योग हाम्रो स्वास्थ्यका लागि अतिआवश्यक छ । योग एउटा पूर्ण विज्ञान हो, पूर्ण जीवनशैली हो, पूर्ण चिकित्सा पद्धति हो । तनाव, अशान्ति, आतंकवाद, अभाव एवं अज्ञानको सिकारमा फसिरहेको आधुनिक मानव समाजले योगलाई पछ्याउन थालिसकेको छ । यसले हाम्रो अस्थिर मनलाई स्थिर बनाउँछ । योग गरेर स्वस्थ रहन जो कोही चाहन्छ । सबैलाई योग गर्ने विधि र तरिका थाहा नहुँदा अर्को समस्या पनि आउन सक्छ ।
योग गर्नेहरूका लागि यी टिप्स उपयोगी हुन सक्छन् ।
– योगाभ्यासपछि लगभग आधा–एक घन्टापछि मात्रै खाना खानुहोस् ।
– सधैँ खाली पेटमा योग गर्नुहोस् ।
– योग गर्दा कहिल्यै टाइट र कस्सिएको कपडा लगाउनुहुँदैन । सधैँ खुकुलो पहिरन लगाएर योग गर्नुभयो भने ध्यान एकीकृत हुन सहज हुन्छ ।
– योग गर्ने समय निरन्तर एक खालको छनोट गर्नुहोस् । बिहान ६ बजे योग गर्नुहुन्छ भने अन्य दिन पनि यही समय गर्दा राम्रो हुन्छ ।
– मानिसले आधा घन्टादेखि एक घन्टासम्म योग गर्ने गरेका छन् । स्वस्थ रहनका लागि २० मिनेटदेखि डेढ घन्टासम्म योगाभ्यास गर्न सकिन्छ ।
– योग गर्दा डिस्टर्ब हुने ठाउँमा कहिल्यै बस्नुहुँदैन । बाहिरको डिस्टर्बले योगाभ्यासमा बाधा पु¥याउँछ । सोही कारण सधैँ शान्त वातावरणमा योग गर्नुपर्छ ।
– कुनै पनि खालको अप्रेसन गरेका बिरामीले तत्कालै योगाभ्यासमा बस्नुहुँदैन । योग गर्नै परे चिकित्सकको सल्लाहपछि मात्रै गर्नुपर्छ ।
– योगाभ्यास गर्दा सधैँ सहज तरिकाले गर्नुपर्छ । जुन आसनमा योगाभ्यास गरे पनि शरीरलाई जबर्जस्ती हुने हिसाबले गर्नुहुँदैन ।
– योगाभ्यास गरिरहेका बेला दिसापिसाब आयो भने डिस्टर्ब हुन्छ । सोही कारण सधैँ दिसापिसाब गरेर मात्रै अभ्यास गर्नु राम्रो हुन्छ ।
प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५