काठमाडौँ -श्रीलङ्काविरुद्ध ३–० को सहज जित दर्ता गर्दै नेपाल यू२० साफ च्याम्पियनसिप अङ्कतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
च्याम्पियनसिपको लगातार दुई खेलमा जित निकाल्दै नेपाल समान ६ अङ्क बटुलेको बङ्गलादेशलाई गोलान्तरमा हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।
भारतमा जारी साफ यू२० च्याम्पियनसिपको म्याच डे ‘टु’को दोस्रो खेलमा नेपाललाई जित दिलाउन कप्तान आयुष घलान, कृतिशरत्न छुन्जु र मानग्य नकर्मीले समान एक–एक गोल गरे ।
भारत भुवनेश्वरस्थित कालिङ्गा रङ्गशालामा साँझ ७ः१५ बजे सुरू भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि नेपालले दोस्रो हाफमा पकड जमाउन सफल भयो ।
१०औं मिनेटमा कप्तान घलानको प्रहार श्रीलङ्काको पोस्ट माथि हुँदै बाहिरिएको थियो । त्यसलगत्तै नेपालले चार मिनेटसम्म तीन मौका पाए पनि सदुपयोग गर्न सकेन ।
११औं मिनेटमा अभिषेक वाइवाको क्रस नेपाली खेलाडीसँग पुग्नु अगावै श्रीलङ्काको गोलरक्षक सेन बानुकाले क्लियर गरिदिए । कृतिशले खेलको १२औं मिनेटमा गरेको प्रहार श्रीलङ्काका गोलरक्षकले सजिलै नियन्त्रणमा लिए ।
१४औं मिनेटमा आशिष राईले गोल गर्ने प्रयास गरे पनि उनको प्रहार गोलपोस्ट भन्दा निकै माथि हुँदै गएपछि नेपालले सुरुवाती गोल गर्न सकेन । २२औ मिनेटमा श्रीलङ्काले सुन्दर मुभ बनाउँदै नेपालको पेनाल्टी क्षेत्रभित्र पुर्याए पनि डिफेन्डरले नेपालको उद्दार गरे ।
२३औं मिनेटमा मोहम्मदु मुन्सिफको प्रहार साइड बारमा लाग्दै बाहिरिए पछि श्रीलङ्का सुरुवाती अग्रता लिनबाट चुक्यो । २४औं मिनेटमा सुमित श्रेष्ठको प्रहार श्रीलङ्काका गोलरक्षक बानुकाले सजिलै नियन्त्रणमा लिए । २९औं मिनेटमा नेपालको गोल गरे पनि रेफ्रीले त्यसलाई मान्यता दिएनन् ।
कृतिशको कर्नरमा आशिष राईले गरेको प्रहार डिफ्लेक्ट हुँदै आएको रिबन्डमा अजय चौधरीले गोल गरेका थिए । तर चौधरीले गोलको प्रयास गर्नुअघि नै श्रीलङ्काको खेलाडी मैदानमा लडेपछि रेफ्रीले खेल रोक्न सिठ्ठी बजाएका थिए ।नेपाली खेलाडीले रेफ्रीसँग गोलको माग गरे पनि उनले इन्कार गरे ।
नेपालका डिफेन्डर खेलको ३४औं मिनेटमा मैदानको मध्य भागमा चिप्लिएर लडेपछि श्रीलङ्काका मुन्सिफले बल नियन्त्रणमा लिँदै सट प्रहार गरे । तर प्रहार गरेको बलले उचाई लिँदै बाहिरिए पछि नेपाल श्रीलङ्काविरुद्ध पछि पर्नबाट जोगियो ।
३९औं मिनेटमा नेपालले गोल गर्ने सुन्दर मौका गुमायो । नेपालका घलानले प्रहार गरेको फ्रिकिकमा सुगम सुवालले हेड गरे पनि त्यसले जाली चुम्न सकेन र दुवै टोली गोलरहित बराबरीमा बस्न बाध्य भए । रङ्गशालाको फ्लडलाइटमा समस्या आएपछि पहिलो हाफमा दुई पटक खेल स्थगित गरिएको थियो ।
फाउल र फ्लडलाइडमा समस्या देखिएर खेल पटक–पटक रोकिएपछि पहिलो हाफमा ६ मिनेट अतिरिक्त समय थपिएको थियो । तर थपिएको समयमा पनि दुवै टोली गोल गर्न असमर्थ रहे पछि पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो ।
दोस्रो हाफको ४७औं मिनेटमा नेपालले गोलको लागि थुप्रै प्रयास गर्याे । पेनाल्टी क्षेत्रभित्र र बाहिरबाट नेपालका चार खेलाडीले पटक–पटक प्रयास गरे पनि नेपाल गोल गर्न असमर्थ रह्यो ।
५४औं मिनेटमा श्रीलङ्काले गोल गर्ने सुन्दर मौका गुमायो । कप्तान थिसानको लामो थ्रो इनमा श्रीलङ्काका खेलाडी हेड गर्न सफल भए पनि क्रसबार बाधक बन्यो । गोल क्रस बारमा लाग्दै फर्किएपछि श्रीलङ्काले सुरुवाती अग्रता लिने मौका गुमायो ।
५८औं मिनेटमा नेपालले सुरुवाती अग्रता बनायो । नेपालका लागि कप्तान आयुष घलानले गोल गरे । अभिषेक वाइवाले राइट फ्ल्याङ्कबाट गरेको क्रसलाई श्रीलङ्काका गोलरक्षक बानुकाले पन्च गरिदिए पछि आएको रिबन्डमा आयुष गोल गर्न सफल भएका थिए । ६५औंमा कृतिश रत्न छुन्जुले गोल गरेपछि नेपालले अग्रता दोब्बर बनायो ।
दिपेश गुरुङ, छुन्जु, घलान हुँदै पुनः छुन्जुसम्म आइपुगेको बललाई छुन्जुले उत्कृष्ट प्लेसमेन्ट गर्दै पेनाल्टी क्षेत्र बाहिरबाट गोल गर्न सफल भएपछि नेपाल २–० को अग्रता लिन सफल भयो ।
८४औं मिनेटमा मानग्य नकर्मीले गोल गर्दै नेपालको अग्रता ३–० मा पुर्याए । सुगम सुवालको पासमा श्रीलङ्काकाे पेनाल्टी क्षेत्रभित्र रहेका नकर्मीले सजिलै गोल गरे ।
९१औं मिनेटमा श्रीलङ्काले सान्त्वना गोल गर्ने अवसर खेर फाल्यो । पेनाल्टी क्षेत्रभित्र बाट श्रीलङ्काले गरेको प्रयासलाई नेपालका गोलरक्षक इश्वर गुरुङले विफल पारिदिए र आफ्नो क्लिनसिट कायम राखे ।
९४औं मिनेटमा श्रीलङ्काको अर्काे प्रयास रोक्न नेपाली डिफेन्डर सफल भए । गोललाइन क्लियरेन्स गर्दै नेपालले क्लिनसिट जारी राख्यो ।
नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सविरुद्ध ४–० गोलान्तरको जित निकालेको थियो । बङ्गलादेशसँग १–० को हार बेहोर्दै च्याम्पियनसिपको यात्रा सुरू गरेको श्रीलङ्काले प्रतियोगितामा अझै जित दर्ता गर्न बाँकी छ ।
आजको भएको पहिलो खेलमा आयोजक भारतलाई २–१ ले हराउँदै बङ्गलादेशले प्रतियोगितामा दोस्रो जित हासिल गरेको छ । नेपाल समान ६ अङ्क बटुले पनि बङ्गलादेश गोलान्तरको आधारमा अङ्कतालिकाको दोस्रो स्थानमा छ ।
प्रकाशित मिति: बुधबार, साउन ११, २०७९