गोरखा : नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले जनसम्वाद यात्रालाई राजनीतिक तपस्याको बाटो भएको बताएका छन्। बुधबार गोरखाको पालुङटारमा आयोजित जनसभालाई संबोधन गर्दै डा. भट्टराईले जसरी परापूर्वकालमा ऋषिमुनिहरूले जाडोमा हिमालमा र गर्मीमा अग्निको सामीप्यमा गएर तपस्या गर्थे त्यसरी नै आफूलाई शुद्ध बनाउनका लागि यो यात्रा गरिएको बताए।
पौराणिक कुरासँग जोड्दै डा. भट्टराईले भने, ‘यो एक राजनीतिक तपस्याको बाटो हो। यो एक प्रकारको राजनीतिक तीर्थयात्रा हो। त्यही तपस्याको निम्ति यो यात्रा गर्दै छौैँ। त्यसले हामी शुद्ध छौैँ कि छैनौँ? भन्ने कुरा जनताबाट प्रस्ट देख्न सकिनेछ।’
अब असल राजनीतिको कुरा गर्नु पहिले आफू असल र शुद्ध हुनुपर्ने धारणा राख्दै डा. भट्टराईले भने, ‘हाम्रो राजनीति सफा हुनुपर्यो, त्यसको निम्ति कुने जादूको छडी छैन।’ भट्टराईले त्यसका निम्ति जनताको बीचमा जाने, सम्वाद गर्ने, जनताको सुझाव लिने, आलोचना सुन्ने र त्यसपछि आफूलाई रूपान्तरण गर्ने उल्लेख गर्दै त्यो मात्र एउटा शुद्धीकरणको बाटो भएको बताए। भट्टराईले जनतालाई भगवानसँग दाँज्दै भने, ‘हाम्रो निम्ति भगवान भनेको तपाईं जनता हो। तपाईंहरूका बीचमा गएर तीर्थ यात्रा गरेर हामी आफूलाई शुद्धीकरण गर्न चाहन्छौैँ। आफूलाई रूपान्तरण गर्न चाहन्छौैँ।’
जनयुद्धप्रति आफूलाई गर्व लागेको बताउँदै डा. भट्टराईले जनयुद्ध दिवसको अवसरमा शहीद, बेपत्ता परिवारजन, घाइते योद्धाहरूलाई श्रद्धासुमन व्यक्त गरे। ‘सत्तामा पुगेका जिउँदा शहीदहरू एकपछि अर्को गर्दै भ्रष्टाचार काण्डमा मुछिनुभएको छ। पहिले पहिलेका समयमा भएका भ्रष्टाचारका काण्डलाई समेत उछिन्ने गरी भ्रष्टाचारमा मुछिनुभएको छ’, भट्टराईले भने।
अर्को प्रसंगमा डा. भट्टराईले राजनीतिमा त्याग र बलिदानी नगरी उपलब्धि र परिवर्तन प्राप्त नहुने र अर्को चरणको क्रान्ति फेरि नयाँ ढंगले अघि बढ्ने बताए। उनले भने, ‘माथिदेखि तलसम्म यही प्रकारको भ्रष्टाचार बढ्दै जाने हो भने हामीले ती महान् शहीदहरूप्रति न्याय गरेको ठहरिन्छ कि धोका ?’ डा. भट्टराईले राणाकालमा पनि ठूला दरबार बनेका पंचायतकालमा पनि ठूलाठूला महल बनेका भन्दै तर जनताको घरदैलोमा विकासको प्रतिफल नपुगेको बताए।
‘त्यसैले आज हामीले गर्ने विकास भनेको केही मान्छेहरू मात्र सम्पन्न हुने विकास होइन, हामीले गर्ने विकास भनेको अर्बौं खर्च गरेर आफ्नो निर्वाचन क्षेत्रमा भ्यू टावर बनाउने होइन, त्यो कुनै विकास हो?’, भट्टराईले भने। भट्टराईले शिक्षा, स्वास्थ्य, पानी, बाटो, बिजुलीमा लगानी गर्न चाहेको भन्दै जनताले कृषि, उद्योग, पर्यटन, सेवालगायतमा लगानी गरेर रोजगारी सिर्जना गर्न सकुन् भन्ने चाहेको बताए।
‘त्यसैले हामीले केही मान्छे धनी हुने, केही मान्छेले मात्र पैसा कुम्ल्याउने प्रकारका विकास नभई आमजनतालाई विकासको प्रतिफल पुग्ने, आमजनतालाई रोजगारी दिने, सबै जनता सुखी हुने प्रकारको समावेशी विकास चाहन्छौँ’, उनले भने, ‘त्यही बुझ्न, सोध्न हामी जनसम्वाद यात्रामा तपाईंहरूकहाँ आइपुगेका छौैँ।’
प्रकाशित मिति: बुधबार, फागुन १, २०७५ १२:०८