प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेकाे वर्तमान शक्तिशाली सरकारले एकदमै अपरिपक्व निर्णयहरु गर्न थालेको छ । बिहान एउटा निर्णय गर्छ, दिउँसो अर्कै । दिउँसो एउटा निर्णय गर्छ, राति फेरि अर्कै ।
पूर्वतयारी, पूर्ण व्यवस्थापन, सतर्कता, सावधानी र सम्बन्धित विज्ञ, सराेकारवाला पक्षसँग समन्वय नगरी काेराेना उच्चस्तरीय समितिका संयाेजकसहित समितिले निर्णय गर्छ । केही घण्टा बित्न नपाउँदै प्रदेशका मुख्यमन्त्री, सराेकारवालाकाे विराेधपश्चात् निर्णय फिर्ता लिन्छ र कार्यान्वयन गर्न सकिने अवस्था नरहेका कारण निर्णय फिर्ता लिएकाे भन्दै गल्ती स्वीकार्नु त कता हाे कता, उल्टै जनतालाई बेवकुफ बनाउँदै मिडियालाई दाेष दिन्छ र सरकार उम्केर चाेखिन खाेज्छ । याेभन्दा सरकारकाे अपरिपक्वता के हुन सक्छ ?
संकटकाे अवस्था भन्दै मिलेमताेमा स्वास्थ्य सामग्री खरिद गर्ने ठेक्का कुनै ग्रुपलाई सुम्पिन्छ र व्यापक विराेधपश्चात् केही समयपछि बहाना बनाई रद्द गर्छ । एकपछि अर्काे संवेदनशील निर्णयमा सरकार चुकिराखेकाे छ । बलियाे सरकारकाे दूरदर्शिता १ घण्टामा मात्र सीमित भएकाे छ । सरकारकाे अपरिपक्व निर्णय शैली र १ घण्टा नटिक्ने दूरदर्शिता हेर्दा वर्तमान सरकारप्रति जनता विश्वस्त हुन सक्ने आधार गुम्दै गएकाे देखिन्छ ।
चैत २५ गते प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दा आलोचकहरुलाई दप्काउने हिसाबले भनेका थिए, ‘संकटको यस घडीमा हामी कहाँ उभिएका थियौँ, हाम्रो ध्यान केमा थियो र हामीले के भूमिका खेलेका थियौं भन्ने मूल्यांकन इतिहासले अवश्य गर्ने नै छ । व्यक्तिको स्मृति छोटो र कमजोर हुन सक्छ, तर इतिहास भने यस मामलामा निर्मम हुन्छ ।’
प्रधानमन्त्री आफैँले भनेका कुरा सरकारका मन्त्रीले सावित गरेका छन्, व्यक्तिको स्मृति छोटो र कमजोर हुन सक्छ । तर संस्थागत एवं इन्स्टिच्युसनल मेमोरीका आधारमा चल्नुपर्ने सरकारको स्मृति सामान्य व्यक्तिको भन्दा कमजोर हुन मिल्दैन । तर, प्रश्न प्रधानमन्त्रीमाथि नै उठ्छ कि यो सरकारको दूरदर्शिता, बौद्धिक क्षमता किन कमजोर बन्दै गइरहेको छ ?
यो सरकारसँग दूरदर्शिता, स्मरण शक्ति बलियो भएको भए उसले उपत्यकाबाट २ दिन यातायात खोल्ने निर्णय गर्नुपूर्व विज्ञहरुसँग यसको प्रभावबारे पक्कै छलफल गर्ने थियो । यो निर्णय गर्दा स्वास्थ्य क्षेत्रका विज्ञहरुलाई मुख्य प्रभावित क्षेत्रहरुका यातायात खोल्दा के-कस्तो समस्या पर्ला भनेर अवश्यै सोध्ने थियो । स्थानीय तह र प्रदेशहरुसँग पनि परामर्श गर्ने थियो । सुरक्षा चुनौतीबारे पनि विश्लेषण गर्ने थियो ।
सरकारसँग दूरदर्शिता र बुद्धि भएकाे भए, विपक्षी दलहरुसँग पनि यसबारे परामर्श गर्नुपर्थ्यो । तर, बालुवाटारको शयनकक्ष र सिंहदरबारको भिडियो रुपमा खुम्चिँदै गएको सरकारको दिमागले १ घण्टा परसम्म पनि सोच्न सकेन ।
विवादास्पद ओम्नी ग्रुपसँगकाे स्वास्थ्य सामग्री खरिद प्रक्रिया रद्द गरी सेनालाई जिम्मा दिने र जिटुजीमार्फत खरिद गर्ने निर्णय सरकारले गर्याे । तर, अहिले फेरि स्वास्थ्य मन्त्रालयले निजी व्यापारीबाटै सामान किन्ने तयारी थालेको छ । सरकारको बौद्धिक दरिद्रताको यो अर्को शानदार दृष्टान्त हो ।
यसअघि एसइईको परीक्षा रोक्ने विषयमा पनि ओली सरकारले बालापन देखाएकै हो । कमसेकम २ दिनअघि स्थगनको निर्णय गरिदिएको भए विद्यार्थीहरु हिँडेर सदरमुकामसम्म जाने थिएनन् । पहिले निर्णय गर्न नसक्ने, अनि परीक्षा सुरु हुने पूर्वसन्ध्यामा स्थगनको सूचना आउँदा दुर्गमका विद्यार्थीले पाउनुसम्म दुःख पाए । ओली सरकारको भरपर्दाे दूरदर्शिता, स्मरण शक्ति बलियो भएको भए यस्तो अपरिपक्व र कच्चा काम सायदै हुने थियो ।
ओली सरकार समयमा निर्णय गर्न नसक्ने, सही निर्णय गर्न नसक्ने र गरेको निर्णयमा अडिन नसक्ने बौद्धिक दरिद्रताको मुख्य कारण सामूहिक निर्णय नहुनु, निर्णयपूर्व सामूहिक छलफल नहुनु । साँघुरो घेराबाट सरकार चलाउन खोज्नु नै हो । जे निर्णय गर्दा पनि सानो समूहबाट निर्णय हुन्छ । त्यसैले उनीहरुको बौद्धिकताले अहिलेको संकटमा उपयुक्त निकास निकाल्न सक्दैन । सबैको दिमागले चलेको भए बिहान एउटा, बेलुका अर्को निर्णय लिनुपर्ने स्थिति आउने थिएन ।
कांग्रेस पार्टीका नेता, विज्ञहरुले सर्वपक्षीय संयन्त्र बनाउदा काेराेनासँग प्रभाववकारी रुपमा लड्न सहज हुने मतहरु राख्दै आएका छन् । हुन पनि ईश्वर पोखरेलको नेतृत्वमा गठित समितिको बौद्धिक क्षमता विस्तार गर्ने हो भने सर्वदलीय वा सर्वपक्षीय संयन्त्र बनाउने र त्यसमार्फत निर्णयहरु लिने हो भने अहिलेको भन्दा परिपक्वता आउन सक्ने देखिन्छ । तर विडम्बना सरकारले अरु दलको त कुरै छाडौँ, आफ्नै पार्टीभित्र पनि ओली गुटको भरमा मात्रै महामारीविरुद्ध लड्न सक्छु भन्ने छोटो बुद्धि लिएको देखिन्छ ।
विपतका बेला सरकारलाई सघाउन सबै विपक्षी दलहरु, मिडिया, बौद्धिक समुदाय र नागरिक समाज हातेमालो गर्न तम्तयार भएर बसेका छन् । सरकारले सबैलाई साथमा लिएर अगाडि बढ्न सक्नुपर्छ । त्यसका निम्ति सरकारकाे अहम्, प्रम ओलीकाे घमण्डभन्दा प्रभावकारी समन्वय, सही बुद्धि, सामूहिक छलफलसहितकाे दूरदर्शिता आवश्यक देखिन्छ । तब मात्र मानव सभ्यतामाथि नै टड्काराे बनेकाे काेराेना भाइरस काेभिड-१९ काे महामारीलाई सबै मिलेर जित्न सकिन्छ र सरकारकाे दूरदर्शिता प्रभावकारी देखिन्छ ।
प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६