काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रतिनिधिसभाको बैठक चल्न नदिने निर्णय गरेको छ । सरकारले लाल आयोगको निर्णय कार्यान्वयन नगरेको भन्दै राजपाले संसद बैठक अवरुद्ध पार्ने भएको हो । संसद बैठक बुधबार दिउँसो १२ बजे बस्ने तय भएको छ ।
मधेस आन्दोलन एवं थारु आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लंघनका घटनाबारे छानविन गर्न सरकारले ०७३ साल असोज २ गते पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वमा न्यायिक आयोग बनाएको थियो ।
आयोगले ३ हजार २६४ वटा उजुरीमाथि छानविन गरी २०७४ माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो । यद्यपि सो प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन ।
अघिल्लो साता टीकापुर घटनामा संलग्न भएको आरोप लागेका रेशम चौधरीलाई अदालतले जन्मकैदको सजाय सुनाएपछि राजपा आक्रोशित छ । चौधरी कैलालीबाट निर्वाचित भएका थिए ।
राजपा सांसद चौधरीमाथि जन्मकैदको फैसला भएपछि सो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।
प्रकाशित मिति: बुधबार, फागुन २९, २०७५