काठमाडौं : टीकापुर घटनामा दोषी ठहर गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद रेशम चौधरीलाई बुधबार जिल्ला अदालत कैलालीले जन्मकैद सुनाएपछि राजपा आक्रोशित बनेको छ ।
कैलाली जिल्ला अदालतको उक्त फैसला पर्याप्त प्रमाणबिनै भएको भन्दै राजपाले सडक संघर्ष गर्ने चेतावनी पनि दिएको छ ।
गत पुसमा प्रतिनिधिसभा सदस्यका रूपमा शपथ ग्रहण गरेका चौधरीलाई कैलाली घटनामा फसाइएको भन्दै सरकारले आफूहरूसँग भएको सहमतिविपरीत निर्णय गर्न थालेको राजपाले बताएको हो । जिल्ला न्यायाधीशले यो निर्णय प्रधानमन्त्रीको डिजाइनमा गरेको र सरकारले वर्णको आधारमा विभेद गरेको राजपाको आरोप छ ।
रेशम यो घटनामा निर्दोष भएका र त्यो त्यहाँका जनताले भारी मत दिएर प्रमाणित गरिसकेको राजपाको दाबी छ । ‘रेशमजीलाई सुनियोजित ढंगले फसाइएको छ , एक नेताले भने, उक्त घटनामा तयार पारिएको प्रतिवेदन सार्वजनिक किन गरिएन?’
अब आफूहरूसँग कानुनी उपचार र फेरि सडकमै जाने विकल्प मात्र बाँकी रहेको राजपाका नेताले बताए । चौधरीलाई बिनाप्रमाण जन्मकैद सुनाएको भन्दै राजपाले फैसला गर्ने न्यायाधीशमाथि प्रश्न पनि उठाएको छ ।
चौधरी डिल्लीबजार कारागारमा छन्।
प्रकाशित मिति: बुधबार, फागुन २२, २०७५