काठमाडौँ। सरकारले १८ वर्षमाथिका सबैलाई बुस्टर डोज दिने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो शृङ्खला खोप लगाएको ६ महिना पूरा भएका १८ वर्ष माथिकालाई बुस्टरको रूपमा कोभिशिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय गरेको हो ।
मन्त्रालयका जनस्वास्थ्य अधिकृत सञ्जयकुमार महासेठद्वारा हस्ताक्षरित विज्ञप्तिमा सबै ७७ जिल्लाका स्वास्थ्य कार्यालयलाई पत्र लेखी बुस्टर डोज खोप दिन आग्रह गरिएको छ ।
बुस्टर डोज खोप दिँदा अग्रपङ्क्तिमा खटिनेहरू, ६० वर्षमाथिका ज्येष्ठ नागरिक, दीर्घ रोगी, गर्भवती र सामाजिक जनसाङ्ख्यिक रूपमा पछाडि पारिएका व्यक्तिहरूलाई प्राथमिकता दिन भनिएको छ ।
साथै स्वास्थ्य मन्त्रालयले कोभिड–१९ सङ्क्रमण भएका व्यक्तिलाई सङ्क्रमणमुक्त भएको एक महिनापछि कोरोना भाइरसविरुद्धको खोप र बुस्टर डोज दिन मिल्ने पनि बताएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८