सन् २००५ मा अमेरिकामा भयङ्कर विनासकारी आँधी आयो र त्यसको नाम राखियो क्याट्रिना । मान्छेको नाम कसरी राखिन्छ भन्नेसमेत थाहा नहुने म जस्तालाई आँधीको नाम कसरी र किन अनि कसले राख्छ होला भन्ने थाहा हुने कुरा भएन । तर म सोही दिनको बिहान मात्र टोकियोको एउटा होटलमा पुगेको थिएँ र भर्खर टिभी खोल्दै थिएँ । अधिकांश च्यानलहरू जापनी भाषामा थिए तर ती सबैको सारमा एउटा शब्द भने प्रष्टसँग बुझिन्थ्यो– क्याट्रिना । भर्खरै बारामा आएको आँधीको नामको बारेमा पनि हामीले नामकै ‘कन्फ्युजन’ व्यहोर्यौँ ।
पछि सुनियो– अमेरिकामा त्यो नामबारे निकै ठूलो बहस भयो, विरोध पनि भयो किनभने क्याट्रिना युएसएको लोकप्रिय तथा प्रयोग भएको मध्येको तेस्रो नाम हो । विनासकारी आँधीको नाम जो कसैले सुन्न चाहन्नन् र अप्रिय हुन्छन् । त्यसको नाम आफ्नो नामसँग जोडेकामा कसको चित्त नदुख्ला र ?
‘तँ त साह्रै बिग्रिस् नि बद्री’, ‘ध्रुवे हाती’ जस्ता केही सन्दर्भ मात्र होइन, ‘अर्थ न वर्थ गोविन्द गाई’ जस्ता उखानले पनि त हामीलाई समेत बेलाबेला झस्क्याउँछन् । कहिलेकाहीँ त हसाउँछन् पनि ।
यो सन्दर्भ किन आयो भने मलाई मेरो नाम खासै राम्रो लाग्दैन अझ पक्कै लाग्दैन तर मलाई सर्वाधिक प्रिय संसारमा कोही छ भने मै छु कि मेरो नाम छ, मन नपरेर के गर्नु ! तसर्थ, यो प्रश्न गर्न सकिन्छ कि नाममा के छ आखिर ? त्यो त एउटा संकेत न हो ।
हो, तपाईं भन्न सक्नु हुन्छ ? सबै भन्दा प्रिय नाम कुन हो आजसम्म तपाईंको भोगाइमा ? सुन्दा वाहियात प्रश्न तर उत्तर साह्रै कठिन हगि ! प्राविधिक र व्यावहारिक हिसाबले त आफ्नै नाम भइहाल्यो तर दिलमै छोएको, दिमागमा रहेको अनि बेलाबेला मीठो स्मृति दिने, जुन सम्झँदा पनि एक किसिमको रोमाञ्चकता प्राप्त हुने । म व्यक्ति होइन, नाम शब्दको मात्र कुरा गर्दै छु ।
मेरो केही हजार मित्र होलान् यो दुनियाँमा । ती अधिकांशका नाम फरकफरक छन् । तर आजसम्म मेरो दिमागमा मेरो अतिनै घनिष्ठ साथीसंगीको नाम पनि ‘वाओ’ भन्ने लगेनन् है ! किन ढाँटनु !
प्रकट पंगेनी ‘शिव’को गजलकी पात्र हुन् या अन्य साहित्यकारहरूका प्रिय सिम्बोल नामहरू, उहाँहरूका लागि कसरी प्रिय भए होला ? उहाँहरूकै मुखबाट सुन्न पाए कति रमाइलो हुन्थ्यो होला हगि !
नाम जे होस्, जस्तो होस्, काम ठूलो र महत्त्वपूर्ण कुरा हो भन्नेमा कुनै विमति छैन । गोरो व्यक्तिको नाम कालीप्रसाद, गरिबको नाम धनबहादुर, लुरेको नाम लम्बोदर अनि पढाइमा कमजोर छात्राको नाम सरस्वती पनि छ हाम्रो समाजमा । त्यसो हो भने नामकै लागि किन संसारमा युद्ध भएको होला ? त्यो व्यक्ति, समाज या राष्ट्रकै नाम किन नहोस् । नामकै कारणले किन कसैप्रति सकारात्मक र नकारात्मक धारणा बनेको होला यसको उत्तर भने कसैसँग छैन । राम्रो र स्मार्ट नामको लोभमा आफ्नो पुरानो नाम परिवर्तन गरेर आफ्नो पेसामा सफल भइने भए नेपाली फिल्मका कलाकारहरूले आज कलिउडको के कुरा, बलिउड र हलिउड पनि कब्जा गरिसकेका हुने थिए ।
कम्पनीहरू आज पनि आफ्नो उत्पादनको नाम छान्न वर्षौं मिहिनेत गर्छन्, के देखेका छन् तिनले पनि नाममा ? आफ्नो नाम नराम्रो भयो भनेर आत्महत्यासम्म गरेका थुप्रै उदाहरण छन् भारतमा त झन् ।
मलाई भने आजसम्म सर्वाधिक राम्रो र प्रिय लागेको नाम हो– वसु ।
मेरो दिमाग र दिलमा रहेको, एक्लै सम्झँदा पनि प्रिय लाग्ने नाम कुनै छ भने फेरि भन्छु– वसु । यहाँलाई लाग्न सक्ला त्यो कुनै प्रेमिका या पूर्वप्रेमिकाको नाम होला । त्यो केही होइन र आज मात्र सुनेँ, खासमा वसु भन्ने त कसैको नाम होइन रे– उपनाम पो रे !
नाम होस् या उपनाम, यति प्रिय किन लागेको होला मलाई ? जुन बेलामा म ट्रेड युनियनमा संलग्न थिए, त्यो बेला त्रिभुवन विश्वविद्यालयमा मास्टर्स गरिरहेका एक हुल विद्यार्थी सम्पर्कमा आए– कुनै विषयमा थेसिस गर्न– मेरो क्षेत्रको बारेमा केही सहयोग गरिदिनुपर्ने आग्रहसहित । त्यसमा कोको थिए, मलाई आजसम्म सम्झना छैन तर एउटा थेसिसमा मेरो नाम उल्लेख भएको अलिक याद छ मलाई । हो, त्यही ग्रुपमा कसैले, कतै, कुनै बेला उच्चारण गरेको नाम हो– वसु । कसैको उपनामको रूपमै सही । नाम होस् कि उपनाम मलाई के मतलब, मलाई प्रिय लागेको त मान्छे त होइन नि– नाम पो हो ।
त्यति बेला एक पटक नयाँ बानेश्वरको बसस्टपमा संयोगले देखेको हो वसुलाई, भेटेको होइन है ! र, आजसम्म हाम्रो कुराकानी सम्पर्क अनि सन्चो बिसन्चो पनि थाहा छैन किनकि मैले माथि नै भनेँ कि मलाई मान्छे होइन, वसु नाम पो प्रिय हो ।
तसर्थ, यी १२ वर्ष मैले त वसु बिर्सिनँ, वसुले भने सम्झनु कल्पनाबाहिरको कुरा भयो । केही वर्षअघि वसुको विवाह भयो भन्ने सुनेँ, त्यही ग्रुपको कसैबाट । विवाह होस् कि नहोस्, जोसित होस्, त्यो पनि मेरो विषय भएन ।
गत नोभेम्बर २८ तारिख बार्सिलोना एयरपोर्टमा उत्रिएँ म– अण्डोरा जानका लागि । युरोपमै रहेकी राधा कणेल, जो वसुकी सहपाठी पनि हुन्, उनीसँग भेट गरियो र चार घण्टाको बस यात्रा सुरु गरियो । बसले जब बार्सिलोना शहर छोड्यो, राधाजीको मोबाइलमा कसैले कुरा गरेको सुनेँ– पल्लोपट्टिको सिटबाट । ध्यान दिने कुरा भएन– कोही आफन्तसितको कुराकानीमा । जब कुरा सकियो उनीहरूको, तब थाहा भयो कि त्यस बेला राधाजीसँग कुरा गर्ने व्यक्ति उनै वासु पो रहिछन् ।
माया, करुणा, सदाचार र मिहिनेतको गाथा सुनेर हुर्किएकी तिमी चरम उपभोक्तावाद, निराशा, कुण्ठा र यन्त्रमानवको माखेसाङ्लोमा कसरी रमाइरहेकी हौली खै ! सुदूर भविष्यमा पाउने सुख र खुसीको लोभमा वर्तमान गुमाउन खोज्छ मान्छे अचेल । तिमी त उच्च शिक्षा पढेकी हौ नि ! तिमी र तिमी जस्ताले यहाँ भविष्य नदेखे कसले पो देख्ला र खोइ ?
कस्तो अचम्म ! अनायासै दशकपछि मेरो दिलमा र दिमागमा पुनः वसु नामले घर गर्न थाल्यो ।
विवाह भएको केही समयमा उनी श्रीमानसँग बेलायत पुगिछन् र केही वर्षको बेलायत बसाइपछि स्पेनमा सरिछन्– श्रीमान् र बच्चासहित । राधाजी बार्सिलोनामा पुगेको थाहा भएर कुराकानी भएको रहेछ ।
त्यसरी लामो समयपछि सुनेको नामले मलाई यस पटक भने नामको रोमाञ्चकताभन्दा दिमागको सोचाइ बढायो । किनकि वसु मेरो मनपर्ने नाम मात्र रहेन अब– एउटा शिक्षित युवा किन र केका लागि विदेशिन्छ भनेर सोचमग्न बनायो ।
काठमाडौंकी उनलाई मास्टर्ससम्म पढाउन सक्ने परिवारलाई सलाम गर्नै पर्छ । मास्टर्सपछि यो देशमा के देखिनन् वसुले ? कि युरोपतिरै केही देखिन् ? सार एउटै त हो ।
आज लाखौँ शिक्षित युवा विदेशी भूमिमा आफ्नो अस्तित्व, हैसियत र क्षमतासमेत गुमनाम राखेर केको प्राप्तिमा रमाइरहेका होलान् ? तिनले सोचेजस्तै सन्तुष्टि र सम्पन्नता प्राप्त गर्लान ? कि अलिक कमाएपछि, कि दुःख पाएपछि, कि उमेर गएपछि नेपाल फर्केलान् ? नेपालमा जस्तो सम्भावना भएको देश आज संसारमा कुनै छ र ? यहाँ जस्तो सहज जीवनयापन कुनै सपनाको देशमा छ जस्तो लाग्दैन ।
किन आज विपन्नभन्दा सम्पन्न व्यक्ति र समाज आफ्नो भविष्यप्रति ज्यादा आत्तिएको छ ? किन तिनले नेपालमा भविष्य नदेखेका होलान् ? यो देश पनि बनाउन सकिन्छ भन्ने आत्मविश्वास बोक्न र बोकाउन नसकिएको होला ?
अन्तमा, आज सयौँलाई रोजगारी सिर्जना गर्न सक्ने, शिक्षित र शहरिया युवती वसु र वसु जस्तै कति किन गुमनाम भएका होलान्, जहाँ नाम मात्र होइन, उपनामलाई नि प्रिय ठान्ने म जस्तो ठूलो जमात पनि त छ ।
प्रिय वसु, मैले गलत सोचेको होइन भने नेपालमा जतिको खुसी तिमीलाई विश्वमा कहीँ मिल्नेछैन– चाहे जति नै भौतिक सम्पन्नता होओस् ।
जहाँ तिमी चराको संगीत सुनेर हुर्कियौ, हिमालको ऐना हेरेर फुर्कियौ । तिमीबाट तिम्रा साथीभाइ, परिवारले मात्र होइन, तिम्रो समाज र देशले तिम्रो सीप, सिर्जना र शिक्षामा गर्व गर्छ, जसमा आफ्नो भाग्य र भविष्य देख्छ, तर तिमी नै भविष्य नदेखेर पो विदेशियौ । कि आफैँलाई नचिनेर पो बिरानो भयौ ?
माया, करुणा, सदाचार र मिहिनेतको गाथा सुनेर हुर्किएकी तिमी चरम उपभोक्तावाद, निराशा, कुण्ठा र यन्त्रमानवको माखेसाङ्लोमा कसरी रमाइरहेकी हौली खै ! सुदूर भविष्यमा पाउने सुख र खुसीको लोभमा वर्तमान गुमाउन खोज्छ मान्छे अचेल । तिमी त उच्च शिक्षा पढेकी हौ नि ! तिमी र तिमी जस्ताले यहाँ भविष्य नदेखे कसले पो देख्ला र खोइ ?
बाटो धुलाम्य र हिलाम्य होला, कर्मचारीतन्त्र अलिक घुस्याहा र बदमासै होलान्, नेताहरू दूधले नुहाएका नहोलान्, शिक्षा र स्वास्थ्यमा मुनाफाखोर पसे होलान् त के तिम्रो नेपाल बनाउनै नसकिने गरी ध्वस्त भयो र ? त्यस्तै बेलामा पो तिमी जस्ता शिक्षितको खाँचो छ कि नेपाललाई ! त्यो कहिल्यै सोचेकी छौ ?
आशा छ, नयाँबानेश्वरमा फेरि तिमीलाई देख्न मात्र होइन, भेट्न पनि पाइयोस् । गर्वसाथ तिम्रो सीप र क्षमताको उपयोग यही देशमा हुनसकोस् । पराया भूमिमा भन्दा खुसी र सुखी जीवन यहीँ देख्न सक तिमीले ।
प्रकाशित मिति: बुधबार, वैशाख २५, २०७६