–उमेश भट्टराई
मेरो बुबा घरका परिवार सबै कांग्रेस हो । घर परिवार कांग्रेस भएकै कारणले गर्दा म पनि बाध्यताले गर्दा कांग्रेस भएँ । कहिलेकाही कांग्रेस हुनकै लागि जन्मिएको जस्तो लाग्थ्यो । नबुझदादेखि बुझ्दासम्म हेर्दा कांग्रेसको आजसम्म भोट माग्ने शैली उस्तै देख्छु । “तेरो घर परिवार कुन पार्टी ? कांग्रेस, अब भोट कांग्रेसमा हाल्नुपछ’’, “घामले पोल्दा शितल कसले देख्छ ? रुखले, अब भोट रुखमा हाल्नुपर्छ’’ भन्ने बाहेक अरु भिजन, एजेन्डा केही सुन्न पाईन । आजसम्म पनि कांग्रेसले यही शैली प्रयोग गर्छ । भोट माग्नलाई । जब केही नयाँ कुरा बुझ्दै गए मेरो कांग्रेस प्रतिको मोह घट्दै गयो ।
जब मन्छेको अध्ययनको दायरा बढ्दै जन्छ तब उ कांग्रेसमा आइडोलोजिकल्ली नै अटाउनै सक्दैन । किनकी कांग्रेस एउटा यस्तो पार्टी हो, जसले नेपाली समाजको सामाजिक आर्थिक अवस्थाको अध्ययनसम्म गर्न सकेको छैन । बैठकमा छलफल, विचार–विमर्श भन्ने कुरै आउँदैन । मात्र योजना बन्छ त कसरी चुनाव जित्ने ? कांग्रेसलाई लाग्छ त, चुनावदेखि चुनावसम्म मात्र लाग्छ । जनताको दुःख, गरिबी, अभाव, विभेद, हक अधिकार केही लाग्दैन । कांग्रेस भनेको परिस्थितिको दासी हो ? यसकारण कांग्रेस पार्टी होइन यो त धर्म हो धर्म । जहाँ मानिस अन्धभक्त भएर जय–जयकार गर्छन ।
उ ठिक बेठिक, न्याय–अन्याय, सामाजिक अवस्था, थिचोमिचो, विकृती–विसङ्गतीको विषयमा केही चासो राख्दैन र परिवर्तनको पक्षमा बोल्न पनि चाहादैन । स्वयम् आफ्ना युवा कार्यकर्तालाई नयाँ कुरा सिकाउन चाहदैन । दुःख ती नौजवान तन्नेरीदेखि लाग्छ पनि जो आफुलाई काका भन्दा मानपदवी पाएजसरी गर्व गर्छन । आफ्नो पार्टीमा भएको चरम भ्रष्टाचार, विकृती, अराजकता, बर्बरता विषयमा आवाज उठाउन समेत सक्दैन्न कांग्रेस । ती न्यायको, परिवर्तनको पक्षमा बोल्न नसक्ने युवाबाट समाजले के आशा राख्ने ? यस्तो युवापुस्ताबाट देशले के पाउने ? कांग्रेस समयानुकूल हुनै सक्दैन । कार्यकर्तालाई जिम्मेवारीवोध होइन लोभबोध बनाईरहेको छ कांग्रेसले । कार्यकर्तालाई टुक्रे स्वार्थमा रमाउन सिकाउछ कांग्रेसले ।
धमिरा जसरी यो देशलाई कमजोर बनाउने पार्टी हो कांग्रेस । बारम्बार भारतीय हस्तक्षेप, नाकावन्दी, देशको सीमा अतिक्रमण, सीमा रक्षक गोविन्द गौतमको मृत्युु, भारतीय ज्यादती थिचोमिचोको सवालमा किन मौन बस्छ कांग्रेस ? उसको विद्यार्थी संघ किन राष्ट्रियताको सवालमा मौन बस्छ ? उसले आफ्ना विद्यार्थी कार्यकर्तालाई के सिकाउदै छ ? कांग्रेसको नेतृत्वमा त्यो मान्छे मात्र पुग्छ जो भारतीयको गुलामी गर्ने सपथ खान्छ । मुलतः कांग्रेस नेपाली जनताको पार्टी नभई भारतको खेलौना त बन्दै छैन ? तपाईं तबसम्म कांग्रेस हो जबसम्म कांग्रेसलाई बुझ्नु हुन्न । जुन दिन कांग्रेस बुझ्नु हुन्छ । त्यो दिनदेखि तपाईं कांग्रेसमा रहनुहुन्न ? यो कुराहरू सबैले दिमागमा लेखेर राख्दा हुन्छ ।
पोहोर साल मात्रै एमाले सरकारले बृद्ध, अपांग लगायत सामाजिक सुरक्षा भत्ताहरु दोब्बर बढायो तर कांग्रेसलाई टाउको दुख्यो । स्थानिय गाँउ र नगरमा आउने केन्द्रिय बजेट त्यहि अनुपातमा बढाइयो, त्यसले त कांग्रेसलाई पुरै ज्वरो नै खनियो । अनि खुलमखुल्ला कांग्रेस नेताहरुले भने ‘एमालेले देशको ढुकुटी जनतालाई बाँडेर रित्यायो । द्रुतमार्ग भारतलाई नदिने र स्वदेशी लगानीमै बनाउने निर्णय सुनेपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई यो पटक झन तनाव भो र उनले भने द्रुतमार्ग निर्माणको जिम्मा भारतलाई नै दिनुपर्छ हामीले बनाउन सक्दैनौँ । पूर्व–पश्चिम रेल कुदाउने तयारी सुनेर पुरै कांग्रेस छक्क पर्यो र उसले आपत्ति जनायो । नेपालमै यस्तो कसरी हुनसक्छ ? यस्तो हुँदै हुदैन । अनि कांग्रेसले नेपाल विद्यार्थी संघलाई सडकमा उतारेर कागजको रेल सडकमा कुदाएर जनताको सपना र देशको उज्यालो भविष्यप्रति नै मजाक गर्यो ।
संविधान जारी भएर देश स्थायित्व र विकासको बाटोमा अघि बढेपछि देशीविदेशी प्रतिक्रियावादीहरुलाई मन परेन र भारतले हाम्रो स्वाभिमान र सार्वभौमसत्तालाई झुकाउने आशयका साथ महिनौँ नाकाबन्दी लगायो । जनताले भारतीय विस्तारवादको रवैयाको खुलेर बिरोध गर्दै डटेर त्यसको सामना गरे र सरकारलाई कुनैपनि चुनौतिसँग नझुक्न खवरदारी गरे । एमालेले जनताको भावनालाई नेतृत्व प्रदान गर्दै विस्तारवादी रबैयालाई समाप्त नगरेसम्म संघर्ष गरिरह्यो । तर, देशको ठुलो पार्र्टी कांग्रेस कानमा तेल हालेर बस्या । विस्तारवाद मुर्दावाद भन्न सकेन उसले, भारतको बिरोध गर्न कांग्रेसका नेताहरुको सामथ्र्यले भ्याएन । बोल्नलाई ओठ र उभिनलाई खुट्टा काँपिसकेपछि अन्ततः उसले भारतले नाकाबन्दी लाएको कुरालाई मौन समर्थन गरेझैँ गर्यो । अन्ततः निर्लज्ज रुपमा कांग्रेसले संसदीय जोड घटाउको फोहोरी खेल खेल्दै सरकार गिराउने काममा माओवादीलाई प्रयोग गर्यो । कांग्रेस, माओवादी लगायतका दलहरुले नेपाललाई विदेशिको क्रिडास्थल बनाइरहेको सर्वविविदै छ । (प्रस्तुत विचार लेखकको निजी हो ।–सम्पादक)
प्रकाशित मिति: सोमबार, चैत २१, २०७३