शहरमा बहुविवाहविरुद्ध उजुरी दिने क्रम बढ्न थालेको छ । अधिकांश महिला अधिकारवादीले यस्ता घटना सहेर बस्न नहुने बताइरहँदा पनि कतिपय घटनाहरू अझै पनि बाहिरिएका छैनन् । तर पछिल्लो समयको घटना क्रम हेर्दा बहुविवाह गर्ने श्रीमानविरुद्ध कानुनी कारवाहीमा जान थालेका पाइन्छ ।
घटना–१
लमजुङकी फुन्दामाया तामाङले यही फागुन १ गते बहुविवाहको मुद्दा दर्ता गराइन् । उनले स्थानीय डिकबहादुर तामाङसँग २०६१ सालमा प्रेमविवाह गरेकी थिइन् । एक वर्षपछि छोरी जन्मिइन् । श्रीमान्ले आफू र बच्चालाई समेत हेरविचार नगर्ने, कमाएको रकम नदिने, अपशब्द प्रयोग गर्ने, नानाभाँती गालीगलौज गर्ने, मानसिक यातना दिने क्रम बढ्न थाल्यो । आफूखुसी हिँड्ने मात्रै नभएर जुना तामाङसँग दोस्रो विवाह गरी सामाखुसीमा कोठा लिई बसेको भन्ने कुरा थाहा पाइन् । त्यसपछि उनले कानुन बमोजिम कार्बाही गरिपाउँ भनी बहुविवाहको मुद्दा दर्ता गराइन् ।
घटना–२
२४ वर्षीय यमुना खड्काले गत माघ २९ गते बहुविवाहको मुद्दा दर्ता गरिन् । उनको अच्युत धमलासँग २०६९ मंसिर १५ गते सामाजिक परम्परा अनुसार विवाह भयो । वैदेशिक रोजगारको सिलसिलामा अष्ट्रेलिया गएका श्रीमान् नेपाल आउने जाने गरेका थिए । र, त्यही क्रममा श्रीमान्ले अर्की महिला इन्दिरा भट्टराईसँग विवाह गरी अष्ट्रेलिया पठाएको थाहा पाएपछि कार्बाही गरिपाउँ भनी बहुविवाहको मुद्दा दर्ता गरिन् ।
घटना–३
२७ वर्षीया अजितासिंह ठकुरीले यही फागुन ८ गते बहुविवाहको मुद्दा दायर गरिन् । उनले कृष्णसिंह ठकुरीसंग २०६६ सालमा विवाह गरेकी थिइन् । एक छोरा र एक छोरीका साथ बस्दै आएकी थिइन् । श्रीमान् वैदेशिक रोजगारमा भएकाले पाँच वर्षदेखि विदेश जाने आउने गर्थे । तर, श्रीमान्ले विदेश बस्दा कमाएको रकम पठाएनन् । उनका श्रीमान् २०७५ माघ १५ गते नेपाल आए । तर, उनी सम्पर्कविहीन भएपछि खोजतलास गर्दा दक्षिणकाली मन्दिरमा सञ्जु मल्लसँग दोस्रो विवाह गरेको थाहा पाइन् । त्यसपछि कार्बाही गरिपाउँ भनी मुद्दा दर्ता गराइन् ।
यी केही प्रतिनिधिमूलक घटना मात्रै हुन् । बहुविवाहका यस्ता घटना हाम्रो समाजमा थुप्रै भेटिन्छन् । कतिपयले न्याय पाउँछन्, तर धेरैले अहिलेसम्म न्याय पाउन सकेका छैनन् । नेपालको कानुनले एक पुरुषले पहिलो वैवाहिक सम्बन्ध कायम रहेकै अवस्थामा अर्की महिलासँग विवाह गरेमा त्यसलाई बहुविवाह मानिन्छ ।
बहुविवाहलाई काननुले अपराध मानेको छ । तर, समाजमा यसलाई बहादुरीको रूपमा व्याख्या गरिन्छ । बहुविवाह गर्नेलाई सजायको पनि व्यवस्था छ । आर्थिक वर्ष २०७२/७३ मा उपत्यकामा मात्रै ६४ वटा बहुविवाह सम्बन्धी मुद्दा दर्ता भएका थिए । त्यस्तै आर्थिक वर्ष ७३/७४ मा ५६ तथा आर्थिक वर्ष ७५/७६ मा ६६ मुद्दा दर्ता भएका छन् । त्यसैगरी चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा ६७ बहुविवाहका मुद्दा दर्ता भएका छन् । उपत्यकाको तथ्याङ्कले के देखाउँछ भने मासिक सरदर पाँच वटा बहुविवाह मुद्या दर्ता भएको तथ्याङ्क छ ।
त्यसैगरी आर्थिक वर्ष २०७२/७३ मा एउटा बालविवाहको मुद्दा दर्ता भएको थियो । आर्थिक वर्ष ७३/७४मा एउटा बालविवाहको मुद्दा दर्ता भएको नेपाल प्रहरीले जनाएको छ । त्यसैगरी आर्थिक वर्ष २०७५/७६ मा चार वटा बालविवाहका मुद्दा दर्ता भएको थियो । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा दुईवटा बालविवाहका मुद्दा दर्ता भएको छ ।
२०७२/७३ मा जबरजस्ती करणीका एक सय ३९ मुद्दा दर्ता दर्ता भएका छन् । त्यस्तै २०७३/०७४ मा एक सय ३४ जबरजस्ती करणीका मुद्दा दर्ता भए । त्यसैगरी आर्थिक वर्ष २०७४/७५ मा १८८ मुद्दा दर्ता भएका छन् । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा एक सय ७४ जबरजस्ती करणीका मुद्दा दर्ता भएका छन् ।
उता २०७२/७३ जबरजस्ती करणी उद्योगमा ४८ मुद्दा दर्ता भएका थिए । त्यस्तै २०७४/७५ मा ४१ मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७५/७६ मा ६३ र चालु माघ मसान्तसम्ममा ४२ मुद्दा दर्ता छन् । प्रहरी प्रधान कार्यालयका प्रवक्ता उत्तमराज सुवेदीका अनुसार दुई किसिमका बहुविवाहका मुद्दा दर्ता हुने गरेका छन् । उनी भन्छन्, ‘एउटा मुद्दा घरमा श्रीमान्–श्रीमतीको झगडा पर्न थालेपछि कारण खोज्दै जाँदा बहुविवाह हुने गरेको छ ।’
यस्ता घटना विस्तारै प्रहरीसम्म आउन थालेको हो । यसअघि यस्ता घटना परिवार तथा गाउँघरमै मिलापत्र हुने गरेको थियो । पतिले बहुविवाह गरेको थाहा पाएको ६० दिनभित्र महिलाले मुद्दा दर्ता गर्ने प्रावधान छ ।
कतिपयले पतिले बहुविवाह गरेको गरेको भर्खरै थाहा पाएँ भन्दै मुद्दा दर्ता गर्ने गरेका छन् । छोराको मोह, गाउँमा सानै उमेरमा विवाह भए पनि पछि सम्बन्ध नमिलेका कारण बहुविवाह हुने गरेको घटनाक्रमले देखाउँछ । वैदेशिक रोजगारीमा गएका श्रीमान् लामो समय नफर्केपछि श्रीमती यौन सन्तुष्टिका लागि परपुरुषसँग सम्बन्ध राख्ने गरेका घटना पनि बाहिरिने गरेको प्रहरी प्रवक्ता सुवेदीले जानकारी दिए ।
राष्ट्रिय मानवअधिकार आयोगकी उप–निर्देशक मञ्जु खतिवडा बहुविवाहलाई कानुनले अपराधको रूपमा लिँदा पनि परिवर्तित समाजमा यस्ता घटना बढ्नु दु:खद् भएको बताउँछिन् । उनी भन्छिन्, ‘जनचेतना, कडा कानुनी प्रावधानको व्यवस्था र निर्माण भएको कानुन कार्यान्वयन भएमा बहुविवाहका घटनामा कमी आउँछ ।’ सामाजिक परिवेश, कमजोर मनोबल, स्वाभलम्बी, पँहुचको कमीका कारणले कतिपय महिलाहरू श्रीमान्ले बहुविवाह गरेको घटना बाहिर ल्याउन चाहँदैनन् । ‘तर, म उनीहरूलाई हिंसा सहेर नबस्न र कानुनी उपचार खोज्न आग्रह गर्छु’, उनले भनिन् ।
मुलुकी अपराध संहिता ऐन २०७४ मा बहुविवाहसम्बन्धी कानुन के छ ?
धारा १७५ मा वहुविवाह गर्न नहुने : (१) विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्नु हुँदैन । (२) कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गर्नु हुँदैन । (३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि पति पत्नीले कानून बमोजिम अंशवण्डा गरी भिन्न भएमा पुरुष वा महिलाले पुन: विवाह गर्न सक्नेछ । (४) उपदफा (१) वा (२) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र दश हजार रूपैयाँदेखि पचास हजार रूपैयाँसम्म जरिबाना हुनेछ । (५) उपदफा (१) बमोजिमको विवाह स्वत: बदर हुनेछ । (६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन लागू हुनुअघि तत्काल प्रचलित कानून बमोजिम भएको विवाहको हकमा यस दफामा लेखिएको कुनै कुराले असर पारेको मानिने छैन ।
प्रकाशित मिति: बुधबार, फागुन २९, २०७५