दिगो विकासका लागि मर्यादित रोजगारी, सुदृढ लोकतन्त्र र समृध्दि हाम्रो जिम्मेवारी भन्ने नारासहित हामी १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै छौ । सन् १९८४ मा अमेरिकाको सिकागोमा काम गर्ने मजदुरले मालिकको अन्यायको विरुध्द आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै एकै पटक दुई लाख ५० हजार श्रमिकहरू सडकमा उत्रिए ।
राज्यले चरम दमनको नीति अपनाउँदा कयौँ अङ्गभङ्ग भए भने कयौँको ज्यान गयो तत्पश्चात् सन् १८८९ मा पेरिसमा भएको अन्तर्राष्ट्रिय महासभाको दोस्रो बैठकले हेयमार्केट नरसंहारमा सिकागोमा ज्यान गुमाउने मानिसहरूको स्मृति दिवसको रूपमा मे १ लाई मनाउने निर्णय गरेपश्चात् मे दिवस संस्थागत रूपमा मनाउन थालियो ।
आज विश्वका ८० बढी देशमा श्रमिक दिवसमा राज्यले बिदा दिने गरेका छन् । नेपालको इतिहास हेर्ने हो भने सन् २००३ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा विराटनगर जुट मिलबाट सुरु भएको आन्दोलन नै नेपालको श्रमिक हकहितका लागि लडिएको पहिलो आन्दोलन हो । विगतका धेरै अथक प्रयासका बाबजुद पनि जति धेरै तामझाम गरेर श्रमिक दिवस मनाउँदै गर्दा पनि अझै वास्तविक श्रमिकका मुद्दाहरू ओझेलमा परिरहेका छन् ।
दुनियाँको सारा सम्पदालाई वास्तवमा सुन या चाँदीले होइन, मजदुरीले किन्न सकिन्छ । आडम स्मिथको भनाइलाई एक पटक पुन:स्मरण गर्ने हो भने सारा असम्भव कुरालाई पनि सम्भव बनाउन दिनरात नभनी लागिपर्ने श्रमिकको विषयमा राज्य पक्ष समयमै गम्भीर हुनु जरुरी छ ।
विगत लामो समयबाट प्रकृयामा रहेको सामाजिक सुरक्षा ऐनको सुरुवातको घोषणा सरकारले बढो तामझामका साथ केही समय अगाडि गर्यो । रातारात पोष्टर, पम्प्लेट टाँस्दै समृध्दिको नारा दिइँरहँदा हरपल हरक्षण शोषणमा परेका आममजदुरका आवाज त्यसै हावामा बिलाएका छन् । विकसित देशहरूमा हेर्ने हो भने, कलम चलाएर घुम्ने मेचमाथि एयर कन्डिसनमा बस्ने वर्गका श्रमिकलाई भन्दा धेरै पसिना बगाउने कार्य गर्ने श्रमिकको ज्याला अनुपातमा बढी भएको पाइन्छ । तर हाम्रो देशमा त्यसको ठीक उल्टो छ ।
हामी १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहँदा दैनिक १५ सय बढी युवालाई देश छाड्न बाध्य पारेर तिनकै पसिनाबाट राज्य चलाउने सरकारले अनिश्चित भविष्य खोज्न बाईबाई गर्दै हल्लिएका हातलाई समातेर यहीँ बस बाबु-नानी तिमी, तिम्रै देशमा रोजगारी पाउँछौ भन्न सक्ने दम भएको साहसिक नेतृत्व देखिएको छैन । अझै पनि ज्यालाको विभेद कागजमा नभए पनि व्यवहारमा कायमै छ । रोजगारीको गारेन्टी र कार्यस्थलको सुरक्षाको गारेन्टी त कता हो कता, देशका परिवर्तनका ठूलाठूला आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेल्ने वास्तविक श्रमिकको वास्तविक अवस्थामा उल्लेखनीय प्रगति भएको छैन ।
विश्व बजारले हरेक पक्षबाट पेल्दै लगेको वर्तमान परिवेशमा नेपाली उत्पादन विश्व बजारमा प्रतिष्पर्धा गर्नका लगि उकालोको यात्रामा लागिरहन नसक्दा देशको अर्थतन्त्रलाई उत्पादन र समृध्दिसँग जोड्ने श्रमिकको हितमा जति कदम चाले पनि अपुग नै हुन्छ । दक्ष जनशक्ति उत्पादन र उत्पादित दक्ष जनशक्तिलाई स्वदेशमै पसिना बगाउन अभिप्रेरित गर्ने राज्यको दायित्वबाट बिमुख हुँदै कुशासन, भ्रष्टाचारलाई संस्थगत गर्नतिरै राज्य आफैँ तल्लीन छ ।
दुनियाँको सारा सम्पदालाई वास्तवमा सुन या चाँदीले होइन, मजदुरीले किन्न सकिन्छ । आडम स्मिथको भनाइलाई एक पटक पुन:स्मरण गर्ने हो भने सारा असम्भव कुरालाई पनि सम्भव बनाउन दिनरात नभनी लागिपर्ने श्रमिकको विषयमा राज्य पक्ष समयमै गम्भीर हुनु जरुरी छ । श्रम ऐन र सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न यो श्रमिक दिवसले राज्यलाई उत्तरदायी बनाओस् । हामी गर्वका साथ भन्ने गर्छौं- श्रम शक्ति नै राष्ट्र शक्ति हो, विश्वका मजदुर एक होऔँ ।
सम्पूर्ण श्रमिक साथीहरू फुटेर होइन, जुटेर श्रमिकको हकहितमा लाग्न यो श्रमिक दिवसले प्रेरणा मिलोस्, शुभकामना !
प्रकाशित मिति: बुधबार, वैशाख १८, २०७६