भद्रपुर : सवारी दुर्घटना न्यूनीकरण महाअभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रम १ नं प्रदेशभरि आजदेखि शुरु भएको छ ।
कार्यक्रमको शुभारम्भ झापाको विर्तामोडमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गर्नुभएको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत दोस्रो चरणको कार्यक्रममा प्रभातफेरी, ट्राफिक सामग्री हस्तान्तरण, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको कार्यालय भवन शिलान्यास र सडक दुर्घटना न्यूनीकरणको १५ दिने अभियान आजदेखि शुभारम्भ गरिएको छ । पन्ध्र दिने अभियान १ नं प्रदेशका १४ वटै जिल्लामा सञ्चालन हुने प्रदेश ट्राफिकका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए ।
उहाँका अनुसार अभियानका क्रममा सचेतनामूलक पर्चा पम्प्लेट वितरण, अव्यवस्थित पार्किङ हटाउने, चालकको स्वास्थ्य जाँच, सार्वजनिक सवारी साधनको अनुगमन, ट्राफिक प्रहरीको स्वास्थ्य जाँच, घुम्ती प्रशिक्षणलगायतका कार्यक्रम गरिनेछ ।
उद्घाटन कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई १० वटा मोटरसाइकल, १० वटा ब्रेथलाइजर, १० वटा ह्वील लक र ७०० जना चालक तथा सहचालकलाई पोशाक प्रदान गरिएको महाअभियानका संयोजक महेन्द्रकुमार गिरीले बताए ।
गत मङ्सिर ४ गते विर्तामोडको डोमालाल राजवंशी रङगशालामा नेपथ्य समूहबाट भव्य साङ्गीतिक कार्यक्रम गराएर दुर्घटना न्यूनीकरण महाअभियान शुभारम्भ गरिएको थियो । महाअभियान शुभारम्भ कार्यक्रमबाटै रु २० लाख २८ हजार १५७ बचत भएको संयोजक गिरीले जानकारी दिनुभयो । रु ७७ लाख सङ्कलन भएको कार्यक्रममा रु ५७ लाख खर्च भएको थियो । अभियानलाई सार्थकता प्रदान गर्न चार चरणमा काम गर्ने आयोजक समितिको तयारी छ । चौथो चरणमा ट्राफिक लाइट जडान गरिने समितिले जनाएको छ ।
महाअभियान समिति र ट्राफिक प्रहरीको अगुवाइमा हरेक वर्षको २ असोजलाई ‘दुर्घटना न्यूनीकरण महाअभियान दिवस’का रुपमा मनाउँदै आएको संयोजक गिरीले बताए । महाअभियान शुरु भए यता चालकलाई अनिवार्य जुत्ता, टिपर सञ्चालनमा समय निर्धारण, टिपरलाई टाइम कार्ड, सडक प्रशिक्षण कार्यक्रमलगायतका काम भएका छन् ।-रासस
प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५