चौतारा : चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख अमानसिं तामाङसहितको टोली कार्यालय नै रित्तो बनाएर सृुकुटे पुगेका छन् । सुकुटे आसपासको नदिजन्य पदार्थ उत्खनन्को वस्तुअवस्थाको अनुगमन गर्न सुकेटे पुगेका हुन् ।
नगरपालिकाको सम्पूर्ण सेवा ठप्प पारेर मेयरसहित नगरपालिकाको कर्मचारी अनुगमनमा गएपछि सेवाग्राहि समस्यामा परेका छन् । नगरपालिकाको कार्यकारी प्रमुख इन्द्र बस्याल, योजना तथा प्रशासन शाखाका राजुभाइ श्रेष्ठ र चुणमणि पराजुली, राजस्व विभागकी शोभा रिजाललगायतको टोली अनुगमनको बहानामा सुकुटे पुगेपछि नगरपालिकाको सम्पूर्ण सेवा ठप्प भएको हो ।
नगरपालिकामा योजना सम्झौता गर्न पुगेका चौतारा साँँगाचोकगढी नगरपालिका २ का सुमित काफ्ले आफ्नो काम नगरपालिकामा कर्मचारी नभएपछि हुन नसकेको गुनासो गरे । ‘एक साताअघिबाट एउटा योजना सम्झौता गर्न नगरपालिका धाउँदा समेत सम्झौता हुन सकेको थिएन, उनले भने, मंगलबार पनि सोहि कामको लागि कार्यालयमा पुग्दा पुरै कार्यालयनै खाली रहेछ ।’
सबै कर्मचारी अनुगमनका लागि जानु नितिगत रुपमा गलत भएको नगरपालिकाका कार्यपालिका सदस्य सागर परियारले जनाए । जनताको चुनाएर पठाएको जनप्रतिनिधिले आफ्नो कार्यालयका सबै कर्मचारी उठाएर लग्नु आफ्नैमा आश्चर्यजनक भएको सदस्य परियारको भनाई छ ।
बगरकै अनुगमनको लागि कार्यालयनै बन्द गरेर जानु राम्रो नभएको उपप्रमुख जानुका पराजुलीले जनाईन् । ‘मंगलबार बगर अनुगमनमा जाने कुरामा जानकार थिए । तर, सबै कर्मचारी यसरी गएका रहेछन् त्यसम म अनविज्ञ थिए’ उनले भनिन् ।
प्रकाशित मिति: बुधबार, फागुन १५, २०७५