काठमाडौं : समायोजन रोजेका उपसचिवलाई सरकारले आज पत्र दिने भएको छ ।
सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन रोजेका एक हजार ७५५ उपसचिवलाई आज समायोजनको पत्र दिइन लागिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । उनका अनुसार सङ्घमा एक हजार ५१३, प्रदेशमा २३७ र स्थानीय तहमा ५ रहेका छन् ।
ती कर्मचारीलाई मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले समायोजनको पत्र दिनेछन् । यसअघि मन्त्रालयले सचिव र सहसचिवलाई समायोजनको पत्र दिइसकेको छ ।
यसैगरी मन्त्रालयले अहिलेसम्म ३८ हजार ८१७ कर्मचारीलाई समायोजन गरेको छ । तीमध्ये सङ्घमा २८ हजार २५, प्रदेशमा ४ हजार ८४६ र स्थानीय तहमा ५ हजार ८३५ छन् ।
प्रवक्ता अधिकारीले प्राविधिकतर्फका शाखा अधिकृत र स्वास्थ्य सेवा समूहका बाहेक अरू सबैको समायोजन क्रमशः हुँदै गइरहेको बताए ।
यसैगरी ४ हजार ७९३ शाखा अधिकृतको समायोजन गरिएको छ । तीमध्ये सङ्घमा ३ हजार ६४२, प्रदेशमा ५९३ र स्थानीय तहमा ५५८ रहेका छन् । समायोजन रोजेका शाखा अधिकृतलाई यही साता समायोजनको पत्र दिइने प्रवक्ता अधिकारीले बताए । पत्र पाइसकेपछि कर्मचारी समायोजन रोजेको ठाउँमा जानुपर्ने उनले बताए । करिब ८७ हजर कर्मचारीमध्ये ७७ हजारले समायोजन रोजेका थिए ।
सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दै छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १४, २०७५