पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् शान्ति कँडेलका अनुसार गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
उनका अनुसार नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएकाले आज र भोलि देशभर मौसम आंशिकदेखि पूर्ण बदली रही मङ्गलबार रातिदेखि बुधबार दिनभरी नै पानी पर्ने सम्भावना रहेको छ ।
आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा एकछिन घाम लाग्ने र एकछिन बदली हुने देखिएकाे छ । पूर्वानुमान महाशाखाका अनुसार आज मध्याह्नदेखि तीन दिनसम्म देशको मध्य र पूर्वी पहाडी भ–ूभागका एक/दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आज काठमाडौँको अधिकमत तापक्रम २५.५ डिग्री र न्युनतम तापक्रम ६.८ डिग्री सेल्सियस रहेको छ । त्यस्तै सबैभन्दा बढी विराटनगरको अधिकमत तापक्रम २८.४ डिग्री सेल्सियस रहेको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १२, २०७५