कांग्रेसमा विचारको विचलन
२०४६ सालमा अन्तर्राष्ट्रिय बहाव यस्तो थियो, कम्युनिष्टसँग नमिलीकन आन्दोलन गरेको भए पनि पञ्चायत ढाल्न सकिन्थ्यो । वीपी कोइरालाको लाइनबाट विचलनको प्रस्थान विन्दु ०४६ सालको आन्दोलन हो । मलाई पीडा कहाँ हुन्छ भने गणेशमान सिंह, किसुनजी र गिरिजाबाबुजति विपीको संगत मैले गरेको हो र ? ०२५ सालमा जेलबाट छुटेपछि चिनेको । गिरिजाबाबुलाई ०२३ सालमा नख्खु जेलमा भेटेको । किसुनजीसँग नेविसंघ अधिवेशनको उद्घाटनमा बोलाउन जाँदा भेटेको । नेपालको यो दुर्दशा हुनुमा वीपीका सहयात्रीहरूले पनि विपीलाई चिनेनन् ।
राजाहरू त्रिभुवन, महेन्द्र र वीरेन्द्र तीन पुस्ताले पनि चिन्न सकेनन् । बाह्य हस्तक्षेपका विरुद्ध, राष्ट्रिय स्वाभिमानका पक्षमा विपीको अडानबाट त राजालाई पनि फाइदा थियो नि ! राजाले त्यो बुझेनन् । उहाँबाट तालिमप्राप्त सहयात्री नेताहरूले पनि चिन्न सकेनन् । कम्युनिष्टको राजनीति धोकाधडीको रह्यो ।
सन् १९१७ मा रसियामा क्रान्ति हुँदाखेरी मेन्सेभिक भन्ने प्रजातन्त्रवादीहरूको बहुमत थियो । लेनिनको बोल्सेभिक भन्ने पार्टी अल्पमतमा थियो । त्यो क्रान्तिकारी झुण्डले सारा प्रजातन्त्रवादीहरूलाई नरसंहार गरेर संविधानसभामा जबर्जस्ती कम्युनिष्ट शासन लाद्यो । जेठो कम्युनिष्ट शासन त त्यो हो नि ! त्यसकै प्रभावले पूर्वी युरोप गयो । सन् १९४९ मा चीनमा कम्युनिज्म आयो ।
यो मुलुकमा अहिले विदेशीको हस्तक्षेप छ । कम्युनिष्टहरूको यत्रो सत्ता आरोहण कहीँ न कहीँ हाम्रै कमजोरीले भएको हो । वीपीकै सहोदर भाइ गिरिजाले वीपीलाई बुझ्नुभएन । शेरबहादुर, रामचन्द्रजी मैले के बुझ्छु भन्नु ? ०४६ सालमा कम्युनिष्टसँग हल बाँधेर आन्दोलन गर्ने गणेशमान र किसुनजी होइन ? ०६३ सालमा माओवादीलाई ङ्याकेर ल्याइयो । १२ बुँदेमा ल्याएर शान्तिपूर्ण अवतरण गराउन गिरिजाबाबुको योगदान रह्यो । उहाँ कहाँ चुक्नुभयो ? संसद पुनर्स्थापनको माग गिरिजाबाबुको मात्र थियो, कांग्रेसको पनि होइन ।
सर्वसम्मत प्रधानमन्त्री भएपछि संविधानसभाको चुनाव यही सरकारले गराउँछ भनेर अडान लिनसक्नुपथ्र्यो । जितेका मान्छे भंग गरेर खल्तीका मान्छे अंशवण्डा गर्नुभयो । संसदमा कम्युनिष्ट बलियो बन्यो । त्यही शृंखला ०७४ सम्म आउँदा बाबुराम भट्टराईलाई मत हाल्न भन्यौँ । प्रचण्डको छोरी रेणु दाहाललाई मत हाल्न भन्यौँ । कांग्रेस उम्मेदवारको मनोनयन जबर्जस्त खारेज गरियो । पशुपतिशमशेर राणा, कमल थापालाई मत हाल्यौँ । ०४६ सालदेखिको विकृति थुप्रिँदा थुप्रिँदा यो दुर्घटना त हुनु नै थियो । तर एकैचोटि कांग्रेस यो हालतमा पुगेको चाहिँ होइन । अन्तिम दुर्गतिका बेलामा मेरो मित्र शेरबहादुरजी पर्नुभयो ।
चुनावमा हारजीत हुन्छ । त्यसलाई स्वाभाविक रूपमा लिनुपर्छ । सत्ता र भत्तामा माओवादीलाई पल्काइदिएपछि जंगल जाँदैनन् भनेर त्यसो पनि गरियो । अब प्रचण्ड जंगल जान्छन् ? मरे जाँदैनन् । ०१५ साल, ०४७ साल वा ०७२ सालमा संविधान कांग्रेसकै नेतृत्वमा आएको छ । कांग्रेससँग यति धेरै राजनीतिक पुँजी छ । यसलाई कांग्रेसले जोगाउन र बेच्नै जानेन । वीपी कोइराला चिन्नका लागि अदालतको फैसला पढ्नुहोस् । चुनाव पराजयमा नैतिक जिम्मेवारी मेरो भन्ने हुती शेरबहादुरजीको भएन । सभापति बढी जिम्मेवार हो तर वरिष्ठ नेता, महामन्त्री पनि अछिुतो हुनुहुन्न । हामीसँग नैतिक तागत नै छैन । राष्ट्रियता केपी ओलीलाई जिम्मा लगायौँ । ९० प्रतिशत ओमकार परिवार कमल थापालाई जिम्मा दियौँ, मधेस मधेसवादी दललाई छाड्यौँ ।
भोट बैंक कहाँ छ हाम्रो ? हामी कहाँ उभिने ? धरातल के हो कांग्रेस उभिने ? त्यसैले हामी दुई तिहाई महासमिति सदस्यहरूले हिन्दु राष्ट्रको पक्षमा उभिनुपर्छ भनेर हस्ताक्षर गर्यौँ तर त्यसलाई लत्यायौँ । समानुपातिकमा एक पटक अवसर दिने हो । कांग्रेसमा चुनाव नलड्ने तर योगदान गरेका हजारौँ मानिसहरू छन् । उनीहरूको पालो कहिले आउँछ ? चिन्ताको कुरा छ । शेरबहादुर छ पटक लड्नुपर्ने, रामचन्द्र छचोटि लड्नुपर्ने, विमलेन्द्र पाँचचोटि लड्नुपर्ने, प्रकाशमान पाँचचोटि लड्नुपर्ने ! यसरी युवाहरूको पालो कहिले आउँछ ? मेरो मान्यता के हो भने आफ्नो समयमा जे गर्न सकियो, त्यो नै योगदान हो । सबै प्रधानमन्त्री हुन त सकिँदैन ।
शेरबहादुरजीलाई पुग्यो, रामचन्द्र ‘अलमस्ट प्रेसिडेन्ट’
मैले शेरबहादुरजी र रामचन्द्रजीलाई उहाँहरूकै अगाडि धेरै कुरा भनेको पनि छु । चारचोटिमै ध्वस्त गरिसक्नुभयो, छचोटि प्रधानमन्त्री बन्ने ज्योतिषीको फन्दामा नपर्नुहोस् भनेर शेरबहादुरजीलाई भनेको छु । मैले अमेरिकामा छँदा ‘अलमस्ट प्रेसिडेन्ट’ भन्ने पुस्तक पढेको थिएँ । राष्ट्रपतिमा चुनाव लडेको, हारेको तर राष्ट्रपतिको भन्दा कम योगदान नभएका ‘अलमस्ट प्रेसिडेन्ट’ भन्ने पुस्तक छ । रामचन्द्रजी ‘अलमस्ट प्रेसिडेन्ट’ हो, ‘अलमस्ट प्राइमिनिस्टर’ हो । किसुनजी र गिरिजाबबुको पालामा कार्यवाहक सभापति हुनुभयो । सुशील कोइराला बित्नुभयो, कार्यवाहक भएर १३औँ महाधिवेशन गराउनुभयो ।
तपाईंको त्यसैमा कट्टी भयो, मरिहत्ते नगर्नुहोस् भनेर मैले भनेको छु । ध्रुव वाग्ले, गोविन्द भट्टराई, प्रदीप पौडेलको पालो तनहुँमा कहिले आउने ? कर्ण मल्लको पालो डडेल्धुरामा कहिले आउने ? प्रकाशमान र विमलेन्द्रले आफ्नो क्षेत्र ओगटिरहने हो भने त्यहाँका युवा कहाँ जाने ? सफल नेता त्यो हो, जसले आफूपछिको सफल नेतृत्व जन्माओस् ।
महाधिवेशनमा चुनीचुनी हिसाब गर्न सक्नुपर्यो
महासमिति भनेको महाधिवेशनपछिको ठूलो अंग हो । केन्द्रीय समितिभन्दा पनि ठूलो हो । देउवा र पौडेलले हात उठाएर तपाईंहरूको रायअनुसार विधान ल्याउँछौँ भनेर टुंगो लगाएको हो तर बहुमतको बलमा आयो । कांग्रेसको सभापति, महामन्त्री हुन खोज्ने अनि बुथबाट आउन डराउने त ? जनतासँग सम्पर्क त टुट्यो । हामीले राखेको एजेण्डामा जाँदा त पार्टी बलियो हुन्छ नि ! शेरबहादुर, रामचन्द्र, शशांकलगायतका सबै नेता गाउँ जानुपर्यो । गाउँमा नेता आए है भनेर हलचल पनि हुन्छ । जो बुथमै आउँदैन त कसरी नेता हुन पाइन्छ ? हामीले गरेको गल्ती हामीले नै सच्याउने हो ।
महासमितिको दुई तिहाईको एजेण्डालाई पचाउन सक्नुभएन भने एक वर्ष बढाएर त खानुहोला, पछि महाधिवेशनमा त जानुपर्छ । महासमितिको भावनालाई ध्यान नदिएर विधान संशोधन भएन भने कसकसले हो स्वतः आउन पाइन्छ भनेर भोट हालेका, तिनीहरूलाई महाधिवेशनमा चुनीचुनी हराउन सक्नुपर्यो । शेरबहादुर हट्नुपर्यो, फलानो हट्नुपर्यो भनेर त भएन नि ! एउटा प्रक्रियासम्म त पर्खनुपर्यो । यही सुधार्ने हो । यही कांग्रेसलाई कसरी सुदृढ बनाउने मेरा प्रिय मित्र पार्टी हाँकिरहनुभएका साथीहरूले सोच्नुपर्यो । मैले त सल्लाह दिने न हो ।
प्रगतिशील कुरा भन्ने हो भने भोट माया मार्नुहोस् । कसरी धर्मनिरपेक्षता आएको रहेछ देखिहाल्नुभयो ? ओलीहरूले होली वाइन पिए, त्यो पनि नक्कली कोरियन क्रिश्चियनबाट । उदांगो हुँदै गयो नि कसरी धर्मनिरपेक्षता आएको रहेछ भनेर ।
६ ‘भ’सँग सचेत रहन गिरिजाबाबुलाई सुझाव
पहिलो पटक प्रधानमन्त्री हुँदा गिरिजाप्रसाद कोइराला मेरो सल्लाह लिनुहुन्थ्यो । उहाँ प्रधानमन्त्री भएको पाचौँ दिनमा म बालुवाटार गएँ । म सांसद पनि थिइनँ । तपाईं छ ‘भ’सँग सचेत रहनुहोस् भनेर मैले उहाँलाई सुझाव दिएँ । उहाँले केके भन्नुभयो ? मैले भनेँ भाउजूको ‘भ’, भान्जीको ‘भ’, भाइको ‘भ’, भतिजाको ‘भ’, भारतको ‘भ’, भरतशमशेरको ‘भ’ । प्रधानमन्त्री हुनेवित्तिकै टनकपुर आएको त होइन । त्यही विषयमा गिरिजाबाबु एकातिर, किसुनजी र गणेशमान अर्कोतिर भएर लडाइँ भयो । मैले ०४८ जेठ २० गतेतिर भनेको हो । २०४९÷०५० तिर त हो टनकपुर आएको । भारतले टनकपुरमा फसायो । भान्जीको भ अर्थात् शैलजा आचार्य मन्त्री भएको १३ महिनामै यो भ्रष्टाचारी सरकार भनेर राजीनामा दिइन् । सरकारको नेतृत्व त गिरिजाले गरिरहेका थिए । भरतशमशेरले छत्तीसे फुटाए । त्यही छत्तीसेले समय नै नपुगी ०५१ मा सरकार गिरायो । त्यस्तै थुप्रै भतिजाहरू थिए । हेर्नुपर्यो गिरिजाबाबुले ।
भाइ सुशील कोइराला । नोनाआमा भाउजूु । उहाँका नातागोताका राजनीतिक नियुक्ति सबै उनीहरूलाई नै । गिरिजबाबुलाई मैले सुझाव दिँदा न टनकपुर, छत्तीसे जन्मिएका थिए, न त भान्जीले भ्रष्टाचारी सरकार भनेको अवस्था थियो । गिरिजाबाबुले मेरो सल्लाह मानेको भए यो दुर्दशा नआउने । शेरबहादुरजीले पनि मेरो सल्लाह मानेको भए यस्तो अवस्था नआउने । बिनाशुल्क मैले सुझाव दिएँ । त्यसको मूल्य भएन । जे नहनु थियो, त्यो भइसक्यो ।
‘हिरो बाई चान्स’ हो सुशील कोइराला
प्रधानमन्त्री भइसकेपछि सुशील कोइराला राष्ट्रपति हुनुपथ्र्याे । एमाले प्रधानमन्त्री हुँदा कांग्रेस जानुपथ्र्यो । त्यहाँ गलत भयो । राजनीति गर्नेले पद छाड्न र मर्न समय मिलायो भने अमर हुन्छ । त्यो जानेन भने ध्वस्त हुन्छ– सुशील दाइ जस्तो । प्रधानमन्त्री चाहिँदैन, राष्ट्रपति पनि बन्दिनँ भनेर भन्नुहोस् भनेर कृष्ण सिटौला र मैले धुमधाम गरेको हो । मान्नुभएन । मानेको भए विपीभन्दा मुनि राख्न लायक नेता उहाँ बन्नुहुन्थ्यो । ‘हिरो बाई चान्स’ हो सुशील कोइराला । तर दक्षिणको डिजाइन थियो उहाँलाई नबनाउने ।
विद्या भण्डारीलाई राष्ट्रपति बनाउन चाहन्थ्यो भारत । ब्लड क्यान्सर भएकी विद्या भण्डारीलाई कसले बचाएको छ ? एपोलो अस्पताल । हाम्रो विचरा खुमबहादुर खड्का ३० महिनामा गए किड्नी ड्यामेज भएर । केपी ओली १२ वर्ष बाँचिरा’छन् । भारतको एयर एम्बुलेन्स आएर लगेको हो नि ! पार्टी सभापति, पूर्वप्रधानमन्त्री सुशील कोइराला घरमै बिते । अस्पतालसम्म पुग्न पाएनन् । ओलीलाई एयर एम्बुलेन्स आएर दिल्ली लगियो, प्रधानमन्त्री नहुँदै । भारतको मान्छे भनेर बात लाग्यो सुशील कोइरालालाई । खासमा को रहेछ त भारतको मान्छे ? सबै देशसँग मित्रता गर्नुपर्छ । अबको कांग्रेसको नेतृत्व आयातीत नहोस् ।
ओलीहरूले होली वाइन पिए
मैले पहिला जेजे हुँदैन भन्छु, मानिसहरूलाई त्यही कुरा भन्न धेरै वर्ष लाग्यो । मुलुकको हितका लागि अलोकप्रिय नै हुनुपरे पनि म आफ्नो राय राख्छु । अहिलेको दुनियाँका लागि प्रतिगामी नै सही । जस्तो : हिन्दु राष्ट्रको कुरा । सबभन्दा ठूलो आस्था धार्मिक आस्थामा चोट पुगेपछि संसारमा कति लडाइँ भएका छन् । धर्मनिरपेक्षता भन्दा के बिग्रियो र ? प्रगतिशील कुरा भन्ने हो भने भोट माया मार्नुहोस् । कसरी धर्मनिरपेक्षता आएको रहेछ देखिहाल्नुभयो ? ओलीहरूले होली वाइन पिए, त्यो पनि नक्कली कोरियन क्रिश्चियनबाट । उदांगो हुँदै गयो नि कसरी धर्मनिरपेक्षता आएको रहेछ भनेर । कसका पैसा खाएर हामी बिकेका रहेछौँ संविधान ल्याउँदा ।
(आजको न्युजकर्मी जगन्नाथ दुलालले कांग्रेस नेता कोइरालासँग गरेको कुराकानीमा आधारित)
प्रकाशित मिति: सोमबार, चैत २५, २०७५