काठमाडौं । हाल उत्पन्न असामान्य राजनीतिक परिस्थितिबीच जेन–जेड आन्दोलनका प्रतिनिधिहरूले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसमक्ष अन्तरिम नागरिक सरकारको खाका पेश गरेका छन्। सो प्रस्तावमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेतृत्व दिनुपर्ने धारणा अघि सारिएको छ।
जंगीअड्डामा बुधबार दिनभर चलेको छलफलपछि तयार पारिएको प्रस्ताव सेनाको शीर्ष नेतृत्वलाई बुझाइएको हो। एक वरिष्ठ सैनिक अधिकारीका अनुसार, “जेन–जेड प्रतिनिधिहरूले पूर्वप्रधानन्यायाधीश कार्कीको नाम अघि सारेका छन्, तर समानान्तर रूपमा अन्य विकल्पबारे पनि छलफल भइरहेको छ।”
जेन–जेड युवाले सामाजिक सञ्जाल डिस्कोर्डमार्फत समेत नेतृत्वबारे बहस गरेका थिए। ती बहसहरूमा पनि कार्कीको नाम बलियो रूपमा प्रस्तुत भएको स्रोतले जनाएको छ। यसक्रममा काठमाडौं महानगरका मेयर बालेन शाहको नाम पनि अगाडि आएको थियो तर प्रत्यक्ष सम्पर्क नहुँदा छलफलमा अघि बढ्न नसकेको जनाइएको छ।
बुधबार बिहान जेन–जेड प्रतिनिधिहरू जंगीअड्डा पुगेका थिए। तर, १५ जना भन्दा बढी व्यक्तिहरू एकैपटक उपस्थित भएपछि सेनाप्रमुखले उनीहरूलाई पहिलो चरणमा आपसमा सहमति गरेर संयोजकसहित आउन आग्रह गरेका थिए। त्यसपछि त्यहीँ भएको आन्तरिक बैठकमा अन्ततः कार्कीको नेतृत्वमा नागरिक सरकार गठन गर्ने साझा प्रस्ताव तयार भएको हो।
तर, सबैको धारणा एउटै थिएन। केही प्रतिनिधिहरूले गणतन्त्र नै खारेज गर्ने विषयमा समेत आवाज उठाएपछि असहमति चर्किएको र सो धारणा बोकेको समूह बैठकबाट अलगिएको स्रोतले बतायो।
सेनाले अब उक्त प्रस्तावका आधारमा सुशीला कार्कीसँग समेत संवाद गर्ने तयारी गरेको छ।
प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२