बुटबल : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको कुनै भूभागका विषयमा हुने जनमत संग्रहलाई कांग्रेसले स्वीकार नगर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पृथकतावादी विचारलाई सरकारले नै मान्यता दिँदै राष्ट्रियतामाथि प्रहार गरेको आरोप लगाए ।
अखण्ड नेपालका कहीँ कतैबाट कुनै प्रयास मात्रै भए त्यसको कांग्रेसले सशक्त प्रतिरोध गर्ने उनकाे भनाइ थियाे । सिके राउतसँग भएको सम्झौताको व्यहोरा एउटा र प्रधानमन्त्रीको सम्बोधन अर्कै भएकाले आशंका बढेको भन्दै सम्झौताको विषयलाई प्रधानमन्त्रीले नै संसद्मा स्पष्ट पार्नुपर्ने बताए ।
प्रधानमन्त्री केपी ओली राष्ट्रवादको आवरणमा राष्ट्रघात गरिरहेको वरिष्ठ नेता पौडेलले अाराेप लगाए । अदालतको फैसला र अख्तियारको छानबिनलाई प्रधानमन्त्री ओलीले प्रभावित बनाउन खोजिरहेको भन्दै उनले वाइडबडी प्रकरणमा स्वर्गीय रवीन्द्र अधिकारी निर्दोष भएकाे अभिव्यक्ति दिने अधिकार प्रधानमन्त्रीलाई कसले दियो भनी प्रश्न गरे । वरिष्ठ नेता पौडेलले भने ’रातो झण्डा ओढे सबै खत माफी हुने भन्दै सरकारले दण्डहिनतालाई प्रश्रय दिइरहेको छ ।’
प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५