प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर चौथो जन्म प्राप्त गरेका छन । धर्तीमा उत्रिनु, जीवन र मरणको दोसाधमा चौध बर्से कठोर जेल जीवन बिताउनु, पहिलो पल्ट मिर्गौला प्रत्यारोपण गर्नु र फेरि दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरेर उही जोश, जाँगर र आत्म विश्वासलाई दुनियाका सामुन्ने प्रस्तुत गर्न सक्नु चानचुने कुरा होइन ।
स-साना रोग, व्यवधान र समस्याबाट आत्तिनु र निरास हुनु मानिस जातिको स्वभाव हुन्छ । हामीले जीवनमा यस्ता अनेकौं मानिसहरु देख्छौं । तर प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवनलाई पढ्ने हो भने उपरोक्त कुराहरु देखिँदैनन् । उनको राजनीतिक जीवनलाई सरसर्ती सम्झने हो भने कठिनभन्दा कठिन घडीमा पनि हिम्मत, साहस र आत्मविश्वास मात्र प्रकट भएको देखिन्छ । मानौँ कि उनको शब्दकोशमा हार नामको शब्द नै छैन । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर तेस्रो मृत्युलाई जितेका प्रधानमन्त्री ओलीका सामुन्ने अब देश र जनताका लागि गर्नुपर्ने धेरै अवसर र सम्भावनाहरु छन ।
पहिलो कुरा त प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको घटनाले नेपालको औषधि विज्ञानको भरोसा र प्रतिष्ठा अन्तर्राष्ट्रिस्तरसम्म प्रचारित भएको छ । अस्पतालको शय्याबाट हँसिलो मुहार बनाउँदै अब १५ वर्ष ढुक्कसँग देश र जनताका निम्ति काम गर्न सक्छु भन्ने जुन इच्छा शक्ति प्रधानमन्त्रीले प्रकट गरेका छन् त्यसले नेपाली जनताको सुख समृद्धिमा नयाँ आशा र भरोसा पलाएको छ ।
"आफ्ना आँखाहरुले ताराहरुलाई हेर र आफ्ना पाइतलाले जमिनमा टेक" संयुक्त राज्य अमेरिकाका २६औं राष्ट्रपति थिओडोर रुजवेल्टका जीवनपयोगी प्रेरक भनाइहरु प्रधानमन्त्री ओलीका सन्दर्भमा मेल खान्छन् ।
रुजवेल्ट यति हिम्मतिला थिए कि दोस्रो पटकको राष्ट्रपतीय निर्वाचनको प्रचार प्रसारका क्रममा भाषण गरिरहका बेला उनीमाथि गोली प्रहार भयो । उनको छातीमा गोली लाग्यो । घाइते अवस्थामै टसमस नभई उनले आफ्नो भाषण पूरा गरे । मुखबाट रगत ननिस्किँदासम्म मरिन्न भन्ने उनलाई आत्मविश्वास थियो । उनी ढलेनन् । उनले दर्शकहरूलाई भने- सज्जन वृन्दहरू, मलाई गोली लागेको तपाईहरूलाई थाहा भयो कि भएन । तर त्यस्ता गोलीले “बुल मुज (साँढे जरायो)” लाई मार्न सक्दैन । उनको आत्मविश्वास देखेर सबै छक्क परे ।
युवा अवस्थामा राष्ट्रपति बनेका रुजवेल्टले जसरी हिम्मतका साथ अमेरिकालाई सुख र समृद्धिको मार्गमा डोर्याए त्यसैगरी प्रधानमन्त्री ओलीले पनि नेपाल र नेपालीलाई डोर्याउन सक्छन् । किनभने पछिल्ला घटनाक्रमले ओली समस्याबाट डराएर भाग्ने नेता होइनन् भन्ने पुष्टि हुँदै आएको छ ।
अहिलेको नेपाली पुस्ताले छोटो अवधिमा समृद्ध बनेका देशहरुको कथा सुनेका, पढेका र देखेका छन् । २०४६ सालपूर्व एकाध नोकरशाह र थौरै व्यवसायीहरुले दुनियाका समृद्ध देशको यात्रा गरेका हुन्थे । ती देशहरुको वैभव, विकास र उन्नत जीवनशैली देखेर स्वदेश फर्केका उनीहरुले सुनाउने वास्तविक कथाहरु हामीलाई सपना जस्तै लाग्थे । तत्कालीन शासकहरुलाई ती समृद्धिका कथाले कति असर गर्यो वा गरेन इतिहास साक्षी छ । तर अहिले स्थिति फरक छ । नेपालीहरु संसारका सबै कुनामा पुगेको अवस्था छ । अझ उच्च शिक्षाकालागि विदेशिएका नेपाली युवाहरुको संगत समृद्ध देशका युवाहरुसँग छ । यो संगतले जसरी उनीहरुले आफ्नो देशलाई समृद्ध बनाए त्यसैगरी नेपाल समृद्ध बन्न सक्छ त भन्ने प्रश्न नेपाली युवाहरुको जिब्रोमा झुण्डिएको छ । यही प्रश्नको उत्तर दिने प्रयास गरिरहेका छन् प्रधानमन्त्री केपी शर्मा ओली ।
माओवादी सशस्त्र विद्रोहको विसर्जन लगत्तै यो देशको विकास र समृद्धिका पक्षमा चर्को नाराहरु लगाइए । कसैले १० बर्षमा स्वीट्जरल्याण्ड बनाइदिन्छु भने कसैले सिंगापुर त कसैले मलेसियाको उदाहरण पनि दिए । राजनीतिक परिवर्तनपछि छोटो समयमा समृद्ध बनेका देशहरुको बाहिरी फिनिसिङ मात्र हेरेर हाम्रा नेताहरुले केही बर्ष भाषण ठोके । २०७० को संविधानसभाको दोस्रो निर्वाचन पछाडि त्यस्ता भाषणहरु अहिले प्राय सुनिँदैनन् । तर प्रधानमन्त्री ओलीले कसैको देखासिकीभन्दा पनि नेपाल आफ्नै मोडेल र मेहनतका बलमा विकसित हुन्छ भन्ने विचार दिँदै आएका छन् ।
देश र जनताको नेतृत्व गर्न धेरै नेताहरुले अवसर पाउछन् । तर उल्लेख्य र स्मरणयोग्य काम गरेर पहिचान बनाउने नेता थोरै मात्र हुन्छन् । तिनै नेताहरुको सधै जयजयकार भइरहन्छ । त्यस्तै मध्येका एक हुन्- आधुनिक मलेसियाका विकास सूत्रधार महाथीर मोहम्मद र सिंगापुरका असल पिता ली क्वान यु । यी दुवै जनाले आफ्ना देशलाई कसरी प्रगती पथमा डोर्याए भन्ने कुरा इतिहासका पन्नामा जीवन्त बनेर रहेका छन् ।
सिंगापुर स्वतन्त्र बनेपछि लि क्वानका अगाडी अनेक चुनौति थिए । इण्डोनेसिया र मलेसिया दुई असहयोगी मुलुकहरूको बीचमा नयाँ देशका रूपमा सिंगापुरलाई स्थापित गराउन चुनौतिका चाङ थिए । तीन लाख मानिस वेरोजगार थिए, बहुसंख्यक नागरिक गरिबीको मारमा थिए । प्राकृतिक स्रोत र साधन केही थिएन । तर लिले हिम्मत हारेनन उनले भ्रष्टाचार शून्य शासन व्यवस्था, लगानी मैत्री वातावरण, लगानीको सुरक्षा ग्यारेन्टीमा जोड दिए फलस्वरुप सिंगापुर एसियामा आर्थिक हबका रूपमा उदाउँदै गयो ।
त्यस्तै छिमेकी मूलुक चीन र भारतले पनि इतिहासमै पहिलो पल्ट सी जिङ फिङ र नरेन्द्र मोदी जस्ता भिजनरी नेता पाएका छन् । यी दुबै सत्तामा नियमित दोस्रो कार्यकालको नेतृत्व गरिरहेका छन् । दह्रो इच्छा शक्ति र दृढ संकल्पका कारण यी दुई छिमेकी राष्ट्र प्रमुखले गर्दा अहिले चीन र भारत विश्वमै शक्तिशाली राष्ट्रका रूपमा उदाइरहहेका छन् । यी दुई देशको बीचमा हामी छौं । हामीसंग चट्टान जस्तो बलियो दिल भएका प्रधानमन्त्री ओली छन् । यो नै नेपाल र नेपालीका लागी इतिहास बदल्ने अवसर हो । राहुल सांस्कृत्यायनले भनेका छन, ‘दुनियाँदेखि भाग्ने होइन, त्यसलाई बदल्ने हो ।’
अस्पतालको शैयामा रहेका प्रधानमन्त्री ओलीलाई चीन र भारतका राष्ट्र प्रमुखहरुले सुस्वास्थ्य र दीर्घायूको कामना व्यक्त गर्दै सन्देश पठाउनुले पनि ओलीको अन्तराष्ट्रिय छवी प्रशंसनीय रहेको हामीले बुझ्नु पर्छ । प्रधानमन्त्री ओलीले बोकेको सुखी नेपाली समृद्ध नेपालको नारालाई साकार पार्न राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थति अनुकुल रहेको छ । दुई तिहाईको बलियो सरकार छ । देशवासीको प्रगाढ माया र स्नेहपनि ओलीलाई प्राप्त छ । रोगलाई जितिसकेका प्रधानमन्त्री ओलीले अब छिट्टै काममा फर्किने उदघोष पनि गरिसकेका छन् ।
वितेका दुई बर्ष प्रधानमन्त्रीका लागि विकास र समृद्धिको भिजन प्रस्तुत गर्नमा खर्च भए । यो कार्यकालमा अब करिब ३ बर्षको समय सरकारसंग रहनेछ । यी तीन बर्ष प्रधानमन्त्री ओलीका लागि अत्यन्त चुनौतीका बर्ष हुनेछन् । यस अवधीमा गर्नु पर्ने केही महत्वपूर्ण कामहरु प्रधानमन्त्रीले गर्नुपर्ने हुन्छ । पहिलो काम भनेको सरकारका मन्त्रीहरुको कार्यसम्पादनको मूल्यांकन गर्नु हुनेछ । केही मन्त्रीहरुको कार्यसम्पादन सन्तोषजनक नभएको जनगुनासा छन् । उसो त पहिलो चरणमा केही मन्त्रीहरुको हेरफेर भइसकेको छ । तर अब दोस्रो पटक पनि कमजोर कार्यसम्पादन भएका मन्त्रीहरुलाई विदाई गरेर योग्य मान्छेलाई मन्त्रीको कुर्सीमा राख्नु पर्नेछ । त्यसैगरी प्रदेश सरकारको कार्यसम्पादनको मूल्यांकन गर्न पनि विलम्व भइरहेको छ । प्रदेश सरकारहरुले पनि जनताको चाहना र भावना अनुसार काम गरेको देखिएको छैन । कार्यसम्पादन निरासाजनक छ । तसर्थ प्रदेश सरकारका मौजुदा मुख्यमन्त्री र मन्त्रीहरुको फेरबदल गर्ने बेला आइसकेको छ । प्रधानमन्त्री ओलीले अब मुख्यतया यी दुई कामहरु गर्न ढिलाई गर्नु हुदैन ।
देशको सुख र समृद्धिको बाधकका रुपमा रहेको भ्रष्ट्राचार नियन्त्रण सरकारकालागि एउटा भयंकर चुनौतीका रुपमा देखापरेको छ । भ्रष्टाचारले देशको अर्थतन्त्रलाई क्रोनी बनाइदिएको छ । नेता, व्यापारी र कर्मचारीको मिलोमतोमा हुने भ्रष्टाचारले क्रोनी अर्थतन्त्रको जरालाई मलजल गरिरहेको छ । वितेका दुई बर्षमा भ्रष्टाचारका मुद्धामा नाम चलेका व्यापारीदेखि, कर्मचारी र राजनीतिज्ञहरु दोषी पाइएका छन् । दिनदिनै भ्रष्टचारीहरु पक्राउ परिरहदा सर्वसाधारण जनतामा खुसी छाउने गरेको छ । अस्पतालबाट नियमित काममा फर्केपछि प्रधानमन्त्रीले भ्रष्टाचारलाई जरैबाट उखेल्ने थप संकल्पका साथ काम गर्नु पर्ने हुन्छ ।
प्रधानमन्त्री ओलीले जुन संकल्पका साथ मुलुकको आर्थिक समृद्धि र सुशासनको भावी प्रारूप कोरेका छन्, अब त्यो संकल्पलाई नेपालको प्रशासनयन्त्रले पनि गम्भीरतापुर्वक आत्मसात गर्न जरुरी छ । ओलीसंगै सिंगो टिम र प्रशासनिक संयन्त्र हिँड्न सक्यो भने अबको तीन वर्ष भित्रै मुलुकले विकास र समृद्धिमा धेरै सफलता हासिल गर्न सक्ने अपेक्षा गर्न सकिन्छ ।
जसरी सिङ्गापुरमा लिले मुलुक निर्माणमा कसैसँग गलत सम्झौता गरेनन् त्यसैगरी ओलीले पनि सम्झौता नगर्ने इमानदारी र प्रतिवद्धता वितेका दुई वर्षमा देखाएका छन् । तर, ओलीमा पर्याप्त कठोरता देखिएको छैन, ओली अझै दृढ र लक्ष्यमा पुग्न कठोर हुन सक्नुपर्छ । कठोर भएकै कारणले विरोध हुन्छ कि भनेर हच्किने छुट ओलीलाई छैन । विकास र समृद्धिका लागि आवश्यकता अनुसार ओली निर्मम हुनै पर्छ ।
आर्थिक समृद्धिका लागि प्रतिवद्ध र सवल नेतृत्व चाहिन्छ । समृद्धिका लागि आशा र उत्साह चाहिन्छ, भविष्यप्रतिको विश्वाश चाहिन्छ, नेपालसँग त्यो सबै छ । नेपाललाई ‘नेपाल’ बनाउने प्रतिवद्धता प्रधानमन्त्री ओली र उनको पार्टी नेकपामा देखिन्छ । यो प्रतिवद्धतालाई जनताले पनि कटिवद्ध भएर साथ दिनुपर्छ, त्यसो भए मात्र ‘सुखी नेपाली, समृद्ध नेपाल’ साकार हुनेछ ।
प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६