काठमाडौं : राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले आन्दोलनकारीलाई जन्मकैद हुने भए केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र गिरिजाप्रसाद कोइरालाई किन भएन भन्दै प्रश्न गरेका छन् । टीकापुर प्रकरणमा अदालतले राजपा नेता रेशम चोधरी लगायतलाई जन्मकैदको फैसला सुनाएपछि सोबारे प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
‘रेशम चौधरी आन्दोलनकारी थियो मलाई राम्रोसँग थाहा छ । थरुहट आन्दोलनको आन्दोलनकारी हो’, महतोले बुधबार संसद् भवन बाहिर भने,‘आन्दोलनकारीलाई जन्मकैद हुने हो भने प्रचण्डलाई जन्मकैद किन भएन ? केपी ओलीलाई किन भएन ? गिरीजाप्रसाद कोइरालालाई जन्मकैद किन भएन ?’ उनले चाैधरीलाई जन्मकैद गर्ने अदालतको फैसला अत्याचार भएको उनले बताए । अदालतले पनि अन्याय गरेमा जनताले बोल्ने भन्दै उनले विद्रोह हुनसक्ने चेतावनी पनि दिए ।
जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको इजलाशले चौधरीसहित ११ जनामाथि सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियाे । थारुवान तथा अखण्ड सुदुरपश्चिम आन्दोलनका क्रममा मुद्धा खेपिरहेका सांसद रेशम चौधरीसहित ११ जनाले जन्मकैदकाे सजाय पाएका हुन् । हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया , बृजमन डगौरा, राजेश चौधरी , वीरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, श्रवण चौधरी, गंगाराम डगौरा चौधरी र रेशमलाल चौधरीलाई जन्मकैदको फैसला भएको हो । उनीहरुलाई मुलुकी ऐन ज्यानसम्बन्धि महलको १३(३) अनुसार जन्मकैदको सजाय भएको हो ।
प्रकाशित मिति: बुधबार, फागुन २२, २०७५