समाचार टिप्पणी
काठमाडौँ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रत्येक दिन चार्टर विमानहरू विश्वका विभिन्न देश उडिरहेका छन् । कोरोनासँग जुधिरहेका विभिन्न देशले नेपालमा रहेका आफ्ना नागरिकहरूलाई हरेक दिन विमान चार्टर गरेर आफ्नो देश लगिरहेका छन् ।
जुन जुन देशले आफ्ना नागरिक नेपालबाट विमान चार्टर गरेर लगेका छन्, ती देशमा नेपालको तुलनामा कोरोनाको महामारी जटिल छ । उनीहरूको तुलनामा यतिबेला बरु हाम्रै देश नेपाल सुरक्षित छ । तर जब संकटको अवस्था आउँछ, हर कोही नागरिकले आफ्नो मातृभूमि सम्झन्छ । राष्ट्रियता, देश, नागरिकता र पहिचान जस्ता कुराहरू यस्तै संकटका लागि त चाहिने हुन् ।
यो बीचमा नेपालबाट अन्य देश मात्रै होइन, कोरोनाको महासंकटबाट थिलथिलो भएका युरोपेली देशले पनि आफ्ना नागरिकलाई विमान चार्टर गरी आफ्नो देश फर्काएका छन् । राष्ट्रियता देशको आवश्यकता हुँदैन थियो त त्यहाँका नागरिक कुनै पनि कोणबाट त्यहाँको भन्दा नोपलमै सुरक्षित थिए । तर ती देशले आफ्नो अवस्था नाजुक भएकाले यस्तो अवस्थामा तिमीहरू आफ्नो देशमा होइन, पराइको भूमिमा बस भनेर भनेनन् । किनकि त्यहाँ भावनामा बहकिने राष्ट्रियता होइन, व्यवहारमा लागू हुने राष्ट्रियता छ । त्यहाँ हाम्रो देशको जस्तो सुनिने तर नदेखिने राष्ट्रियता होइन पुरापुर देखिने राष्ट्रियता छ । त्यसैले त ती मुलुकले एकपछि अर्को विमान पठाएर आफ्ना विश्वभर छरिएका नागरिकलाई आफ्नो मातृभूमि ओरालिरहेका छन् ।
यो संकटको बेला कोही पनि आफ्नै घरमा आफ्नै आफन्तसँग सुरक्षित भएको महसुस गर्छ । यस्तै संकटको बेला हो हरकोही नागरिकले आफ्नो देश खोज्ने । आफ्नो नागरिकता पल्टाउने अनि पहिचान खोज्ने । यस्तै संकटको बेला हो मानिसलाई उसको राज्य चाहिने उसको अविभावक चाहिने । यही जिम्मेवारी र कर्तव्यले थिचिएर होला विश्वका विभिन्न नागरिकलाई उनीहरूको आफ्नो घर लैजान हरेक दिन हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर विमानहरू उडिरहेका छन् । किनकि ती देशमा हाम्रो जस्तो कोरा राष्ट्रवाद होइन जनतालाई संकटको बेला काम लाग्ने वास्तविक राष्ट्रवाद छ र राष्ट्रवादी सरकार छ ।
आफ्नै राष्ट्रिय ध्वजावाहक विमान भाडामा लिएर विश्वका कैयौं देशले आफ्ना नागरिक आफ्नो देश ओसारिरहेको आफ्नै आँखाले देखेको नेपाल सरकार भने यस्तो संकटको बेला आफ्नै नागरिकलाई आफ्नै सिमानामा अलपत्र पारिरहेको छ । अरु बेला त मुटुभरी देशको माया साँचेर, नेपाली नागरिकता सिरानीमा पोको पारेर बालबच्चा पाल्न र जीवन चलाउन भारतका गल्लीमा नेपालीहरूले दुःख पाइरहेकै छन् । उनीहरू यसो पनि भन्न सक्थे– हामी भारत जाँदैनौ हामीलाई क्षमता र गच्छे अनुसारको काम आफ्नै देशमा देऊ र रोजीरोटीको ग्यारेन्टी गर । किनकि हर नागरिकलाई आफ्नै देशमा रोजीरोटीको माग गर्ने अधिकार छ ।
र सरकार चलाउनेहरूको जिम्मेवारी पनि हो नागरिकलाई आफ्नै देशमा रोजीरोटीको ग्यारेन्टी गर्ने । तर यहाँ न सरकार चलाउनेहरूले त्यो जिम्मेवारी कहिल्यै पूरा गरे न त नागरिकहरूले नै त्यस्तो माग गरेर आन्दोलन गरे । आफ्नो देश कमजोर छ भन्दै चुपचाप यही देशको परिचय लिएर भारतका गल्ली गल्लीमा चौकीदारी गर्न गए । अरबका मरुभूमिमा पसिना बगाउन गए । मलेसियादेखि विश्वका कैयौं देशमा रोजीरोटीका लागि भौँतारिए ।
एकातर्फ उनीहरूले सरकारले पूरा गर्नुपर्ने दायित्व आफैँले दुःख र संघर्ष गरेर पूरा गरे भने अर्कातर्फ रेमिटेन्सको माध्यमबाट सके जति देशलाई पनि योगदान गरिनै रहे । गाँसको व्यवस्था आफैँ गरे, बासको व्यवस्था आफैँ गरे । चुपचाप देशलाई पनि राजस्व र रेमिट्यान्स बुझाइरहे । न देशसँग कहिल्यै गुनासो गरे न देशसँग कहिल्यै केही माग नै गरे ।
भोको पेट नै सही यो देशका लागि सधैँ तावेदारी गरिरहे । नेपाली नागरिक हुनुमा सधैँ गर्व गरे । त्यसैले त उनीहरूले सरकारले जारी गरेका जायज नाजायज सबै फर्मान खुरुखुरु मानिरहे । किनकि ती निमुखा जनता यो देशलाई अति माया गर्छन् । ती निमुखा जो खाडीदेखि भारतका गल्लीमा आफ्नो रोजीरोटीका लागि अपमान सहिरहेका छन्, उनीहरू सबैभन्दा बढी यो देशलाई माया गर्छन् ।
अरु बेला एकहोरो यो देशलाई गुन लगाइरहेका तिनै निमुखाले यतिबेला जब संकटको अवस्था आयो, तब देशलाई जीवनमा एकपटक गुहार लगाए । वर्षौंदेखि जतन गरिराखेको प्राणभन्दा प्रिय देशको नागरिकता सुम्सुम्याँउदै हामी नागरिकता विहीन होइन, हाम्रो पनि देश छ नेपाल भनेर भने । तर देशका शासकहरूले आफ्ना जनतामाथि परेको यस्तो विपत र आइलागेको यस्तो संकटको बेला मुख मोड्ने काम गरिरहेको छ ।
आफ्ना नागरिकलाई आफ्नो देश आउनबाट वञ्चित गरिरहेको छ । यस्तो बेला आफ्ना नागरिक कता छन् कस्तो अवस्थामा छन् भनेर खोजीखोजी आफ्नै पहलबाट उनीहरूलाई आफ्नो देशभित्र ल्याएर तिमीहरू एक्लै छैनौ हामी छौँ साथमा भनेर राहत महसुस गराउने बेला आफ्नै संघर्षमा देशको सिमानामा आएका आफ्नै निमुखा जनतालाई देश प्रवेशमा रोक लगाउने काम गरिरहेको छ हाम्रो सरकार ।
जनतालाई देश चाहिएको, सरकार चाहिएको र आफ्नो पहिचान चाहिएको यस्तै बेला हो । उनीहरू भनिरहेका छन्– हामी मरे पनि आफ्नै माटोमा मर्छौँ कृपया कम्तीमा हामीलाई यो पराई भूमिमा नराख । सुरक्षा र सावधानीका जे जे चरण पार गर्नुपर्ने हो हामी आफ्नै मातृभूमिमा गर्छौँ । कम्तीमा हामीलाई यस्तो संकटको बेला यो पराईको माटो क्रस गरेर आफ्नो माटोमा पाइला राख्न देऊ ।
अहँ यो राज्य सुन्ने पक्षमा छैन । उनीहरूलाई सिमाना क्रस गर्न दिइरहेको छैन । यस्तो बेला हर कोही देशले आफ्ना नगरिकको सुरक्षाको जिम्मा लिइरहेको छ । त्यो भारत होस् कि अन्य कुनै देश जसले पनि सबैभन्दा पहिलो प्राथमिकता आफ्नै नागरिकको सुरक्षामा दिइरहेका छन् । भारतमा रोजीरोटीका लागि संघर्ष गरिरहेका नेपालीहरूले पनि आफ्नो देश छ भन्दै अनेकौं हन्डर खाएर नेपालको सिमानामा आइपुगे । मातृभूमिको सिमानामा आइपुग्न पनि उनीहरूले कैयौँ कष्ट सहनुपर्यो । भारतका विभिन्न कुनामा रहेका उनीहरूलाई कहिले कता पठाइयो कहिले कता जाउ भनियो ।
ठक्कर हन्डर खाँदै अन्तिममा कैयौं दिन पैदल हिँडेर जब उनीहरू मातृभूमिको सीमामा आइपुगे, तब उनीहरूले लामो सास फेरेका थिए । उनीहरूले सोचेका थिए जति दुःख सहेर भए पनि अब त मातृभूमि आइपुगियो । कम्तीमा अब त अपमान सहनुपर्ने छैन । जे जस्तो दुःख हुन्छ आफ्नै भूमिमा सहौँला । जे जस्ता सुरक्षा र सावधानीका चरणहरू पार गर्नुपरे पनि आफ्नै मातृभूमिमा गर्नुपर्ला । तर उनीहरूको सोचमा पानी त्यतिबेला फ्याँकियो जतिबेला आफ्नै मातृभूमिको ढोका खोल्न आफ्नै राज्यले मनाही गरिदियो ।
सायद कैयौं दिनको भोको पेट र संघर्षबाट थिलथिलो भएका ती जनताका लागि त्योभन्दा ठूलो पीडा अरु के हुन्थ्यो र ? सायद भौतिक रुपमा त उनीहरू जहाँ छन्, जुन हालतमा छन् बाँची नै रहेका छन् । तर आफ्नै राज्यले गरेको यस्तो दुव्र्यवहारले उनीहरू भावनात्मक रुपमा मरेतुल्य भइसकेका छन् । उनीहरुको मनबाट यो राज्यप्रतिको मोह त कहिल्यै भंग हुँदैन । तर यो देशका शासकहरूप्रतिको मोह भने अवश्य भंग भइसकेको होला । राज्य हुँदा हुँदै पनि टुहुरो जस्तो हुनुपरेको त्यो क्षण हरकोही नेपालीका लागि सह्य छैन ।
राज्यले आफ्नै घरको ढोका नखोलिदिएपछि पारि धारचुलामा रहेका कैयौं नेपालीले मृत्युसँग पौँठेजोरी खेल्दै महाकालीमा हामफाले । राज्य छ, देश छ, शासन गर्नेहरू पनि छन्, तर यसरी महाकाली नदीमा हामफालिरहेका नागरिकप्रति कुनै दायित्व नभएको झैँ गरी उनीहरू भारतमै बस्नुपर्छ भनेर भनिरहेका छन् ।
संघीय सरकार छ, प्रदेश सरकार पनि छ । त्यति मात्रै होइन नजिकको सरकारको रुपमा स्थानीय सरकार पनि छ । तर कसैलाई पनि आफ्ना नागरिकमाथि भएको त्यो अपमानले पोलेन । नाम मात्रैको सरकारले केही हुँदैन । आफ्नै नागरिकलाई धरधरी पराई भूमिमा रुवाएर यहाँ शासनमा बसेर के अर्थ होला र ?
यता भैरहवामा नेपाल आउन लामो पर्खाइमा बसेका सयौँ नेपालीले आफ्नो भूमि प्रवेश नपाउँदा रुवाबासी गरेका छन् । उनीहरूको रोदनले न काठमाडौँको सरकारलाई पोल्यो न केही किलोमिटर नजिक बुटवलमा रहेको प्रदेश सरकारलाई । आउन नपाएपछि उनीहरू आफ्नो कोही नभएको शैलीमा गला अवरुद्ध पार्दै भारतमै शरण लिन बाध्य भए । त्यसरी संकटको बेला मुख मोडेको आफ्नै राज्यप्रति उनीहरू भनिरहेका थिए– यस्तो संकटमा काम नलागेको राज्य अरुबेला के काम ?
सरकार भनिरहेको छ– उनीहरूलाई प्रवेश गर्न दिँदा रोगको महामारी झन बढ्ने छ र यहाँ रहेकाहरू पनि महामारीको सिकार हुन्छन् । त्यसैले भावनाले होइन कठोर भएर निर्णय लिनुपर्छ । उनीहरूले कहाँ भनेका थिए र मातृभूमि आउनेबित्तिकै हामी घर जान्छौँ भनेर । क्वारेन्टाइन बस्छौँ तर आफ्नै मातृभूमि कम्तीमा पराइको सीमापारि गएर क्वारेन्टाइन हुन्छौँ भनेर उनीहरू भनिरहेका थिए ।
तर आफ्नो सीमावारि क्वारेन्टाइन बनाएर उनीहरूलाई राख्न समेत यो सरकारले सकेन । योभन्दा अर्को लाचारी अरु के होला ? यस्तो संकटको बेला पनि नागरिकलाई अभिभावकत्व दिन नसकेको सरकारबाट अरुबेला नागरिकले के आशा गर्ने ? कम्तीमा आफ्ना नागरिकलाई आफ्नो मुलुक आउन दिएर राज्यले तयार गरेका क्वारेन्टाइनमा राख्न सक्नुपथ्र्यो कि पर्दैनथ्यो ?
भारतमै राख्ने सहमति भए किन कुनाकुनाबाट भारतले नेपाली नागरिकलाई सीमासम्म पुर्यायो होला त ? आफ्ना नागरिकको जिम्मा हामी लिँदैनौ भन्नुभन्दा अर्को गैरजिम्मेवार अभिव्यक्ति अरु के होला र ? कम्तीमा अभर परेका आफ्ना नगरिकका लागि सीमामा ठुल्ठुला स्केलमा क्वारेन्टाइन तयार गरी राख्न पनि नसक्ने यो देशमा सरकार छ भनेर कसरी ढुक्क हुने ?
आफ्नै नागरिकलाई देशभित्र प्रवेश गर्न नदिने सरकारको यो निर्णय कसरी र कुन हिसाबले ठिक हो भन्न सकिएला र ? यहाँ कसैले बिना कुनै सावधानी उनीहरूलाई नेपाल प्रवेश गर्न दिएर आआफ्नो घर जान दिनुपथ्र्यो भनिएको पक्कै होइन । र त्यो भन्न पनि मिल्दैन । देश लकडाउमा छ ।
जनता बचाउन योभन्दा अर्को उपयुक्त विकल्प अरु अहिले छैन पनि । तर पराइ भूमिमा अनेकौं हन्डर खाएर दुःख कष्ट सहेर आफ्नो सीमामा पुगेका आफ्ना नागरिकलाई कम्तीमा सीमावारि बोलाएर क्वारेन्टाइन गर्दै हामी साथमा छौँ भन्ने सन्देश दिनुपथ्र्यो । जिम्मवरी बाट बन्छिनुमात्रै सावधानीको बाटो थिएन र त्यसैले जिम्मेवारीबाट पन्छिन पनि मिल्दैन ।
अब यतिबेला अस्ट्रेलियाका प्रधानमन्त्रीले पहिलो वर्ष मात्रै भएका विद्यार्थीलाई कष्ट भए आफ्नो देश फर्किन भनिरहेका छन् । उनको भनाइमा आफ्ना नागरिकको सुरक्षा पहिलो दायित्व भएकाले नयाँ विद्यार्थीलाई राहत दिन नसक्ने आसय देखिछ । यस्तो बेला त्यहाँ रहेका नेपाली विद्यार्थीलाई राज्यले आफ्नो भूमिमा ल्याउनुपर्छ कि पर्दैन ?
यति मात्रै होइन, विश्वभरी रहेका नेपाली जो अध्ययनको सिलसिलामा छन्, उनीहरू मातृभूमि आउन चाहे ल्याउने कि जिम्मेवारीबाट पन्छिने ?
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६