दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले समुदायसँग मिलेर विभिन्न समयमा सचेतना कार्यक्रमहरू सञ्चालनमा ल्याए पनि दुर्घटनामा भने कमी आउन सकेको छैन ।
गत आर्थिक वर्षमा उपत्यकामा ६ हजार ३८१ सवारी दुर्घटना भएकामा चालू आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांक हेर्दा ४ हजार ८१ सवारी दुर्घटना भइसकेका छन् । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांक हेर्दा १३२ जनाले सवारी दुर्घटनामा ज्यान गुमाइसकेका छन् । दुर्घटनामा १३२ जना सामान्य तथा २८४२ गम्भीर घाइते भएका छन् ।
ट्राफिक प्रहरी महाशाखाको २०६८ सालदेखि हालसम्मको तथ्यांक हेर्दा राजधानीभित्र सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १ हजार २४६ पुगेको छ । त्यस्तै, २ हजार ८ जना गम्भीर घाइते भएका छन् भने २८ हजार ८६१ जना सामान्य घाइते भएका छन् ।
सवारी साधनको दुर्घटनाको कारण हेर्दा सबैभन्दा धेरै चालकको लापर्वाहीका कारण दुर्घटना हुने गरेको देखिन्छ । गत आर्थिक वर्षमा सडकको अवस्थाका कारण ४८ वटा सवारी साधन दुर्घटना भएका थिए भने चालु आर्थिक वर्षमा २० वटा सवारी साधन दुर्घटना भएको ट्राफिक महाशाखाले जनाएको छ । त्यस्तै, गत वर्ष चालकको लापरवाहीका कारण ५ हजार ९६१ सवारी दुर्घटना भएकामा चालु आर्थिक वर्षको पुस मसान्तसम्मा चालकको लापरवाहीका कारण ३ हजार ५८१ सवारी दुर्घटना भएका छन् ।
चालकले तीव्र गतिमा सवारी चलाउँदा गत आर्थिक वर्षमा ७१ तथा चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २६७ वटा सवारी दुर्घटनामा परेका छन् । चालकले मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा गत वर्ष २२१ तथा चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १४३ सवारी दुर्घटना भएका छन् ।
त्यस्तै, गत आर्थिक वर्षमा यान्त्रिक गडबडीका कारण ४४ तथा चालु आर्थिक वर्षको पुस मसान्तसम्मा २६ वटा सवारी साधन दुर्घटनाग्रस्त भएका छन् । ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) जयराज सापकोटाका अनुसार ट्राफिक प्रहरीले समय समयमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहे पनि अपेक्षाअनुसार अझै सवारी दुर्घटनामा कमी आउन सकेको छैन । गत आर्थिक वर्षमा ओभरटेक गर्ने क्रममा २९, पैदलयात्रुको लापरवाहीका कारण ३, अन्य (मौसम, चौपाया)का कारण ४ सवारी साधन दुर्घटना भएका थिए । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ओभरटेक गर्ने क्रममा ४२, पैदलयात्रुको लापरवाहीका कारण १ र अन्य १ सवारी साधन दुर्घटना भएका छन् ।
सवारी दुर्घटनामा संलग्न चालकको उमेर समूहका आधारमा हेर्दा गत आर्थिक वर्षमा २० वर्षमुनिका ९९३ तथा चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २ हजार १६ जना दुर्घटनामा परेका छन् ।
त्यसैगरी गत वर्ष २१ देखि ४० वर्षभित्रका ८ हजार २२४ चालकहरू दुर्घटनामा परेका थिए । चालु आवको पुस मसान्तसम्ममा ३ हजार ८१२ जना दुर्घटनामा परेका छन् । गत आर्थिक वर्षमा ४१ वर्षभन्दा माथिको उमेर समूहका २ हजार १९० जना चालक दुर्घटनामा परेका थिए भने चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा १ हजार ४३२ जना दुर्घटनामा परेका छन् । त्यस्तै, गत आर्थिक वर्षमा १६ वर्षमुनि उमेर समूहका १८ जनाको मृत्य भएकामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म ७ जनाको मृत्यु भइसकेको छ ।
त्यसैगरी गत वर्ष १७ देखि ३५ वर्ष उमेर समूहका १०३ जना तथा चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ७४ जनाको मृत्यु भएको छ । त्यस्तै, गत वर्ष ३६ वर्षमाथिकोे उमेर समूहका १९४ तथा चालु आर्थिक वर्षमा १३२ जनाको मृत्यु भएको छ ।
त्यस्तै, लिङ्गको आधारमा हेर्दा सवारी साधन दुर्घटनामा गत वर्ष १४७ जना पुरुष तथा ४७ जना महिलाको ज्यान गएको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १०२ जना पुरुष तथा ३० जना महिलाको मृत्यु भएको छ ।
सडकको दूरवस्था, चालकको लापरवाही, तीव्र गति, मादक पदार्थ सेवन, पैदल यात्रुको लापरवाही, सवारी साधनमा देखिने प्राविधिक समस्यालगायतका विविध कारण उपत्यकामा दिनहुँजसो सवारी दुर्घटना हुने गरेका छन् ।
‘सवारीको संख्या बढ्दै गएको देखिन्छ । सवारी साधन बढ्नु भनेको सडक छोटिनु हो । सवारी संख्याको अनुपातमा हेर्ने हो भने सडक दुर्घटनामा कमी आएको छ’, ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) जयराज सापकोटा भन्छन्, ’तर संख्यात्मक रूपमा हेर्दा दुर्घटना बढी हो । ट्राफिक प्रहरीको सचेतनामूलक कार्यक्रमको प्रभाव त देखिन्छ नै ।’
प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५