म यतिबेला अमेरिकामा आफ्नै घरभित्र बन्द अवस्थामा बसिरहेको छु । अमेरिका आएको ४ दशकयता मैले अमेरिका यसरी ठप्प भएको पहिलो पटक देखिरहेको छु । संघीय रुपमा औपचारिक रुपले लकडाउन घोषणा नगरिएको भए पनि यस देशका फरकफरक राज्यले अनौपचरिक रुपले नै लकडाउन गरिसकेका छन् । अझ यसो भनौँ सरकारी तवरबाट लकडाउनको घोषणा नभएको भए पनि जनस्तरबाट अमेरिका पनि आजको दिनमा लकडाउनकै अवस्थामा छ ।
कहिल्यै नसुत्ने अमेरिका पनि दिउँसै सुतिरहेको यो दर्दनाक अवस्था यसअघि मैले कहिल्यै देखेको थिइनँ । अरुभन्दा शक्तिशाली देखाउन राष्ट्रपति ट्रम्पले अमेरिका बन्द गर्न बनेको देश होइन भने पनि अमेरिका कैयौँ दिनदेखि नभनेरै बन्दको अवस्थामा छ । विगत ४० वर्षदेखि अमेरिकामा अध्यापन र अनुसन्धानमा सक्रिय म यतिबेला यो महामारीले विश्वमा मच्चाइरहेको तबाही आफ्नै घरभित्र बसेर हेरिरहेको छु ।
आफू मेडिकल सोसोलोजीको अध्येता भएका कारण पनि विश्वका देशहरूको स्वास्थ्य व्यवस्थापनमा थोरबहुत जानकारी राख्छु । लामो समयदेखि अमेरिकामा कर्मथलो बनाएको भए पनि कुनै न कुनै रुपमा नेपालसँग निरन्तर जोडिँदै आएको छु । त्यस हिसाबले हेर्ने हो भने वर्षमा करिब ३ महिना नेपालमै रहने गरेको पनि छु । बढी समय अमेरिकामा बसे पनि मेरो थातथलो नेपाल हो, मेरो मातृभूमि नेपाल हो । त्यसैले आजसम्म मैले मेरो मातृभूमिसँगको नाता तोड्न सकेको छैन । याने आज पनि नेपालकै नागरिकतावाहक भएर मैले संसार घुमिरहेको छु । यसबारेमा मेरो आफ्नै सोचाइ छ– आमा एउटा मात्रै हुन्छन् । त्यसैले मेरो नागरिकता सधैँ नेपाली नै हुन्छ, कर्म जहाँ गरे पनि ।
मेसिन जस्तै अमेरिका र अमेरिकी जिन्दगीमा गहिरिएर सोच्ने फुर्सद कहिल्यै हुँदैनथ्यो हामीलाई । मलाई मात्रै होइन, विकसित देशमा आफ्नो भविष्य अज्माइरहेका लाखौँ नेपालीको अवस्था पनि लगभग त्यही हो । तर आज जनजीवन ठप्प भएको छ । खानपिनका सामग्री लिने कामबाहेक कैयौं दिनदेखि हामी घरमै थुनिएका छौँ । हो, यस्तो बेला मनमा अनेकौं तर्कना र सोचहरू आइरहेका छन् ।
महामारीको तबाहीले आफू बसिरहेको देश अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । तर म र मेरो मन नेपालमा छ । नेपालका पहाड, कुना कन्दरामा गरिबी र भोकमरीसँग जुधिरहेका नेपाली जनताको अनुहार मेरा आँखाअगाडि नाचिरहेका छन् । सोचिरहेको छु, यस्तो स्वास्थ्य अवस्था चुस्त दुरुस्त अमेरिका मात्रै होइन, सामाजिक सुरक्षा जसभित्र स्वास्थ्य सेवा पनि पर्दछ, त्यसमा अमेरिकाभन्दा पनि अब्बल मानिएका इटाली, स्पेन जस्ता युरोपेली देशले समेत घुँडा टेकिरहेका बेला मेरो मातृभूमिमा यो महामारीको रुप बढ्यो भने के अवस्था होला ? आफू त्यही क्षेत्रको अध्येता भएका कारण पनि मलाई नेपालको स्वास्थ्य क्षेत्रको अवस्था र व्यवस्थापनबारे राम्रो जानकारी छ । त्यसैले म डराइरहेको छु कि नेपाल यस्तो महामारीसँग कसरी जुध्न सक्ला भनेर ?
आजसम्म औपचारिक रुपले नेपालमा ९ जना मात्रै यस भाइरसका संक्रमित रहेको सरकारले पुष्टि गरेको छ । केही समय अघिसम्म निरन्तर चलिरहेको अन्तर्राष्ट्रिय विमानस्थल, भारतसँगको खुला सिमाना र महामारी पुष्टि भइसक्दा पनि भारतबाट प्रवेश जनलहर र राजधानी काठमाडौँबाट देशका अन्य ठाउँमा भएको आवागमनले के भन्न सकिन्छ भने संक्रमितको संख्या सरकारले देखाएकोभन्दा अवश्य बढी हुने छ ।
भलै पशुपतिनाथको कृपा मातृभूमिप्रति सदाझैँ परिरहोस् र सरकारले भनेकोभन्दा बढी संख्या त्यहाँ नदेखियोस् । तर बिडम्वना के छ भने एकातिर नेपाल सरकारसँग यस्तो महामारीको बेला अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरूको सुरक्षाका लागि न आवश्यक पर्ने पिपिई छ न रोग लागेको या नलागेको बारे पत्ता लगाउने टेस्टिङ किट नै । महामारीको त्रासले त्रस्त रहेका जनतालाई समयमै स्वास्थ्य सामग्री खरिद गरी आश्वस्त पार्नुको सट्टा उल्टै यस्तो महामारीको मौका छोपी मालामाल हुने गाईजात्रा नेपालको सरकारमा बस्नेहरूले देखाएका छन् ।
सुन्दै पीडा हुने यस्तो घिनलाग्दो हर्कत सायद कुनै पनि मुलुकका कुनै पनि शासकले गर्दैनन् होला । तर स्वयं जिम्मेवरी लिएर बसेका त्यस्ता शासकहरू जो महामारीमा पनि पुस्तौँ पुस्तालाई मालामाल गर्ने सोचमा छन्, हो उनीहरूले शासन गरेको हाम्रो मातृभूमि यस भाइरसको साँच्चिकै चपेटामा परेको अवस्थामा के होला ? यो नै आजको मुख्य चिन्ताको विषय हो ।
एकातिर किट ल्याउने काममै भ्रष्टाचार भएको डरलाग्दो तथ्य सार्वजनिक भएको छ भने अर्कातिर ल्याएका किटहरू पनि नक्कली छन् । उदेकलाग्दो कुरा के छ भने आज सारा विश्व यो महामारीको लडाइँमा छ । विश्व समुदायले समेत कोरोना महामारीको यो सन्दर्भमा कहाँ के भइरहेको छ भन्ने कुरा चसोका साथ हेरिरहेको छ । यस्तो पीडादायक महामारीको चपेटामा आफ्ना जनता पर्न लाग्दा पनी यही महामारीको निहुँमा भ्रष्टाचार गर्न तम्सिने नेपाली शासकहरूको त्यो आँटलाई के संज्ञा दिने ? दुनियाले घृणा गर्ने यस्तो आपराधिक कर्म गर्न यहाँहरूलाई के ले उत्साहित ग¥या हो ? ठूलो स्वरमा सोध्न मन छ ।
ए मित्रहरू ! कम्तीमा हामीलाई संसारमा नेपाली हुँ भनेर लज्जित हुनुपर्ने वातावरण त निर्माण नगरिदिनुहोस् । बिन्ती छ, अरुबेला तपाईंहरू जति कुम्ल्याउनुहुन्छ तपाईंहरूकै मर्जी यस्तो महामारीको बेलामा त धैर्य गरिदिनुहोस् । दुनियाँले घिन गर्ने यस्तो घिनलाग्दो हर्कत गरेर देशकै नाममा संसारमा बदनाम त नगर्नुहोस् । विदेशमै बस्ने भए पनि नेपाली नागरिकको तर्फबाट यति चाहिँ विषय बाहिर गएर यहाँहरूलाई सुझाव दिने चेष्टा गरियो ।
फेरि विषयमै जाऊँ । अब यस्तो डरलाग्दो अवस्थामा रहेको नेपालमा बिरामीको संख्या कसरी एकिन गर्ने त्यो नै सबैभन्दा चुनौतीपूर्ण छ । अझै यी स्वास्थ्य सामग्री कहिले आउने भन्ने एकिन भइसकेको छैन । यस्तो बेलामा स्वास्थ्य मन्त्रालयका अधिकारी भनिरहेका छन्– उपचारमा नाईनास्ती गर्ने चिकित्सक, स्वास्थ्यकर्मीको लाइसेन्स रद्द गरिने छ । हो, यहीँबाट हो महामारी बढ्ने र जनताले दुःख पाउने । त्यो उपचारमा संलग्न हुनेहरू आफू सुरक्षित भए पो जनताको जीवन रक्षा गर्न सक्छन् । नभए उल्टै तिनै स्वास्थ्यकर्मीका कारण थप नोक्सान हुने अवस्था आउला । त्यसैले यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिनुभन्दा पनि स्वास्थ्यकर्मीलाई सुरक्षित बनाई विश्वासमा लिने र एकजुट भएर ढोकैमा आउन लागेको महामारीविरुद्ध एकजुट हुने बेला हो यो ।
नेपालको वर्तमान वस्तुस्थिति मैले माथि चर्चा गरेकोभन्दा सायद भिन्न छैन भने अब यतिन्जेल भए गरेका कुराहरू छोडेर अब के गर्ने भन्नेतर्फ लागौँ । सायद नेपालका प्रधानमन्त्री जसले यो बदमासीको आभास पाए र आगामी दिनमा पनि यस्तै संरचनाहरूको बिश्वसामा रह्यो भने देशको अवस्था नाजुक हुने र जनताको जीवन तहसनहस हुनसक्ने आँकलन गरेरै अब स्वास्थ्य सामग्री ल्याउने जिम्मा नेपाली सेनालाई दिएका छन् । हामी अन्यथा छैनौँ भने नेपालमा आज पनि जनताले विश्वास गर्ने सबैभन्दा बलियो संस्था नेपाली सेना हो । हामी कसैले पनि यो कुरा बिर्सनुहुँदैन कि विगतमा देशले भोगेका सबै विपतहरूको डटेर सामना गरेको पनि नेपाली सेनाले नै हो ।
सरकारले गरेको निर्णयउपर पनि फेरि नेपालमा फोहोरी राजनीति सुरु भइसकेछ । यो निर्णयको आलोचना गरिरहेका तप्काहरूको तर्क छ– अहिले नै सेनालाई सहभागी गराउने बेला भएको छैन । म भन्छु यो पनि ढिला भयो । किनकि सम्भावित महामारीबाट जनता बचाउन यसअघि नै राज्यको एक महत्वपूर्ण अंग सेनालाई सहभागी गराउनुपथ्र्यो । उनीहरूको भनाइमा के केही सय मानिसको मृत्यु हुनुपर्ने हो र ? के केही सय मानिसको मृत्यु भएपछि अवस्था सम्हाल्न गाह्रो भएपछि बल्ल सेना गुहार्नुपर्ने थियो र ?
राज्य र राज्यका अंगको काम महामारीबाट मानिस मरिसकेपछि सक्रिय हुनेभन्दा पनि त्यस्तो महामारीको अवस्था आउनुपूर्व नै सावधानी अपनाएर जनताको जीवन रक्षा गर्नु हो । फेरि देशमा संकट आउँदा, विपद् पर्दा वा महामारी आउँदा राज्यको सबैभन्दा महत्वपूर्ण र बलियो संस्था परिचालन नगरे कुन बेला गर्ने ? स्वास्थ्य सामग्री खरिद कुनै सामान्य अवस्थाका बेला भइरहेको किनमेल हो र ? विश्वले यस्तो असामान्य अवस्थाको हरतरहले सामना गरिरहेको छ । यही अमेरिकाको न्युयोर्कमासमेत सेना परिचालन भइसकेको छ त्यहाँको अवस्थासँग लड्नका लागि । र इटाली जस्ता देशमा त आफ्नो देशको सेना मात्रै होइन, चिनियाँ सेनासमेत उपचारका सामग्रीसहित आइसकेको छ । चिनियाँ सेना भन्नुको मतलब चीन सहयोगसहित इटालीमा पुगेको छ । त्यहाँका सबै संरचना सबै त्यहाँको पार्टी मातहत हुने गर्छन् । सरकार या सेना त्यहाँ सबै पार्टीकै मातहत हुने कुराहरू हुन् ।
त्यस्ता आलोचकहरूले के नेपालमा आइपर्ने समस्याको आकार धेरै ठूलो होस् र त्यसको समाधानका लागि विदेशी सेना गुहार्नुपरोस् भन्ने हो कि ? यस्तो कठिन अवस्थाको डरलाग्दो चित्र आफ्नो देश प्रवेश गर्दै गर्दा त्यसलाई रोक्न सेनासहित राज्यका सबै संरचना परिचालन गर्नु, परिचालित हुनु कुन नयाँ विषय भयो र ? त्यति मात्रै होइन आफ्ना आँखाअगाडि देशलाई अप्ठ्यारो प¥यो भने सेनालाई कसैले परिचालन गरिरहनुपर्छ र ? त्यो आफैँ देश र जनताको रक्षाका लागि अघि बढ्छ र बढ्नुपर्छ होइन र ? सेना देश र समग्र जनताको मात्रै होइन । हरेक व्यक्ति आफ्ना आँखाअगाडि समस्यामा परे त्यसको सुरक्षा दिने र आश्वस्त तुल्याउने काम उसको होइन र ?
यस सन्दर्भमा मलाई एउटा पुरानो घटना याद आउँछ । यतिबेला सेनालाई महामारीविरुद्ध अघि सार्ने सरकारको कदमका विरुद्ध कन्दनीदेखिको बल प्रयोग गरेर विरोध गरिरहेको एक सञ्चारमाध्यममाथि अराजक समूहले कुनैबेला धावा बोल्यो । उसका भौतिक संरचनामा आगजनी गरियो । त्यस्तो घटना प्रहरीले समाधान गर्न सक्ने अवस्था रहेन । हो त्यस्तो बेला नजिकै रहेको सेनालाई खबर गर्दा उनीहरूको जनधनको सुरक्षा भएको थियो । यतिबेला पत्रिकाका पानाहरूमा सैनिक शासन नै आउन लागेको हो कि भने झैँ गरी सेनाविरुद्ध विष बमन गर्नुपूर्व एकपटक आफैँमाथि आइलागेको त्यो घटना त्यसका सञ्चालक र पत्रकाहरूले सम्झिएको भए हुन्थ्यो नि ! मानिलिऔँ त्यसको भिड नियन्त्रण गर्ने काम प्रहरीको हो । हामी आउँदैनौं भनेको भए अहिले लेख्ने कतिपयहरू त्यहीबेला त्यो अराजक भिडको सिकार भइसक्ने थिए कि ।
यस्तै देश पनि त्यही हो, जहाँ आउन लागेको महामारीका विरुद्ध सेना सक्रिय नभएर टुलुटुलु हेरेर बस्ने होइन । फेरि सेना नेपालको संविधान, लोकतान्त्रिक प्रक्रिया र लोकतान्त्रिक विधिबाट निर्वाचित सरकारको आदेश र निर्देशन बमोजिम नै काम गर्ने हो र उसले त्यसबारे आफ्ना धारणा पनि दिइसकेकोे छ । म त भन्छु यस्तो महामारीको पूर्वसन्ध्यामा सेनालाई अघि सार्ने कामको विरोध गर्नेहरू कि त देश साँच्चिकै महामारीमा जाओस्, स्थिति सम्हाल्न विदेशीलाई गुहार्नुपरोस् भन्ने देश विरोधी हुन्, कि त यो खरिदका नाममा कमिसनबाट वञ्चित हुँदै गरेका बिचौलियाहरू ।
के नेपालको संकटको बेला सेनालाई अघि सारिएको यो पहिलो पटक हो र ? तराई मधेसमा हावाहुरीबाट भत्किएका घर निर्मणदेखि भूकम्पबाट तहसनहस भएको जनजीवनलाई लयमा ल्याउन पनि सेनाले अग्रमोर्चामा रहेर भूमिका निर्वाह गरेकै होइन र ? पहाडमा पहिरो जाओस् कि तराईमा डुबान, जता पनि सेनालाई उद्धारदेखि राहतसम्म अघि सार्ने गरिएको थिएन र ? त्यसैले हरविषयमा राजनीति गर्ने नेपालीहरूको यो बानी कम्तीमा यस्तो महामारी संघारमा आउँदा चाहिँ बदलिएको भए हुन्थ्यो । उनीहरूका शंका उपशंकाबारे यत्ति भनौँ यो उनीहरूको बेमौसमको बाजाबाहेक केही होइन । त्यसैले अब नेपालले सेना मात्रै होइन, सेनासहित सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित यो महामारीविरुद्ध सक्रिय रुपले परिचालन गर्नुपर्छ ।
सेनाका ५ हजार र बाँकी अन्य सुरक्षा निकायका गरी स्वयं उनीहरूसँग ७ हजारभन्दा बढी चिकित्सक र स्वास्थ्यकर्मी छन् । ३ वटै सुरक्षा निकायमा अनुशासित र संगठित दस्ता छ । यो सबैलाई प्रभावकारी ढंगबाट परिचालन गर्नुपर्छ । र अर्को कुरा के बुझ्न जरुरी छ भने सेना सक्रिय भएर मात्रै हुँदैन, सेनासँगै देशका वरिष्ठ चिकित्सकहरूको टोलीलाई अग्रमोर्चामा खटाउनुपर्छ भन्ने कुरा नेपाल सरकारले भुल्नु हुँदैन ।
यसरी चिकित्सक, स्वास्थ्यकर्मी, सेनालगायत सबै सुरक्षा निकायको सहकार्यबाट मात्रै नेपालले यो गम्भीर महामारीको समाना गर्न सक्ने छ । नत्र सानो सानो कुरामा राजनीति गर्दै जाने र महामारीमा पनि भ्रष्टाचार गर्दै जाने हो भने नेपाली जनतालाई हाम्रा आराध्यदेव पशुपतिनाथले बाहेक कसैले बचाउन सक्ने छैन । सबैले मनन गरौँ ।
(लेखक मायामी विश्वविद्यालय, अमेरिकामा प्राध्यापन गर्छन्)
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६