काठमाडाैं : नेकपाका केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमले आफूविरुद्ध गलत प्रचार गर्न थालिएको बताएका छन् ।
उनले हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रबाट चुलाव लड्ने तयारी गरेको भन्दै आफूविरुद्ध प्रचार सुरु भएको गुनासो गरे ।
गौतमले शनिबार एक प्रेस नोटमार्फत भनेका छन्, ‘फेरि कुत्सित उद्देश्य प्रेरित कुप्रचार मेरा विरुद्ध शुरु भयो। नेपाली राजनितिक आकासम उज्वल भविष्य सहित उदाएका मेरा प्रिय कमरेड रविन्द्र अधिकारीको असामयिक निधनवाट ठूलो धक्का महसुस गर्दै श्रद्धान्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रविन्द्रको निर्वाचन क्षेत्रवाट उमेदवार वन्ने आशा राखेको आरोप लगाइएको छ।यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर शुरुगरिएको कुप्रचार मात्र हो।’
आफ्नो इच्छाविपरित पार्टीले निर्णय गरेपनि रवीन्द्रको निर्वाचन क्षेत्रमा आफू उमेदवार नबन्ने गौतमले बताएका छन् । उपनिर्वाचन हुँदाको अवस्थामा रवीन्द्रको परिवारका सदस्यलाई नै उमेदवार वनाउन आफू लागिपर्ने उनकाे भनाइ छ ।
प्रकाशित मिति: शनिबार, फागुन १८, २०७५