नेपालबाट गरिने भारतीय राजनीतिको विश्लेषण सधैँ नेपाल-भारत सम्बन्धको सापेक्षतामा गरिएको छ, अथवा यता हाम्रा आफ्नै राजनैतिक विचार र आग्रहको सापेक्षतामा गरिएको छ । त्यसैले, अहिले मोदीको सुनामीलाई नेपाली दक्षिणपन्थीले उत्सव ठाने । नेपाली वामन्थीका ओठ सुके ।
नेपालका दक्षिणपन्थी, विशेष गरी हिन्दुत्ववादीले ठाने— हिन्दुत्वकै एजेन्डाबाट मोदी आए । खास कुरा त्यो होइन । र मोदीको लालकृष्ण अडावानीको लाइनसँग नमिलेको कुरा भनेकै यही थियो । मोदी पूर्णतः जनमुखी विकासकै एजेन्डामा सफल भएको देखिन्छ । कारण, भारतको पूर्वोत्तर, पूर्णतः ईशाइबहुल क्षेत्र हो, जहाँ न हिन्दुत्वको कुनै एजेन्डा छ, न आरएसइसको उल्लेख्य प्रभाव छ । तर विगतको एक दशकमा ती पहाडमा अभूतपूर्व विकास भएको छ । र अहिले, मोदी लहरको सुनामी छ । उत्तरप्रदेश र विहारका मस्लिमबहुल क्षेत्रमा मोदी मोदी भएको देखिन्छ । त्यहाँ समीकरण धर्मको थिएन । विकासकै थियो । धर्मको पनि पूरै थिएन भन्न नमिल्ला । तर मूल मुद्दा धर्म थिएन ।
नेपाली वापन्थीले भने, सबै सरकारी अवयव कब्जा गरेर मोदीले जिते । भगवाकरण गरे । यसको अर्थ भारतका जनता मूर्ख हुन्, र जसले बिन बजायो त्यतै लट्ठ पर्छन् भन्ने मोनगत विश्लेषणबाट त्यो चिन्तन ग्रसित छ । भारतका अतिविकसित सरहमा उच्च शिक्षा प्राप्त गरेका मतदाता पनि विकासको लहरमा मोदीसुनामीमा एकाकार भएको देखिन्छ । त्यसैले, यताको टाउकोदुखाइ पनि खासै वस्तुगत देखिँदैन । सेक्युलर समाजवाद हाम्रो आग्रह होला । तर त्यस चिन्तनको विकल्पमा कसैले सांस्कृतिक राष्ट्रवाद र विकासको मिश्रित मोडेल तयार गर्छ र सफल हुन्छ भने, हामीले पढ्न बाँकी एउटा नयाँ सिद्धान्त पनि रहेछ भनेर अध्ययन पो गर्ने हो । एउटा अध्येता वा विश्लेषकका लागि यो त एउटा चासोको विषय हो, नकि डाइरियोको ।
खासमा कुरा अर्कै देखिन्छ । सन् १९२५ देखि यो संघपरिवार नामक एउटा राष्ट्रवादी संगठनले भारतमा निरन्तर काम गरेको देखिन्छ । आरएसएस र त्यसका भगिनी संस्थाले करिब एक शताब्दी भारतमा सांस्कृतिक राष्ट्रवादको जग खडा गरेको देखिन्छ । मात्र सांस्कृतिक राष्ट्रवाद त्यसको एजेन्डा रहँदासम्म धर्म अगाडि र विकास पछाडि रह्यो । फलतः भाजपाको प्रभाव सीमित रह्यो । मोदीको गुजरात मोडलको अपार सफलतापछि जब संघको त्यस सांस्कृतिक राष्ट्रवादमा विकासवाद घेलियो, भारतमा चमत्कार भयो, राजनीतिमा ।
संघसँग युवा, यवती, मजदूर, किसान, जनजाति, यद्योगी, दलित, हरिजन, विद्यार्थी, राजनीतिज्ञ — सबैका लागि एकै विचारका अनेक पेशागत संगठन छन्, भागिनी संस्था छन् । र ती संस्थाको कार्यपद्यति पर्णतः भारतसम्मत छ, र त्यगको बुनियादमा खडा छ । घरघर पुग्छन् । सादा जीवन बाँच्छन् । सबैसँग घुलमिल हुन्छन् । संसारमै कतै पनि देखिँदैन त्यस्तो संरचनाको सांगठनिक सञ्जाल । र त्यो, चुनाव आउँदामात्रै होइन, सधैँ काम गरिरहेको देखिन्छ ।
संघवृक्ष फैलिँदै जानु, र विपक्षीमा नेतृत्वको अभाव र आत्मविश्वासको ह्रास हुँदै जानु मोदी सुनामीको एउटा बलियो कारक हो । लाग्छ, भारतमा विपक्ष नै छैन, आजको घडीमा ।
यो मोदीमन्त्र हो । तर पनि, मोदीको सबैभन्दा ठूलो कमजोरी भनेको छिमेकनीति हो । मोदी वा भाजपाले विगत एक दशकमा कुनै पनि छिमेकीको विश्वास जित्न नसकेको सत्य हो । कुनै पनि छिमेकी मुलुकका जनताको नैतिक समर्थन जित्न नसकेको पनि सत्य हो । उनले आफूलाई एउटा देशको नेताबाट क्षेत्रकै एक विराट प्ररकको रूपमा विकसित हुनु छ भने, यतातिर ध्यान जानै पर्ने देखिन्छ । छिमेकी देशका जनता रुष्ठ हुनुले मोदीलाई त खास असर नपर्ला, तर उनको व्यक्तित्व विरोधाभासपूर्ण देखिनु उनकै लागि पनि सुखद कुरा त होइन नि । उनले छिमेकीलाई दया वा वेवास्ता होइन, विश्वासपात्र बनाएर लान सक्नुपर्छ ।
भारतका आजका जनता तिनै जनता हुन्, जसले कुनै बेला भाजपालाई धूलो चटाए । अहिले कांग्रेसलाई चटाए । बामपन्थीलाई पहिल्यै पत्ता साफ पारे । मोदीको लिक ठीकठाक भएन भने फेरि लड्डु लड्डु हुँदाहुँदा मोदीलाई पनि धूलो चटाउन तिनै जनता जाग्छन् । खासमा, जनता कसैका हुँदैनन् । कुनै विचारका पनि हुँदैनन् । जनता फगत विकासका हुन्छन् । भारतमा, नेपालमा, अथवा विश्वको कुनै पनि कुनामा । कारण- बाँच्नु, र सुखी भएर बाँच्नु मान्छेको पहिलो नैसर्गिक आवश्यता हो । विचार? पेट भरिएपछि र ज्यान छोपिएपछिको कुरा हो ।
(लेखककाे फेसबुक वालबाट लिइएकाे)
प्रकाशित मिति: शनिबार, जेठ ११, २०७६