काठमाडौं । काठमाडौंको बौद्धस्थित चुच्चेपाटीमा गएराति एक व्यक्तिले श्रीमती र छोरीलाई तेजाब हानेको भनेर हल्ला चल्यो ।
घटना गम्भीर रहेको भन्दै प्रहरी तत्काल घटनास्थल पुग्यो । तर, अनुसन्धान गर्दा त्यहाँ तेजाब नभई रङमा लगाइने तारपिन तेल छ्यापेको पाइएको छ ।
रङरोगनको काम गर्ने राजन विष्टले घर झगडा हुँदा गएराति श्रीमती र छोरीलाई उक्त तेल छ्यापेका थिए ।
महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले तेजाब हानेको खबर आएपछि प्रहरी टोली पुगेर बुझ्दा तारपिन तेल छ्यापेको पाइएको बताए ।
बढी रक्सी खाइरहने हुँदा विष्टकै कारण बेलाबेलामा घर झगडा हुने गरेको थियो । गएराति पनि सोही प्रक्रिया दोहोर्याउँदा उनले तारपिन तेलले हानेको पाइएको ज्ञवालीले बताए ।
छोरीको आँखामा तेल परेकाले तिलगङ्गा आँखा अस्पतालमा सामान्य उपचारपछि फर्किएको बताइएको छ । आमालाई भने केही भएको छैन ।
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७