दोलखा ः अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पूर्वस्रोतव्यक्ति राजेन्द्र लक्ष्मी शिवाकोटीले दृष्टिविहीन तथा श्रवण शक्ति नभएका बालबालिकालाई छात्रवृत्तिका लागि अक्षयकोष खडा गरेकी छन् ।
दोलखाको अगुवा स्रोतकेन्द्र कालिञ्चोक माध्यमिक विद्यालय चरिकोटमा आयोजित कार्यक्रममा शिवाकोटीले अक्षयकोष खडा गरेको जानकारी दिएकी हुन् । १ लाख ११ हजार १११ रुपैयाँ राशिको अक्षयकोषबाट प्राप्त ब्याजले कालिञ्चोक माध्यमिक विद्यालय चरिकोट र सुस्त श्रवण भएका विद्यार्थी अध्ययनरत चरिकोटको भीमेश्वर बहिरा प्राथमिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ ।
प्राप्त ब्याजमा त्यतिनै रकम थप गरी प्रत्येक वर्ष भदौ ३० गते छात्रवृत्ति प्रदान गरिनेछ । छात्रवृत्ति कोष सञ्चालनका लागि शिवाकोटीकै अध्यक्षतामा कालिञ्चोक माध्यमिक विद्यालयका प्रधानध्यापक नवराज न्यौपाने, भीमेश्वर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष हरिशरण शिवाकोटी, कोष सञ्चालन गर्ने परिवारको तर्फबाट श्यामप्रसाद शिवाकोटी र पत्रकार श्यामप्रसाद खतिवडासहित ५ सदस्यीय समिति गठन गरिएको छ ।
उक्त कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले प्रत्येक वर्ष अक्षयकोषमा रकम थप्दै लाने र दृष्टिविहिन तथा सुस्त श्रवण भएका विद्यार्थीका लागि कोषलाई क्रियाशील गराइने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष डवल पाण्डेले फरक क्षमता भएका बालबालिकाको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले स्थापित अक्षयकोक्ष तथा ४ दशक लामो समय दोलखाको शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे । आफ्नो गुरुआमा समेत रहेकी शिवाकोटीलाई उनले स्रोतकेन्द्र तथा विभिन्न विद्यालयको तर्फबाट सम्मान समेत व्यक्त गरे ।
भीमेश्वर नगरपालिका प्रमुख भरतबहादुर केसीले अक्षयकोष स्थापना गरेकोमा प्रशंसा गर्दै शिवाकोटीको सामाजिक जीवनको सफलताको कामना गरे ।
कालिञ्चोक माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् क्याम्पस प्रमुख कृष्णबहादुर गौतमले दोलखाकै पहिलो विद्यालय क्षमावती मावि स्थापना गर्ने नन्दप्रसाद शिवाकोटीको परिवारकै सदस्य राजेन्द्र लक्ष्मी शिवाकोटीको पहलमा स्थापित अक्षयकोष एवम् छात्रवृत्तिबाट दृष्टिविहीन तथा सुस्त श्रवण भएका विद्यार्थी लाभान्वित हुने कुराले खुसी लागेको बताए ।
प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५