संयुक्त राज्य अमेरिकामा आगामी नोभेम्बर ३ तारिखका दिन हुने राष्ट्रपतिको चुनावको बारेमा अमेरिकामा मात्र होइन सम्पूर्ण विश्वभरि नै चासो, बहस र गन्थन हुने गरेको छ। प्रत्येक ४ वर्षमा हुने ४६औं राष्ट्रपतिको चुनावमा यो वर्ष रिपब्लिकन पार्टीबाट वर्तमान राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले उम्मेदवारी दिएका छन् भने उनको प्रतिस्पर्धामा डेमोक्रेटिक पार्टीबाट जोसेफ आर. वाइडेन चुनावी मैदानमा छन्।
व्यक्तित्वको आधारमा एक सय ८० डिग्रीको असमानता भएका यी २ प्रतिस्पर्धीमध्ये ट्रम्प विशुद्ध ब्यापारी हुन् भने वाइडेन निकै लामो समयदेखि राजनीति मात्र गर्दै आएका छन्। उनी सन् २००८ देखि २०१६ सम्म लगातार २ अवधि राष्ट्रपति रहेका बाराक एच. ओबामाका सहकर्मी उपराष्ट्रपति हुन्। उपराष्ट्रपतिको पदमा चुनिनुभन्दा पहिले उनले करिब ३६ वर्ष (सन् १९७३–२००९) आफ्नो गृहराज्य डेलावेरबाट संघीय संसदको माथिल्लो सदन फेडरल सिनेटमा प्रतिनिधित्व गरेका थिए।
त्यस्तै वर्तमान राष्ट्रपति ट्रम्प स्त्रीलम्पट, समय समय मा विवादास्पद अभिव्यक्ति दिने र अहंकारी छन् भने वाइडेन शान्त, शालीन र जनाधार भएको नेतामा पर्छन्। साथै ट्रम्प सामाजिक सन्जाल ट्विटरमा पनि सक्रिय छन् तर उनको तुलनामा वाइडेन त्यति सक्रिय देखिँदैनन्।
राष्ट्रपति निर्वाचनमा जित्न यो वर्ष करिब १५ करोड ३० लाख (सन् २०१८ को तथ्यांकअनुसार) मतदाताले दिने प्रत्यक्ष मत (पपुलर भोट) ले मात्र नभएर देशका ५० वटै राज्यमा वितरण गरिएको कुल ५ सय ३८ इलेक्टोरल कलेज भोटको पनि बहुमत (कमसेकम २ सय ७० मत) प्राप्त गर्नैपर्ने हुन्छ। अघिल्लो चुनावमा पपुलर भोट बढी आउँदा पनि इलेक्टोरल भोटले पछि परेकी डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टन पराजित भएकी थिइन्।
चुनावमा कसको जित वा हार होला भन्ने विषयलाई लिएर भएका विभिन्न अड्कलबाजी र मत सर्वेक्षण अनुसार हालसम्म डेमोक्रेटिक पार्टीका उम्मेदवार वाइडेन वर्तमान राष्ट्रपति ट्रम्पभन्दा झिनो प्रतिशतले भए पनि अगाडि छन्। यद्यपि यस्ता सर्वेक्षण अपवादको रुपमा धेरै पटक उत्तानो परेको अर्थात असफल भएको उदाहरण नभएको होइन। तर पनि मत सर्वेक्षक कम्पनी, सञ्चार समूह र विश्वविद्यालयका अनुसन्धान संस्थानले गरेको यस्तो खाले मत सर्वेक्षण विश्वासिलो मानिन्छ र अधिकांश समयमा यस्ता सर्वेक्षणको नतिजा सकारात्मक नै हुन्छन्। साथै अर्को मत के पनि छ भने यस्ता खाले मत सर्वेक्षणहरुमा रिपब्लिकनहरु समावेश नहुने र डेमोक्र्याटिकहरु मात्र समावेश हुने कारण यस्ता मत सर्वेक्षणहरु एकपक्षीय हुन्छन्।
आप्रवासीप्रतिको अनुदार नीति, अश्वेत नागरिकप्रति असमान ब्यवहार, स्त्रीलम्पट स्वभाव, सामाजिक सन्जालमा दिने गैरजिम्मेवार अभिब्यक्ति र बहुमत सांसदविरुद्ध गर्ने बहुलठ्ठी निर्णयका कारण राष्ट्रपति ट्रम्प सधैँ विवादमा रहँदै आएका छन्। साथै कोभिड-१९ महामारीलाई हल्का रुपले लिनु र विज्ञहरुलाई अपमान गर्नु जस्ता क्रियाकलापले पनि वर्तमान राष्ट्रपति ट्रम्पको लोकप्रियता खस्केको छ। तर यसको विपरीत अर्का उम्मेदवार वाइडेन चारित्रिक रूपमा पनि सफा र कहिल्यै विवादमा नआउने नेता हुन्। यस्तै यस्तै कारणले पनि उनी आगामी चुनावमा पराजित हुनसक्ने विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।
आफ्नो दोहोरो मानसिकताका कारण पनि वर्तमान राष्ट्रपति ट्रम्प सधैँ विवादमा रहन्छन्। उदाहरणका लागि चेन माइग्रेसन (छोरा छोरी नागरिक भयो भने बाबु आमा र बाबु आमा नागरिक भयो भने छोरा छोरी स्वतः नागरिक हुने नियम) को कट्टर विरोधी वर्तमान राष्ट्रपति ट्रम्पका सासू र ससुराले यसै नियमको आधारमा अमेरिकाको ग्रिनकार्ड लिएका हुन्।
तर यति हुँदाहुँदै पनि चुनावमा विजयी हुन् प्राथमिक निर्वाचनले महत्वपूर्ण भूमिका खेल्ने कारणले हार र जित यसकै हुन्छ भनेर कठिन हुने अर्काथरि विश्लेषकहरुको विचार छ। उनीहरुका अनुसार यो वर्ष रिपब्लिकनहरु एकजुट भएको र डेमोक्र्याटिकहरु विभाजित भएका कारण वर्तमान राष्ट्र्रपति ट्र्म्प नै दोहरिने छन्, साथै अमेरिकी राष्ट्रपतिको चुनावमा अपवादको रुपमा मात्र नदोहरिने कारणले ट्र्म्प नै विजयी हुने निश्चित छ।
यस्तै केही विश्लेषकहरुका अनुसार धाँधली भए मात्र मैले चुनाव हार्छु र सबैले मलाई २ पटक भोट दिनु भन्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएका कारण ट्रम्प विजयी हुने कुरालाई विश्वास गर्न नसकिने तर कुनै ठोस एजेन्डा प्रस्तुत गर्न नसकेका कारण वाइडेनको जित हुने कुरा निश्चित छैन, यसको अर्थ जसको जित वा हार भए पनि झिनो अन्तरले हुने छ।
यो लेखाइ एक पक्षीय र असन्तुलित नहोस्, पंक्तिकार नर्थ क्यारोलिनाको आर्बर वे भन्ने जुन स्थानमा बसोबास गरेको छ, यो स्थान निकै सानो गाउँ हो। जम्मा ५ हजार जनसंख्या भएको यो स्थान डेमोक्र्याटिक पार्टीका समर्थकहरुको हो जस्तो लाग्छ । यहाँ केवल डेमोक्र्याटिक पार्टीको मात्र चहलपहल छ । रिपब्लिकन पार्टीको कुनै गतिविधि देखिँदैन। यसैलाई लिएर कसले चुनाव जित्छ वा हार्छ भनेर आँकलन गर्न नसकिएला । तर यस्ता स्थान पनि हुँदा रहेछन् भन्ने जानकारी भने अवश्य पाइन्छ।
यी माथिका अनुमान पंक्तिकारको निजी विचार हो। पंक्तिकार राष्ट्रपतिको चुनावमा भोट दिने हैसियत नराख्ने भएकाले यसलाई यही रूपमा लिनु हुन आदरणीय तथा प्रबुद्ध पाठक वर्गमा विनम्र अनुरोध छ। अब चुनावमा कसको विजय वा पराजय हुन्छ त्यसका लागि नोभेम्बर ४ तारिखसम्म कुर्नुपर्ने हुन्छ। तर आजसम्मको चुनावी माहौल आँकलन गर्दा डेमोक्रेटिक पार्टीका उम्मेदवार वाइडेन राष्ट्रपति ट्रम्पभन्दा झिनो अन्तरले भए पनि अगाडि छन्।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०७७