काठमाडौं : संयुक्त राष्ट्रसंघको महिलासम्बन्धी उच्च आयोगको सम्मेलनमा यस पटक नेपालबाट राष्ट्र प्रमुखको सहभागिता हुने भएको छ । कमिसन अन द स्टाटस अफ वुमेनको ६३औँ सेसनमा भाग लिन राष्ट्रपति विद्यादेवी भण्डारी न्युयोर्क जाने भएकी छन् ।
न्युयोर्कस्थित नेपाली नियोगले राष्ट्रपतिको भ्रमणको तयारी तीब्र बनाएको जनाएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी २ सातादेखि अमेरिकामै छन् । राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि अमृत राई र अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीसँग अधिकारीले राष्ट्रपतिको भ्रमणको तयारीबारे छलफल गरेका बताइएको छ ।
मार्च ११ देखि २२ सम्म न्युयोर्कमा हुने ६३औँ सेसनमा सहभागी हुन राष्ट्रपति भण्डारी फागुन २६ गते त्यसतर्फ प्रस्थान गर्ने तय भएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जेनेभाबाट फर्किएपछि राष्ट्रपतिको भ्रमण कार्यक्रम तय हुनेछ भने राष्ट्रपतिसँग महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, राष्ट्रपति कार्यालयकी विज्ञ लक्ष्मी कार्कीलगायत भ्रमण दलमा सामेल हुने बताइएको छ ।
सम्मेलनमा राष्ट्रसंघका सदस्य मुलुकका प्रतिनिधि र गैरसरकारी संस्थाका प्रतिनिधिहरू गरी करिव ५ हजार जना सहभागी हुनेछन् ।
प्रकाशित मिति: बुधबार, फागुन १५, २०७५