेलेको सम्झना वलीले गरे । लोकार्पण कार्यक्रममा डा निमानन्द रिजाल, भागवत ढकाल, अच्युत ज्ञवाली, तुलसीदास गौतम लगायतका व्यक्तिहरूले शर्माको व्यक्तित्वबारे चर्चा गरेका थिए ।

दयानिधि शर्मा राणा शासनका विरुद्ध आवाज उठाउँदै पंचायतका दिनहरू सम्म राजनीति र समाजसेवाका माध्यमबाट देशको विकासमा क्रियाशील भइरहेका एकजना निष्ठावान् नेता थिए । बनराज्य मन्त्री सम्मको भूमिका निर्वाह गरेका शर्माको व्यक्तित्वबाट तत्कालीन राजा महेन्द्र समेत प्रभावित भएको चर्चा कार्यक्रममा गरिएको थियो । पुस्तकका लेखक तथा कार्यक्रमका अध्यक्ष करुणानिधि शर्माले आफ्नै पिताको जीवनी लेखेपनि इतिहासप्रति पूर्ण न्याय गर्ने कोशिश गरेको बताए । दयानिधि शर्मा आफ्ना पिता मात्रै नभए राष्ट्रको निधि भएकाले उहाँको योगदान र सघर्षलाई नयाँ पुस्ताले समेत जानून् भन्नेहेतुले ग्रन्थ प्रकाशित गरेको उनको भनाई थियो । दयानिधि शर्माको जीवनी ग्रन्थबाट आजका राजनीतिकर्मीले धेरै सिक्न सक्ने अवस्था रहेकाले पनि आजको दिनमा ग्रन्थ सान्दर्भिक हुने उहाँको छोरा तथा लेखक करुणानिधिले कार्यक्रममा चर्चा गरेका थिए । कार्यक्रममा दयानिधि शर्माका कान्छा छोरा इन्जिनियर हेमनिधि शर्माले स्वागत मन्तव्य मार्फत सबैलाई स्वागत गरेका थिए ।

दयानिधि शर्माका जेठा छोरा करुणानिधि शर्मा सहित हरि पथिक र तुलसीदास गौतमले यो ग्रन्थ सम्पादन गरेका हुन । ३६० पृष्ठको यो ग्रन्थले दयानिधि शर्माको परिचय, संघर्ष, निष्ठा र तपस्याका बारेमा स्पस्ट जानकारी दिनुका साथै त्यो बेलाको सम्पूर्ण राजनीतिक इतिहासको दस्तावेजीकरण गरेको छ । ग्रन्थमा त्यसबेलाका राजनीतिकर्मीहरुको अनुभवन समेत समावेश गरिएको छ । ग्रन्थ नेपालको इतिहासका अध्यता तथा इतिहासबारे जानकारी राख्ने जोकोही अनुसन्धानकर्ताका लागि लाभदायक हुनेछ ।


प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९