विराटनगर ः राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त) ले सङ्घीयता कार्यान्वयनको पक्षमा जोड दिएको छ । सो पार्टीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले आफ्नो पार्टी संविधान कार्यान्वयनमा प्रतिबद्ध रहेको बताएका हुन् ।
अध्यक्ष राणाले सिंहदरबारको अधिकार स्थानीय तहमा दिनु सङ्घीयताको मजबुत पक्ष भए पनि प्रदेश सरकारबाट शक्तिको दुरुपयोग हुन नहुने बताए । राप्रपा(संयुक्त)को कार्यसूचीमा सहमति जनाउन पार्टीको ढोका खुला रहेको बताउँदै उनले राप्रपाका कमल थापासँग चुनाव चिह्न ‘हलो’मा सहमति नभएकाले एकीकरण हुन नसकेको प्रस्ट पारे ।
अर्का अध्यक्ष डा. लोहनीले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र र सबैलाई स्वीकार्य संविधानिक राजसंस्था स्थापनाको मुद्दा लिएर पार्टी अघि बढेको बताए । सरकारले सोचेअनुरूप कार्य गर्न नसकेको बताउँदै उनले भने, ‘नेपाली काङ्ग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन भने सरकारले पनि सुशासन कायम गरी मुलुकमा भ्रष्टाचार नियन्त्रण र जनताको विकासको चाहनालाई पूरा गर्न सकेन ।’
प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५